मरेका मानिसहरू सबै बौराइनेछन् भनेर सत्यको वचनले अति पक्का र स्पष्टसित सिकाउँछ। यो जस्तो अक्षरश: र जोडदार आधिकारिक वचनको संगालो पवित्र शास्त्रमा अर्को पाइँदैन जसमाथि साँचो विश्वासको शिक्षा अडेको छ न ता ईशाईमतको निम्ति यो जतिको सारभूत छ।
तर यदि मरेकाहरूको बौरिउठाइ हुँदैन भने ख्रीष्ट पनि बौराइनुभएन। अनि ख्रीष्ट बौराइनुभएन भने हाम्रो प्रचार व्यर्थै हो, र तिमीहरूको विश्वास पनि व्यर्थै हो (१ कोरिन्थी १५:१३,१४)।
तर यो बुझ्न आवश्यक छ कि पवित्र शास्त्रले मरेकाहरू सबै एउटै समयमा बौराइनेछन् भनेर सिकाउँदैन। पवित्र जनहरू आंशिकरूपमा त बौरिउठिसके:
अनि चिहानहरू खोलिए; र सुतेका पवित्र जनहरूका धेरै शरीरहरू बौरेर उठे; अनि उहाँको बौरिउठाइ भएपछि तिनीहरू चिहानहरूबाट निस्केर पवित्र शहरभित्र पसे र धेरैकहाँ देखा परे (मत्ती २७:५२,५३)।
दुइटा बौरिउठाइहरू भविष्यमा हुन अझ बाँकी नै छन् जुन बौरिउठाइहरू बेग्लाबेग्लै समयमा हुनेछन् र तिनमा संलग्न व्यक्तिहरू पनि बेग्लाबेग्लै हुनेछन्। यी बौरिउठाइहरूलाई विभिन्न नामले छुट्ट्याइएको पाइन्छ; जस्तै, जीवनको बौरिउठाइ तथा दण्डको बौरिउठाइ; धर्मीहरू र अधर्मीहरूको बौरिउठाइ इत्यादि। यस महत्वपूर्ण विषयलाई प्रकाश पार्ने पवित्र शास्त्रका खण्डहरू यस प्रकार छन्:
यस कुरामा अचम्म नमान; किनभने त्यो घडी आइरहेको छ, जसमा चिहानभित्र रहेका सबैले उनको स्वर सुन्नेछन्, र भलो गर्नेहरू जीवनको बौरिउठाइका निम्ति, र दुष्ट काम गर्नेहरू चाहिँ दण्डको बौरिउठाइका निम्ति निस्किआउनेछन् (यूहन्ना ५:२८,२९)
यहाँ "घडी" भन्ने शब्दले यी दुई भिन्न वर्गका व्यक्तिहरूको समकालिन बौरिउठाइ हुने संकेत दिन्छ भनेर कसैले दाबी गर्ला। यसको प्रत्त्युतर हो, पद २५ को "घडी" त २००० वर्ष लामो भइसक्यो। (त्यस्तै "दिन" शब्दलाई २ पत्रुस ३:८, २ कोरिन्थी ६:२ र यूहन्ना ८:५६ मा कुन अर्थमा प्रयोग गरिएको छ हेर्नुहोस्)।
तर जब तिमी भोज दिन्छौ, तब गरिब, कूँजा, लङ्गडा, अन्धाहरूलाई बोलाऊ, र तिमी धन्य हुनेछौ; किनभने तिनीहरूले तिमीलाई बदलामा केही दिन सक्दैनन्; किनकि धर्मीहरूको बौरिउठाइमा तिमीलाई बदला दिइनेछ (लूका १४:१३-१४)।
यस खण्डमा हाम्रा प्रभुले केवल पहिलो बौरिउठाइको कुरा गर्नुहुन्छ। पहिलो कोरिन्थीको पन्ध्रौं अध्यायबाट यस भिन्नतालाई अझै स्पष्ट बुझ्न सकिन्छ:
किनकि जसरी आदममा सबै मर्छन्, उसरी नै ख्रीष्टमा सबै जिउँदो पारिनेछन्। तर हरेक आफ्नो-आफ्नो पालोमा – पहिलोफल ख्रीष्ट, त्यसपछि उहाँको आगमनमा ख्रीष्टका जनहरू (१ कोरिन्थी १५:२२,२३)।
तर हे भाइहरूहो, अरू आशा नहुनेहरूले गरेजस्तो चाहिँ तिमीहरूले शोक नगर भनेर ती सुतिजानेहरूका विषयमा म तिमीहरूलाई अनजान रहेको चाहदिनँ। किनकि येशू मर्नुभयो र बौरेर उठ्नुभयो भनी हामी विश्वास गर्दछौं भने उसरी नै येशूमा सुतेकाहरूलाई पनि परमेश्वरले उहाँको साथमा ल्याउनुहुनेछ। किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई भन्दछौं – हामी जो जीवित छौं, र प्रभुको आगमनसम्म रहिरह्यौं भने हामीले कुनै रीतिले पनि सुतेकाहरूलाई उछिन्नेछैनौं। किनकि प्रभु आफै चित्कारसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीसित स्वर्गबाट ओर्लनुहुनेछ; अनि ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन् (१ थेस्सलोनिकी ४:१३-१६)।
फिलिप्पी ३:११ मा पावल त्यो बौरिउठाइको कुरा गर्दैछन् जसलाई जीवनको बौरिउठाइ, धर्मीहरूको बौरिउठाइ र ख्रीष्टमा मरेकाहरूको बौरिउठाइ भनिन्छ।
"र जसरी भए पनि म मरेकाहरूबाटको बौरिउठाइसम्म आइपुग्न सकूँ" (फिलिप्पी ३:११)।
यहाँ टिप्पणी गरिनुपर्ने कुरा के हो भने पावलले मरेकाहरूको बौरिउठाइ भन्दैनन् तर मरेकाहरूबाटको बौरिउठाइ भन्दछन्। मरेकाहरूको बौरिउठाइ भनिएको भए सबै मरेकाहरू एकै समयमा बौरिउठ्नेछन् भन्ने बुझिन्थ्यो तर बाटको बौरिउठाइ भनिएको हुनाले त्यहाँ छनोट गरिने कुरा बुझिन्छ जसको फलस्वरूप मरेकाहरू मध्ये कति बाँकीचाहिँ बौरनेछैनन्। यदि प्रेरित पावल सबै मरेकाहरूको बौरिउठाइको कुरा गरिरहेका भए त्यस्तो बौरिउठाइमा आफू "जसरी भए पनि … आइपुग्न सकूँ" भनेर उनले भन्न आवश्यक नै किन पर्थ्यो र (जब कि त्यसो हुँदो हो त उनी त्यसबाट उम्कन नै सक्ने थिएनन्)?
प्रकाश २०:४-६ मा यी दुई बौरिउठाइहरू फेरि पनि सँग-सँगै उल्लेख गरिएका छन्। तर महत्वपूर्ण थप जानकारी यो दिइएको छ, मुक्ति पाएकाहरू र नपाएकाहरूको बौरिउठाइहरूबीचको अन्तरालको समयको लम्बाइको।
अनि मैले सिंहासनहरू देखें: अनि उनीहरू तीमाथि बसे, र न्याय उनीहरूलाई दिइयो। अनि मैले तिनीहरूका प्राणहरूलाई देखें, जसका शिर येशूको गवाही र परमेश्वरको वचनको कारणले काटिएका थिए, अनि जसले न ता त्यस पशुलाई, न ता त्यसको मूर्तिलाई पूजा गरेका थिए, न ता आफ्ना निधारमा वा आफ्ना हातमा त्यसका निशान लिएका थिए; अनि तिनीहरू जीवित भए र ख्रीष्टसँग हजार वर्षसम्म राज्य गरे। तर बाँकी मरेकाहरू हजार वर्ष पूरा नहोउन्जेल फेरि जीवित भएनन्। योचाहिँ पहिलो बौरिउठाइ हो। यस पहिलो बौरिउठाइमा जसको भाग हुन्छ, ऊ धन्य र पवित्र हो; यस्ताहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन, तर तिनीहरू परमेश्वरका र ख्रीष्टका पूजाहारीहरू हुनेछन्, र उहाँसित हजार वर्षसम्म राज्य गर्नेछन् (प्रकाश २०:४-६)।
पद १२ र १३ ले दोस्रो बौरिउठाइ अर्थात् दण्डको बौरिउठाइको बयान गरिरहेका छन्।
तसर्थ, पवित्र शास्त्रको गवाही स्पष्ट छ, विश्वासी जनहरूका शरीरहरू अविश्वासी जनका शरीरहरूकाबीचबाट उठाइनेछन् अनि प्रभुलाई भेट्न हावामा उठाइनेछन्; उक्त घटना अविश्वासीहरूको बौरिउठाइ हुनुभन्दा एक हजार वर्ष अगाडि हुनेछ। यो बलियो गरी पक्रिराख्नुपर्छ कि बौरिउठाइको शिक्षा मरेकाहरूको केवल शरीरसित सम्बन्धित छ। मृत्युपश्चात् उनीहरूका शरीररहित आत्माहरू भने तुरुन्तै आनन्द वा कष्टको चेतनामा हुन जान्छन् (फिलिप्पी १:२३; २ कोरिन्थी ५:८; लूका १६:२२,२३)।
|
पालुङ चर्च |
|