|
"ख्रीष्टियन विश्वासको एउटै मात्र आशा पावलीय ईश्वर-शास्त्रको पुनःस्थापना हो। कि त देहधारी ख्रीष्ट र उहाँको प्रायश्चितकारी रगतमा पूरै फर्कनुपर्छ, कि त नफर्किने गरी नास्तिकवाद र निराशामा पूरै डुब्नुपर्नेछ" (फ्रान्सिस एल प्याटन, प्रिन्स्टन विश्वविद्यालयका भूतपूर्व प्रधानाध्यापक)। "रोमीलाई लेखिएको पत्र नयाँ नियमको उत्कृष्ट रचना र विशुद्ध सुसमाचारको लेखोट हो जसलाई एउटा ख्रीष्टिय जनले केवल शब्द-शब्द गरी कण्ठस्थ गरोस् मात्र होइन तर त्यससित मान्छेको दैनिक रोटीको रूपमा उसले दिनहुँ व्यवहार गरोस् पनि। यसलाई ज्यादा पढियो वा अध्ययन गरियो भन्ने कहिल्यै हुनेछैन, र यसलाई जति धेरै प्रयोग गरियो यो त्यति नै मूल्यवान् ठहरिनेछ र त्यति नै स्वादिलो लाग्नेछ" (मार्टिन लुथर)। |
ई.सं. ५६ सालतिर कोरिन्थ शहरमा रहँदा पावलले यस पत्र लेखेका हुन्। पावल रोमको मण्डली पुगेका थिएनन्। उनी त्यहाँ जान चाहन्थे र सो कुरा सम्भव होस् भनी परमेश्वरसित प्रार्थना गर्दै थिए (रोमी १:१०-१२; १५:२३-२४)। रोम आएर पावल के सिकाउन चाहन्थे? यस पत्रमा पावलले पाठकलाई आफ्नो शिक्षण सेवाकार्य अन्तर्गत आफूले के सिकाउने गर्थे भन्ने कुराको पूर्वावलोलकन गर्ने मौका दिन्छन्। इसाई विश्वास वास्तवमा के हो? यसको मूल सन्देश के हो? परमेश्वरको साँचो सुसमाचार के हो? मुक्ति सम्बन्धी खुशीको शुभ-सन्देश वास्तवमा के हो? यी सबै प्रश्नहरूको जवाफ पाउन हामी नयाँ नियममा शिक्षा सम्बन्धी सबभन्दा महत्त्वपूर्ण पुस्तक, अर्थात् रोमीहरूलाई लेखिएको पावलको पत्रलाई अध्ययन गर्नुपर्ने हुन्छ।
रिसिभ्ड टेक्स्टबाट अनुवादित नेपाली बाइबलमा पहिलो वाक्यमै ९६ ओटा शब्द छन्। यो हो पावलको लेखन शैली (एफेसी १:३-१४ हेर्नुहोस्)। प्रेरित यूहन्नाको शैली भिन्न छ (छोटो, सरल तरैपनि गहकिला वाक्यहरू) -- १ यूहन्ना ४:८,१९। पवित्र शास्त्र बाइबल कसरी परमेश्वरबाट मानिसकहाँ आयो भन्ने सम्बन्धमा यो बुझ्न आवश्यक "छ कि पावल र यूहन्ना जस्ता मानवीय लेखकहरूले उहाँको वचन लेख्दा एउटा निर्जीव यन्त्रको जस्तै भूमिका निर्वाह गरेका थिएनन्। बरु ती लेखकका व्यक्तित्व र लेखन शैली आ-आफ्ना लेखोटमा झल्केको पाइन्छ तरैपनि उनीहरूले जे लेखे ती सबै त्रुटिरहित छन् र परमेश्वरले जे चाहनुभएको थियो ठीक त्यही नै उनीहरूले लेखे -- २ पत्रुस १:२०-२१ र २ तिमोथी ३:१६।
पहिलो पदमा पावलले आफ्नो विषयमा तीनओटा कुराहरू बताउँछन्:
१) "दास" = कमारा, बन्दी, नोकर, येशू ख्रीष्टको प्रेमको दास;
पावलको विगत जीवनलाई विचार गर्दा (प्रेरित ७:५८; ८:१-३; ९:१-२; १ कोरिन्थी १५:९; १ तिमोथी १:१३-१५ हेर्नुहोस्), यो भनाइ छक्कलाग्दो छ। एक समय टार्ससका शावल मण्डलीका सबभन्दा ठूला शत्रु थिए। मण्डलीका सबभन्दा ठूला शत्रु कसरी पछि मण्डलीकै सबभन्दा महान् प्रेरित बने? गलाती १:२३ मा बयान गरिएको उदेकलाग्दो परिवर्तनको कारण के थियो? इसाईहरूलाई सताउने शावल कसरी "येशू ख्रीष्टका दास" पावल बने (रोमी १:१)? यसको पछाडि कुनै न कुनै रहस्य हुनैपर्छ!
नयाँ नियम अनुसार कुनचाहिँ घटनाले यस्तो परिवर्तन ल्यायो? टार्ससको शावलको जीवन कुन कारण बदलियो? हेर्नुहोस् १ कोरिन्थी ९:१ -- "के मैले हाम्रा प्रभु येशू ख्रीष्टलाई देखेको छैन?" -- र यसलाई प्रेरित ९:३-६ र १ कोरिन्थी १५:८ सित तुलना गर्नुहोस्। इसाई विश्वासको खण्डन गर्न चाहने समाचोलकहरूले पावल प्रेरितको यस ताजुबलाग्दो परिवर्तनको सन्तोषजनक व्याख्या प्रस्तुत नगरी उनीहरूलाई सुखै छैन। इसाई विश्वासलाई झूटा प्रमाणित गर्ने मनसाय लिएर जर्ज लिटलटन (ई.सं. १७०९-१७७३) ले पावलको परिवर्तनलाई केलाएर अध्ययन गरे। आफ्नो अनुसन्धानको फलस्वरूप उनी आफै परिवर्तित भए! "सेन्ट पावलका परिवर्तन सम्बन्धी अवलोकन" ("Observations on the Conversion of St. Paul") शीर्षक भएको उनको सुस्पष्ट लेखमा उनले, मुद्दाको सबै सम्भाव्यताहरूलाई समेट्ने गरी, चारओटा प्रस्तावहरू प्रस्तुत गर्छन्:
पहिलो तीनओटा तर्कहरूमा के-कस्ता त्रुटीहरू भेटिन्छन्?
२) "प्रेरित" = कुनै विशेष कामको लागि पठाइएको व्यक्ति;
पावल तथा अन्य प्रेरितहरूका निम्ति परमेश्वरको छुट्टै, विशेष सेवकाइ थियो। के मण्डलीमा आज पनि प्रेरितहरू हुन्छन्?
एफेसी २:२० अनुसार प्रेरितहरू "जग" का व्यक्तिहरू हुन्। जग भनेको भवन निर्माण गर्दा शुरूमा केवल एकपटक बसालिन्छ। मण्डली युगको प्रारम्भमा एउटा विशेष "जगरूपी" निर्माण कार्य सम्पन्न गर्नको लागि प्रेरितहरूको आवश्यकता थियो।
प्रेरित कहलिन आज कसैको पनि योग्यता छैन, किनभने एउटा प्रेरितले बौरिउठ्नुभएको ख्रीष्टलाई देखेकै हुनुपर्थ्यो (१ कोरिन्थी ९:१; १५:८-९; प्रेरित १:२२ – यहुदाको प्रतिस्थापन गर्नुपर्दा)। ख्रीष्ट आज मानिसहरूकहाँ देखापर्नुहुन्न (१ पत्रुस १:८)।
व्यावहारिक शिक्षा: प्रेरित २:४२ पढ्नुहोस्। आज हामीसित प्रेरितहरू छैनन् तर हामीसित प्रेरितहरूको शिक्षा भने छ। हामीसित पावल प्रेरित छैनन्, तर हामीसित पावल प्रेरितको शिक्षा अर्थात् रोमीको पुस्तक (साथै पवित्रशास्त्रमा समावेश उनका अन्य लेखोटहरू) भने छ।
३) "परमेश्वरको सुसमाचारका निम्ति अलग";
अलगपनताको नकारात्मक पक्ष पनि छ (पापबाट अलग, सांसारिक कुराहरूबाट अलग, आदि) तर यस पदले सकारात्मक पक्षलाई जोड दिन्छ ("बाट" अलग होइन "तर्फ" अलग)। परमेश्वरको सुसमाचारको निम्ति पावलको समर्पणता र एकाग्रता यी पदहरूमा झल्कन्छः रोमी १:१६; १ कोरिन्थी १:१७-१८; २:१-२; ९:१६; १५:१-४; एफेसी ६:१९-२०; प्ररित २०:२१,२४।
रोमीको पुस्तकको चाबी वाक्यांश = परमेश्वरको सुसमाचार (रोमीको पुस्तकको विषय नै यही हो)
"सुसमाचार" = खुशीको खबर, सुसन्देश
बाइबलमा मुक्तिको सुसन्देशलाई सबभन्दा स्पष्टसित बयान गरिएको खण्ड यही रोमीको पुस्तक हो। पावलले यस पत्रमा कुशलतापूर्वक र तरिकापूर्वक परमेश्वरको सुसमाचारलाई प्रस्तुत गर्छन्। सुसमाचार वास्तवमा के हो र कसरी प्रस्तुत गरिनुपर्छ भन्ने कुरामा आज धेरै अलमल छ। हामी ध्यानपूर्वक अध्ययन गरौं पावलले सुसमाचारलाई कसरी परिभाषित गर्छन् र प्रस्तुत गर्छन् र कहाँबाट पावलले उक्त सुसमाचार प्राप्त गरे भन्ने कुरालाई हामी नबिर्सौं (गलाती १:११-१२)। साथै झूटा सुसमाचारहरू देखि हामी होशियार बसौं (गलाती १:६-९ हेर्नुहोस्)।
सुसमाचार वास्तवमा नयाँ कुरा होइन, अर्थात् यो हालै मात्र प्रकट गरिएको होइन। सुसमाचार पवित्रशास्त्रको पुरानो नियममा पनि प्रकट गरिएको थियो (दाँज्नुहोस् गलाती ३:८)।
खीष्टको मृत्यु र बौरिउठाइका महान् सत्यताहरू हालै मात्र पहिलो पटक प्रकट भइरहेका होइनन्। रोमीको पुस्तकमा (जसमा पावलले परमेश्वरको सुसमाचारको विस्तार लाउँछन्) पावलले घरीघरी (६१ पटक) पुरानो नियमबाट उद्धरण गर्छन्। जस्तो किः रोमी ३:१०-१८ र रोमी ४:१-३। पुरानो नियममा ख्रीष्टको विषयमा सुसमाचारको उल्लेख भएको पाइन्छ (दाँज्नुहोस् लूका २४:२६-२७,४४)। रोमी १-३ अध्यायहरूको सारांश यशैया ५३:६क ले दिन्छ (सबै मानिस पवित्र परमेश्वरका सामु दोषी छन्)। रोमी ४-५ अध्यायहरूको सारांश यशैया ५३:६ख ले दिन्छ (ख्रीष्ट पापी मानिसलाई बचाउन मर्नुभयो)।
"पवित्रशास्त्र" – बाइबलको आवरणमा लेखिएको कुरालाई दाँज्नुहोस् ("पवित्र बाइबल")। "पवित्र" = अलग गरिएको। बाइबल अन्य सबै पुस्तकभन्दा अलग छ। यो नै एकमात्र परमेश्वरबाट प्रेरित, निश्वासित पुस्तक हो (२ तिमोथी ३:१६)। यो परमेश्वरको पवित्र वचन हो भन्ने जानेर बाइबललाई हामी सधैं नै होशियारपूर्वक प्रयोग गरौं। {बाइबललाई एक श्रद्धाञ्जलि}
सुसमाचार वास्तवमा के हो? रोमी १:३ अनुसार सुसमाचार चाहिँ परमेश्वरको पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा हो। यो एक ख्रीष्ट-केन्द्रित सुसमाचार हो। (दाँज्नुहोस् रोमी १:९ "उहाँको पुत्रको सुसमाचार")। सुसमाचार ख्रीष्टको विषयमा हो तसर्थ ख्रीष्ट र ख्रीष्टले गरिदिनुभएको कामलाई अलग राखियो भने त्यहाँ सुसमाचार नै हुँदैन (१ कोरिन्थी १५:१-४ मा सुसमाचारको संक्षिप्त परिभाषा उल्लेख छ)। जुन प्रचार ख्रीष्ट-केन्द्रित छैन, त्यो साँचो सुसमाचार प्रचार होइन। साँचो सुसमाचार ख्रीष्ट-केन्द्रित हुन्छ। अन्य "सुसमाचार" प्रचार गर्नेहरूको विषयमा परमेश्वरले कडा चेतावनीहरू दिनुहुन्छ (गलाती १:३-९)।
ख्रीष्ट को हुनुहुन्छ भन्ने सवालमा हामीले विशेष गरी दुईओटा कुरालाई विचार गर्नुपर्छ:
द्रष्टब्य: मत्ती २२:४१-४६ पढ्नुहोस्। मसीह दाऊदका वंशबाट आउनेछन् भनी यहूदीहरू जान्दथे (मत्ती २२:४२)। साथै, भजनसंग्रह ११०:१ मसीहकै विषयमा हो भनी यहूदीहरूले बुझेका थिएः "परमप्रभु (अर्थात् परमेश्वर पिता) ले मेरा प्रभुलाई भने"। यस भजनका लेखक दाऊदले मसीहलाई नै "मेरा प्रभु" (हिब्रूमा आदोनाइ अर्थात् मालिक, प्रभु) भनेका हुन् भनी यहूदीहरूले सही बुझेका थिए। तब हाम्रा प्रभु येशूले सोध्नुभएको प्रश्नदेखि यहूदीहरू नाजवाफ (मत्ती २२:४५-४६) भए जुन प्रश्नलाई यसरी व्यक्त गर्न सकिन्छः दाऊदका पुत्र कसरी दाऊदकै प्रभु हुन सक्छन्? पावलले रोमी १:३-४ मा यस प्रश्नको जवाफ दिन्छन्।
उहाँको मनुष्यत्वले ("शरीरअनुसार") उहाँ दाऊदका पुत्र हुनुहुन्छ (रोमी १:३)। उहाँको ईश्वरत्वले उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ तसर्थ उहाँ दाऊदका प्रभु हुनुहुन्छ (रोमी १:४)।
देहधारणमा उहाँ परमेश्वर बन्नुभएको होइन, न ता पुत्र नै बन्नुभएको हो। देहधारण त इतिहासमा त्यो बिन्दु थियो जब परमेश्वरको अनन्त पुत्रले हाम्रो मनुष्यत्वलाई धारण गर्नुभयो, तरैपनि आफ्नो ईश्वरत्वलाई कायमै राख्नुभयो। परमेश्वरको पुत्र मानिसको पुत्र बन्नुभयो ताकि हामी मानिसका पुत्रहरू परमेश्वरका पुत्रहरू बन्न सकौं (यूहन्ना १:१२; गलाती ३:२६)। हामीलाई यति माथि अल्गाउनलाई उहाँ त्यति तल होचिन उहाँलाई अभिप्रेरित गर्ने उहाँको प्रेम र अनुग्रहका लागि हामी सधैं नै आश्चर्य र प्रशंसाले भरिएका हुन सकौं! "हेर त, पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ – हामी परमेश्वरका सन्तान कहलिँदछौं" (१ यूहन्ना ३:१)।
रोमी १:३-४ लाई रोमी ९:५ सित दाँज्नुहोस् (उहाँको मनुष्यत्व तथा ईश्वरत्व दुवैलाई विशेष जोड दिइएको तथ्यलाई ख्याल गर्नुहोस्।)
"मरेकाहरूबाट बौरेर उठ्नुभएको कारणले" – येशू ख्रीष्टले आफ्नो विषयमा गर्नुभएको सबै दाबी सयमा-सय सही थियो भन्ने कुराको अन्तिम प्रमाण उहाँको बौरिउठाइ थियो (तुलनाको लागि हेर्नुहोस् मत्ती १२:३८-४० र यूहन्ना २:१८-२१)।
येशू ख्रीष्ट या त मरेकाहरूबाट बौरनुभयो या त बौरनुभएन। निम्नलिखित झूटा धारणाहरू किन सन्तोषजनक छैनन् र तिनमा के-कस्ता समस्या छन्:
"येशूको लाशलाई चेलाहरूले चोरेर लगे" (तर मत्ती २८:११-१५)।
"येशूको लाशलाई अरमथियाको यूसुफले चिहानबाट अन्यत्र सारे" (तर मत्ती २७-५७-६०)।
"स्त्रीहरू साथै पछि जाने सबै नै झुक्किएर अर्कै चिहानमा पुगे" (तर मत्ती २७:६१; २८:१)।
"ख्रीष्टलाई देखेको दाबी गर्नेहरूलाई वास्तवमा दृष्टिभ्रम (hallucination) परेको थियो। उनीहरूले ख्रीष्टलाई देखेको भान भयो तर उनीहरूले वास्तवमा देखेनन्" (तर १ कोरिन्थी १५:६)।
"येशू वास्तवमा क्रूसमा मरेका थिएनन्। चिहानमा राखिँदा उनी जिउँदै थिए" (तर यूहन्ना १९:३४)।
"सामर्थ्यसहित" – पुरानो नियममा जब परमेश्वरले आफ्नो महान् सामर्थ्यलाई औंल्याउन चाहनुहुन्थ्यो तब उहाँले इस्राएलीहरूलाई लाल समुद्र पार गराउनुभएको आश्चर्यकर्मलाई औंल्याउनुहुन्थ्यो (व्यवस्था २६:८; प्रस्थान ३२:११; व्यवस्था ४:३७; २ राजा १७:३६; इत्यादि)। नयाँ नियममा भने यो पाईंदैन। आज परमेश्वरले आफ्नो महान् सामर्थ्यलाई औंल्याउनुपर्दा उहाँले कुनचाहिँ महान् घटनातर्फ हाम्रो ध्यान खिँच्नुहुन्छ (एफेसी १:१९-२०; फिलिप्पी ३:१०)? आफ्नो प्रेम देखाउनलाई परमेश्वरले क्रूसलाई औंल्याउनुहुन्छ (यूहन्ना ३:१६; रोमी ५:८; १ यूहन्ना ४:१०); आफ्नो महान् सामर्थ्यलाई देखाउनलाई परमेश्वरले रित्तो चिहानलाई औंल्याउनुहुन्छ।
ख्रीष्टले गर्नुभएको कामलाई विचार गर्दा मुख्यतया: दुईओटा कुरालाई सम्झनुहोस्: १) उहाँको क्रूसको मरण २) उहाँको बौरिउठाइ। यी दुई कुरा निम्न खण्डहरूमा भेट्टाउन सक्नुहुन्छः रोमी ४:२५; १ कोरिन्थी १५:३-४; २ कोरिन्थी ५:१४-१५ र १ थेस्सलोनिकी ४:१४।
सुसमाचार कसलाई प्रचार गरिनुपर्छ? पावलको जवाफ छ: "सबै जातिहरूलाई" (दाँज्नुहोस् मर्कूस १६:१५; मत्ती २८:१९; लूका २४:४७ र प्रेरित १:८)। "अनुग्रह" = नालायकलाई परमेश्वरको निगाह। आफू नालायक छु भनी पावल जान्दथे र प्रेरित कहलिन आफू अयोग्य छु भनी जान्दथे (१ कोरिन्थी १५:९-१० र एफेसी ३:८) "विश्वासप्रति आज्ञापालन पैदा गराऔं भनेर" – सुसमाचार, पालन गरिनुपर्ने सन्देश हो। सुसमाचार विश्वासद्वारा पालन गरिँदछ। निम्न कुरालाई ध्यान दिऔं:
प्रेरित १६:३०-३१ पढ्नुहोस्। पद ३१ एउटा आज्ञा हो!
१ यूहन्ना ३:२३ पढ्नुहोस्। पापीले मान्नु पर्ने पहिलो आज्ञा कुन हो? परमेश्वरलाई खुशी पार्न एउटा व्यक्तिले गर्नु पर्ने पहिलो कुरा के हो (हिब्रू ११:६ दाँज्नुहोस्)?
प्रेरित १७:३० -- परमेश्वरको आज्ञा के छ? यो आज्ञा कसलाई हो?
२ थेस्सलोनिकी १:८ – विश्वास नगर्नेहरूलाई "हाम्रा प्रभु येशू ख्रीष्टको सुसमाचार पालन नगर्नेहरू" भनी जनाइएकोछ।
विश्वास नगर्नु ज्यादै गम्भीर कुरो हो: यूहन्ना ३:१८; ३:३६; ८:२४; १६:९ आदि।
पावलको जीवनको अभिप्रेरणा – "उहाँका नामका निम्ति"। पावल केवल आफ्ना प्रभु र मुक्तिदाताको नाम, महिमा र इज्जतको लागि फिक्री गर्दर्थे (१ कोरिन्थी १०:३१; ३ यूहन्ना ७)।
आज परमेश्वर संसारमा के गर्दै हुनुहुन्छ?
"उनीहरूकै बीचमा" = सबै जातिहरूको बीचमा (पद ५)
आज परमेश्वर अन्यजातिहरूलाई भेट्दै हुनुहुन्छ र उनीहरूका बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्दै हुनुहुन्छ (प्रेरित १५:१४)। ख्रीष्टले आफ्नो मण्डली बनाउँदै हुनुहुन्छ (मत्ती १६:१८)। "मण्डली" (ग्रीकमा एक्लेसिया) भन्नाले परमेश्वरको, बोलाइएको सभा भन्ने बुझिन्छ। परमेश्वरले मानिसहरूलाई आफूसित सङ्गति गर्न बोलाउँदै हुनुहुन्छ (१ कोरिन्थी १:९)। के परमेश्वरले तपाईंलाई अन्धकारदेखि उहाँको अचम्मको ज्योतिभित्र बोलाउनुभएको छ (१ पत्रुस २:९)?
पावलको यस पत्रका प्रापकहरू रोमका विश्वासी जनहरू थिए।
उनीहरू "परमेश्वरका प्रियहरू" थिए, अर्थात् परमेश्वरद्वारा अति प्रेम गरिएकाहरू। परमेश्वरको यस अचम्म र महान् प्रेमको विषयमा हामी रोमी ५ मा अझै सिक्नेछौं।
उनीहरू "बोलाइएका पवित्र जनहरू" थिए। पवित्र जन भन्नाले "अलग पारिएको व्यक्ति, पापबाट अलग पारिएको र ख्रीष्टको सेवाको निम्ति अलग पारिएको व्यक्ति" भन्ने बुझिन्छ। हरेक विश्वासी पवित्र जन हो, तर कहिलेकाहिँ विश्वासीहरू पवित्र ढङ्गले जिउँदैनन्। पवित्र जीवन जिउने विषयमा हामी रोमी ६ मा सिक्नेछौं।
(पावलको नमूना)
यी पदहरूबाट प्रार्थना सम्बन्धी कम्तीमा ८ ओटा कुराहरू सिक्न सक्छौं:
१. प्रार्थनामा धन्यवाद दिने काम समावेश हुनुपर्दछ (पद ८)।
रोममा बस्ने ख्रीष्टियनहरूको निम्ति पावल परमेश्वरप्रति धन्यवादी थिए, विशेष गरी उनीहरूको विश्वासको निम्ति। उनीहरू विश्वासको निम्ति प्रसिद्ध थिए। उनीहरूको विश्वासले विश्वव्यापी नाम कमाएको थियो (दाँज्नुहोस् १ थेस्सलोनिकी १:८ जहाँ थेस्सलोनिकी ख्रीष्टियनहरू पनि आफ्नो विश्वासको निम्ति प्रसिद्ध भएको पाउँछौं)। विश्वास के हो? विश्वासको दुईओटा सरल बाइबलीय परिभाषाहरू रोमी ४:२१ र प्रेरित २७:२५ मा पाउन सकिन्छ। (यस मण्डलीलाई आजको रोमी मण्डलीसित तुलना गर्नुहोस्। रोमन क्याथोलिक चर्चको नामले चिनिने आजको रोमी मण्डली पनि प्रसिद्ध छ तर परमेश्वर र उहाँको वचनमाथिको विश्वासको सट्टामा आफ्नो प्रम्परा, संस्कार, रीतिथिति, पोपको नेतृत्व, इत्यादिको निम्ति प्रसिद्ध छ)। अन्धविश्वास र मुर्तिपूजामा डुबेको रोमी सामराज्यको राजधानीमै सत्य र जीवित परमेश्वरलाई उपासना गर्ने र विश्वास गर्ने व्यक्तिहरू भएकोमा पावल धन्यवादी थिए।
२. प्रार्थना "येशू ख्रीष्टद्वारा" गरिनुपर्दछ (पद ८)।
अन्य कुनै बाटोद्वारा परमेश्वरकहाँ आउन सकिँदैन (यूहन्ना १४:६)। उहाँ हाम्रा महान् मध्यस्त हुनुहुन्छ (१ तिमोथी २:५) र उहाँबिना प्रार्थना असम्भव हुनेथ्यो। यसैकारण हामी "येशूको नाममा" प्रार्थना गर्दछौं।
३. प्रार्थना निरन्तर गरिनुपर्दछ (पद ९)।
रोमीहरूको निम्ति पावलले "निरन्तर" प्रार्थना गर्थे (पद ९; १ थेस्सलोनिकी ५:१७ सित दाँज्नुहोस्)। ग्रीक भाषामा सुख्खा खोकीलाई बयान गर्न यही शब्द प्रयोग गरिन्थ्यो। जसरी सुख्खा खोकी एक व्यक्तिसँग दिनभरि रहिरहन्छ, त्यसरी नै रोमी विश्वासीहरूको निम्ति पावलको प्रार्थनापूर्ण वास्ता उनीसित निरन्तर रहिरहन्थ्यो।
४. प्रार्थना साँच्चीको हुनुपर्दछ (पद ९)।
पावलको साक्षी परमेश्वर हुनुहुन्थ्यो। पावलको प्रार्थनाको जीवनको वास्तविकता परमेश्वर जान्नुहुन्थ्यो। अरुहरूले तपाईंको प्रार्थनाको जीवन देख्न सक्दैनन्, केवल परमेश्वरले मात्र सक्नुहुन्छ। पावलले आफूलाई एक प्रार्थनामय मानिसको रुपमा देखाउन मात्र खोजेका थिएनन्। पावल जान्दथे कि उनको प्रार्थनाको जीवन वास्तवमै थियो र सो परमेश्वर जान्नुहुन्छ भनी उनी जान्दथे।
५. प्रार्थनामा अन्तरविन्ती हुनुपर्दछ (पद ९)।
पावलले यी रोमी विश्वासीहरूका नाम लिँदै प्रार्थना गर्थे। पावलले प्रचारद्वारा धेरै प्राणहरू जिते, साथै आफ्नो प्रार्थनाद्वारा पनि। पावलले आफ्नो प्रार्थनामा क-कसलाई सम्झना गर्थे? रोमी अध्याय १६ मा हामी २६ जनाको नामावली पाउँछौं! (पावल प्रार्थना-सूची राख्ने गर्थे कि?)। तपाईं क-कसका लागि प्रार्थना गर्नुहुन्छ नि?
६. प्रार्थना निश्चित विषयमा गरिनुपर्दछ (पद १०)।
पावलले एक निश्चित विन्ती चढाए। उनले प्रार्थनामा यसरी मागे, "म ________________ ______________ सफलता प्राप्त गर्न सकूँ। जीवनको जतिसुकै सानो कुरा पनि प्रार्थनामा ल्याउन सकिन्छ। भँगेराको निम्ति वास्ता गर्ने परमेश्वर, मैदानका लिली फूललाई पहिराउने परमेश्वर, अवश्य पनि पावलको रोम यात्रको निम्ति पनि वास्ता गर्नुहुन्छ। "कति शान्ति सुख गुमाउँछौं, कति दुःख छ व्यर्थैमा, कारण ईश्वरकहाँ हामी, सब ल्याउँदैन प्रार्थनामा!"
७. प्रार्थना, अधीनतामा रहेर गरिनुपर्दछ (पद १०)।
यस महत्त्वपूर्ण वाक्यांशलाई विचार गर्नुहोस्: "परमेश्वरको __________द्वारा" (लूका २४:४२ मा येशूको प्रार्थनासँग दाँज्नुहोस्)। पावलको माग अधिकारयुक्त थिएन न ता आदेश वा आज्ञाको रूपमा नै थियो। उनले केवल एक अनुरोध जाहेर गरे र सो अनुरोध परमेश्वरको इच्छामा भए मात्र पूरा होस् भनी चाहे।
८. प्रार्थना सही लक्ष्यले उत्प्रेरित हुनुपर्दछ (पद ११-१२)।
रोमसम्म "आउनमा सफलता प्राप्त गर्न सकूँ" भनी अनुरोध गर्नुको पछाडि पावलका के कस्ता कारणहरू थिए? पावल किन रोम जान चाहन्थे? १) उनी परमेश्वरको इच्छा पूरा गर्न चाहन्थे (पद १०); २) उनी रोमी विश्वासीहरूलाई चट्टान, ख्रीष्ट येशूमाथि स्थिर पार्न (अर्थात् बलियो बनाउन, दृढ पार्न) चाहन्थे; ३) उनी यी विश्वासीहरूलाई सान्त्वना र उत्साह दिन चाहन्थे (र साथै उनीहरूबाट सान्त्वना र उत्साह प्राप्त गर्न चाहन्थे) – (पद १२)। पावलका कारणहरू असल कारणहरू थिए। पावलको फिक्री परमेश्वरको महिमा र अर्काको भलाइको निम्ति थियो।
परमेश्वरले पावलको प्रार्थनाको जवाफ कसरी दिनुभयो? पावलको रोम जाने ठूलो इच्छा थियो (पद ११—"म अति इच्छा गर्दछु" – १ पत्रुस २:२ हेर्नुहोस् जहाँ उही शब्द प्रयोग भएको छ)। प्रेरित १९:२१ र रोमी १५:२३-२४ पनि हेर्नुहोस्। धेरै पटक पावलले आफ्नो यात्रा-योजनामा रोमलाई पनि समावेश गरे तर प्रत्येक पटक उनलाई अवरोध आइपर्यो (रोमी १:१३ र रोमी १५:२२)। रोम जान चाहनुमा पावलको एउटा कारण रोमी १:१३ मा पाइन्छ। अर्को कारणको सङ्केत प्रेरित ९:१५ मा पाइन्छ। परमेश्वरले उनलाई "राजाहरूको सामु" एक विशेष सेवकाइ दिनुभएको छ भनी पावल जान्दथे अनि रोममा त ठूला राजा अर्थात् सिजर थिए जो सम्पूर्ण रोमी साम्राज्यका सम्राट थिए।
के परमेश्वरले पावलको प्रार्थनाको जवाफ दिनुभयो? के पावल अन्तमा रोम पुगे? अवश्य पुगे तर त्यहाँ उनी आफूले कल्पना नै नगरेको तरिकामा पुगे। परमेश्वरले सधैं हामीले सोचेकै तरिकामा प्रार्थनाको जवाफ दिनुहुन्न। पावलको सफल यात्रा (रोमी १:१०) त भूमध्य-सागरको डरलाग्दो र जोखिमपूर्ण यात्रा पो हुनगयो (प्रेरित २७ मा यसको बयान छ)। अवश्य नै त्यो यात्रा पावलले सोचेजस्तै थिएन। साथै पावल ज्यादै अनौठो परिस्थितिमा रोम पुगे। उनी त्यहाँ एक कैदीको रूपमा पुर्याइए! पावलको प्रार्थनाको जवाफ मिल्यो तर ज्यादै असाधारण तरिकाले!
"ऋणी" = मैले केही दिनु छ! मेरो एउटा जिम्मेवारी छ! सुसमाचारको कर्तव्य छ! दाँज्नुहोस् १ कोरिन्थी ९:१६।
"ग्रीकहरू र अन्यभाषीहरू" = अन्यजातिका दुई वर्गहरू। "ग्रीकहरू" ती थिए जोहरूमा ग्रीक सभ्यता र भाषाको प्रभाव परेको थियो (रोमी साम्राज्यकै साझा भाषा ग्रीक थियो; रोमीहरूलाई पावलको पत्र, ल्याटिन वा हिब्रूमा नभएर, ग्रीकमै लेखिएको थियो)। "अन्यभाषीहरू" चाहिँ विदेशीहरू थिए जसलाई ग्रीक सभ्यताले छोएको थिएन (हेर्नुहोस् प्रेरित २८:२,४)।
पावल, मानव जातिको प्रत्येक सदस्यप्रति सुसमाचारको ऋणी थिए। एक समय पावल (टार्ससका शाऊल) प्रत्येक ख्रीष्टियनलाई खेदो गर्नु आफ्नो जिम्मेवारी ठान्थे तर उनी अब हरेक प्राणीलाई सुसमाचार प्रचार गर्नु आफ्नो जिम्मेवारी ठान्दछन् (पावल सम्भवत: मर्कूस १६:१५ सित परिचित थिए)। सुसमाचारमा तपाईंको के-कस्तो जिम्मेवारी वा कर्तव्य छ (२ कोरिन्थी ५:१७-२१ पढ्नुहोस्)? परमेश्वरको सुसमाचार पाएकाहरू त्यसलाई अरूसित बाँड्न आफूलाई बोझ भएको र जिम्मेवार भएको महसुस गर्छन्। यदि तपाईं औषधि अनुसन्धानकर्ता हुनुहुन्थ्यो र तपाईंले क्यान्सरको औषधि पत्ता लगाउनुभएको भए, के त्यसलाई तपाईंले गोप्यमै राख्नुहुन्थ्यो होला?
"तयार" = तयार, इच्छुक र उत्सुक (तुलना गर्नुहोस् प्रेरित १७:११ -- "मनको पूरा तयारीको साथ")।
"सुसमाचार प्रचार गर्न" = शुभ-सन्देशलाई घोषणा गर्न, प्रचार-प्रसार गर्न।
रोमी १:१६
पावल प्रेरितका निम्न तीन भनाइहरूलाई ध्यान दिनुहोस्:
"म… ऋणी छु" (पद १४)
"म… तयार छु" (पद १५)
"म… लजाउँदिनँ (पद १६)
"लजाउँदिनँ" -- सुसमाचारका निम्ति पवाल कारागारमा जान लजाउँदैनथे र मर्न समेत लजाउँदैनथे। हाम्रा प्रभुले लूका ९:२६ मा भन्नुभएको कुरालाई २ तिमोथी १:८,१२ सित तुलना गर्नुहोस्। ख्रीष्टियनहरू सुसमाचारसँग लजाउनुहुन्न र साथै यसका सिद्धान्तहरूको बिपरित खाले जीवन जिएर सुसमाचारको निम्ति लाजको कारण बन्नुहुन्न।
"परमेश्वरको सामर्थ्य" = ग्रीक शब्द डुनामीस (अङ्ग्रेजीको "डाइनामाइट" सित दाँज्नुहोस्)। १ कोरिन्थी १:१८,२४ मा हेर्नुहोस्। संसारलाई सृष्टि गर्ने काम परमेश्वरलाई औंलाको खेल बराबर थियो (भजन सङ्ग्रह ८:३) तर पापीको उद्धार गर्न भने परमेश्वरकै बाहुबलको जरुरत पर्यो (यशैया ५१:१)। संसार सृष्टि गर्न परमेश्वरलाई खासै खर्च लागेन; उद्धार गर्न भने परमेश्वरले आफ्नो एकमात्र पुत्र खर्चनुपर्यो। सतावटका प्रमुख शावलको बदली गरी उसलाई प्रेरितहरूका प्रमुख पावल बनाउन परमेश्वरकै सामर्थ्यको आवश्यकता पर्यो। कुनै पनि पापीलाई बचाउन र बदली गर्न परमेश्वरकै सामर्थ्यको आवश्यकता पर्दछ (तुलना गर्नुहोस् कलस्सी १:१३ र प्रेरित २६:१८)।
"हरेकका लागि" -- परमेश्वरको सुसमाचार छानिएका थोरैका लागि मात्र नभएर सबैका लागि हो।
"विश्वास गर्ने" -- सुसमाचार विश्वास गर्ने हरेकले नै मुक्ति पाउँदछ (तुलना गर्नुहोस् प्रेरित १६:३०-३१; १ कोरिन्थी १:२१; १ कोरिन्थी १५:१-२; लूका ८:१२; यूहन्ना ६:४७ आदि)।
"पहिले यहूदीका लागि" -- यहाँ हामी परमेश्वरको अनुग्रहको अचम्मको प्रदर्शन देख्दछौं। यहूदीहरू नै ती थिए जसले आफ्नै मसीहलाई इन्कार गरे (यूहन्ना १:११) र उहाँलाई क्रूसमा टँगाए (यूहन्ना १९:१४-१६)। तरैपनि परमेश्वरको शुभ-सन्देश सुन्न सबैभन्दा पहिलो मौका पाउनेहरू उनीहरू नै थिए! सुसमचार सर्वप्रथम यहूदीहरूकहाँ पुर्याइयो। पेन्टेकोस्टको दिनमा (प्रेरित २) सुसमाचार सुन्नेहरू सबै नै यहूदीहरू थिए। प्रेरित अध्याय १० मा नपुगुञ्जेल अन्यजातिहरूले सुसमाचार सुन्न पाएनन्। आज सुसमाचार सबै मानिसहरूलाई कुनै भिन्नताबिना पुर्याइनुपर्छ (हेर्नुहोस् रोमी १०:१२-१३)।
तर पावल र बर्नबासले साहसी भएर भने: "परमेश्वरको वचन पहिले तपाईंहरूलाई सुनाइनु खाँचो थियो; तर यसलाई तपाईंहरू इन्कार गर्नुहुन्छ र अनन्त जीवनका लागि आफूलाई अयोग्य ठहराउनुहुन्छ; यसकारण हेर्नुहोस्, हामी अन्यजातिहरूतिर फर्किन्छौं" (प्रेरित १३:४६)।
यहाँ पावलको अभिव्यक्ति ज्यादै वजनदार छ: यसो गर्नु "खाँचो थियो!" सुसमाचार पहिले यहूदीहरूकहाँ पुर्याइनु नितान्त आवश्यक थियो। परमेश्वरको वचन पहिले यहूदीहरूलाई नै घोषणा किन गरिनुपर्थ्यो भन्ने कुराका केही कारणहरू यस प्रकार छन्:
१) सुसमाचार पहिले यहूदीहरूकहाँ जानुपर्थ्यो किनकि "मुक्ति यहूदीहरूबाटको हो" (यूहन्ना ४:२२)। मुक्तिदाता आफैं एक यहूदी हुनुहुन्थ्यो। मुक्ति यहूदीहरूबाटको भएको हुनाले मुक्तिको यो गहकिलो सन्देश पहिले यहूदीहरूलाई नै सुनाइनु सुहाउँदो कुरा थियो।
२) सुसमाचार पहिले यहूदीहरूकहाँ जानुपर्थ्यो किनकि ख्रीष्ट "आफ्ना जनहरूलाई तिनीहरूका पापहरूबाट मुक्त" गर्ने उद्देश्यले संसारमा आउनुभएको हो (मत्ती १:२१)। "आफ्ना जनहरू" भन्नाले स्पष्टै इस्राएल भन्ने बुझिन्छ (मत्ती २:६ सित तुलना गर्नुहोस्; साथै प्रेरित १०:४२ मा "मानिसहरू" भन्नाले सम्भवतः यहूदीहरू बुझिन्छ)। तसर्थ मुक्तिको सन्देश र आशिषहरू सर्वप्रथम इस्राएलकहाँ नै पुर्याइनु उचित थियो (तुलना गर्नुहोस् प्रेरित ३:२६)।
३) सुसमाचार पहिले यहूदीहरूकहाँ जानुपर्थ्यो किनकि हिब्रू पवित्र शास्त्रहरू (३९ पुस्तकहरू) यहूदीहरूलाई नै सुम्पिएको थियो। रोमी ३:१-२ र ९:४ मा पढ्नुहोस्। अन्य जातिहरूले भन्दा उनीहरूले प्रतिज्ञा गरिनुभएको मुक्तिदातालाई ठम्म्याउन सक्नुपर्थ्यो र उहाँलाई ख्रीष्ट अर्थात् इस्राएलका मसीह भनी स्वीकार गर्न सक्नुपर्थ्यो। यसैकारण विश्राम दिनहरूमा यहूदीहरूका सभाघरहरूमा गई उनीहरूसित पवित्र शास्त्रहरूबाट तर्क गर्दै नासरतका येशू नै प्रतिज्ञा गरिनुभएको मुक्तिदाता हुनुहुन्छ भन्ने कुरालाई प्रस्तुत गर्ने पावलको आदत हुनु अनौठो कुरा होइन। परमेश्वरले सुसमाचार पहिले यहूदीहरूकहाँ पठाउनुभयो किनकि सुसमाचारमा घोषणा गरिनुहुने ख्रीष्टलाई व्यवस्था र अगमवक्ताहरूमा पहिल्यै प्रतिज्ञा गरिनुभएको जन भनेर पहिले चिन्न सक्ने त यहूदीहरू नै हुनुपर्थ्यो।
४) सुसमाचार पहिले यहूदीहरूकहाँ जानुपर्थ्यो किनकि परमेश्वरले आफू अनुग्रही छु भन्ने कुरा देखाउन चाहनुहुन्थ्यो। के यहूदीहरू सुसमाचार सुन्नेमा पहिलो हुन योग्य थिए? आफ्ना मसीहलाई इन्कार गरी क्रूसमा टँगाउनेहरू त उनीहरू नै थिए (हेर्नुहोस् मत्ती २७:२२; प्रेरित २:२३; २:३६; ३:१४-१५; ५:३०; ७:५२; १०:३९; १३:२७-२८; १ कोरिन्थी २:८; जकरिया १२:१०; १ थेस्सलोनिकी २:१४-१६)। उनीहरूलाई त आखिरमा सुनाइनुपर्थ्यो। वास्तवमा उनीहरूलाई सुनाइन उनीहरू योग्य नै थिएनन्। तिनीहरूले आफ्ना मुक्तिदातालाई इन्कार गरे तर परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुभएन। यी अयोग्य यहूदी जातिलाई सबैभन्दा पहिले भेट्न खोज्नु परमेश्वरको तर्फबाट कत्रो अनुग्रह थियो। इस्राएलको पाप चरमबिन्दुमा पुगेको बेलामा, परमेश्वरको अनुग्रह झनै प्रशस्त भयो (तुलना गर्नुहोस् रोमी ५:२०)।
यहूदीहरूसितको परमेश्वरको अनुग्रही व्यवहारलाई सी एच म्याकिन्टोश (C.H. Mackintosh) ले सुन्दर ढङ्गमा ब्याख्या गरेका छन्:
"यरूशलेमदेखि शुरु गर्नू" भनी उनीहरूलाई उहाँ आज्ञा गर्नुहुन्छ। हो, यरूशलेमदैखि नै, जहाँ हाम्रा प्रभु क्रूसमा टँगाइनुभयो; जहाँ मानव द्वेषले कल्पना गर्न सक्ने जति हरेक अपमानजनक व्यवहार उहाँको ईश्वरीय व्यक्तित्वमाथि खन्याइयो; जहाँ मानिसले "शरीरमा प्रकट हुनुभएको परमेश्वर" को सट्टा एउटा हत्यारा र डाँकूलाई बढी मन परायो; परमेश्वरको पुत्रलाई कुकर्मी टाँगिने क्रूसमा काँटीले ठोकेर मानव अधर्म चरमबिन्दुमा पुगेको जहाँ थियो -- त्यहीँ नै प्रचारकहरूले त्यो आशिषमय कार्यको थालनि गर्नुपर्थ्यो; त्यो नै तिनीहरूको अनुग्रहपूर्ण सेवाको कार्यक्षत्रको केन्द्र हुनुपर्थ्यो; अनि त्यहाँबाट उनीहरू सारा जगतको पल्लो छेउसम्म यात्रा गर्नुपर्थ्यो। उनीहरूले "यरूशलेमी पापीहरू" बाट शुरु गर्नुपर्थ्यो -- परमेश्वरको पुत्रकै हत्याराहरूबाट -- अनि त्यसपछि त्यस महिमापूर्ण सन्देशलाई जहाँतहीँ प्रकाशित गर्दै जानुपर्थ्यो, ता कि सबैले यरूशलेमकै रगताम्य दोषलाई क्षमा दिन सक्ने परमेश्वरको त्यो अनमोल अनुग्रहलाई जान्न सकून्।
कति महिमापूर्ण छ यो कुरा! परमेश्वरको पुत्रका हत्याराहरू नै सबैभन्दा पहिले क्षमाशील प्रेमको मीठो ध्वनि सुन्न पाए ता कि परमेश्वरको अनुग्रह र ख्रीष्टको रगतले कतिसम्म गर्न सक्दो रहेछ भनेर उनीहरूमा सबैले एउटा नमुना देख्न पाऊन्। साँच्चै, यरूशलेमी पापीहरूलाई क्षमा दिन सक्ने अनुग्रहले जोकोहीलाई पनि क्षमा दिन सक्नेछ; परमेश्वरका ख्रीष्टलाई धोका दिने र हत्या गर्नेहरूलाई शुद्ध पार्न सक्ने रगतले नरक बाहिरको जोकोही पापीलाई पनि शुद्ध पार्न सक्दछ। यी मुक्तिका सन्देश बाहकहरूले, उनीहरू एक राष्ट्रबाट अर्को राष्ट्रमा यात्रा गर्ने क्रममा, श्रोताहरूलाई आफूहरू कहाँदेखि आएका हौं भनी बताउन सक्थे; उनीहरूले परमेश्वरको त्यो अति प्रशस्त अनुग्रहको बारेमा बताउन सक्थे जुन अनुग्रहले आफ्नो सेवाकार्य पृथ्वीकै सबैभन्दा दोषी स्थानदेखि शुरु गर्यो र आदमका सन्तानमध्ये सबैभन्दा नीचलाई समेत बचाउन पनि पूरै सक्षम थियो।
"यसैमा" = सुसमाचारमा (पद १६ मा हेर्नुहोस्)। परमेश्वरको धार्मिकता सुसमाचारमा प्रकट भएको छ।
"परमेश्वरको धार्मिकता" -- मानिस धार्मिकतारहित छ (रोमी ३:१०), उसलाई धार्मिकताको खाँचो छ (१ कोरिन्थी ६:९ सित तुलना गर्नुहोस्)। आफूलाई खाँचो परेको धार्मिकता मानिसले कसरी पाउन सक्छ त?
"विश्वासद्वारा" -- मानिसले यो धार्मिकता विश्वासद्वारा ग्रहण गर्नुपर्छ र अपनाउनुपर्छ। मार्टिन लुथर (Martin Luther) को आँखाहरू खोलिदिन परमेश्वरले यही पद (रोमी १:१७) लाई प्रयोग गर्नुभयो। उनले यस पदलाई विचार गर्दै थिए जब एक्कासी उसलाई महसुस हुनगयो कि धर्मीकरण (justification) विश्वासद्वारा हुने कुरा हो, मानवीय प्रयासद्वारा होइन, असल कामहरूले होइन, स्याक्रामेन्ट (धार्मिक संस्कार) हरू द्वारा होइन, रीति पूरा गरेर वा अन्य त्यस्ता कुनै पनि कुराले होइन, तर येशू ख्रीष्टमा विश्वास गरेर हुने कुरा हो। लुथर आफैले भने, "किनकि परमेश्वरले हामीलाई हाम्रो आफ्नै धार्मिकताले होइन र एउटा बाह्य धार्मिकताद्वारा बचाउन चाहनुहुन्छ जुनचाहिँ हामी आफैंबाट उत्पन्न भएको नभएर तर हामीभन्दा बाहिरबाट उत्पन्न भएको छ, जुनचाहिँ संसारबाट उब्जेको होइन तर स्वर्गबाटको हो (लेक्चर्स् अन रोमन्स्)। विश्वासद्वाराको धार्मिकता (JUSTIFICATION BY FAITH) प्रोटेस्टेन्ट अभियान (Protestant Reformation) का प्रमुख तीनमध्ये एउटा खाँबो हो (अरू दुईचाहिँ बाइबलको सर्वाधिकार (SUPREME AUTHORITY OF THE BIBLE) र सबै विश्वासीको पूजाहारीगिरी (THE UNIVERSAL PRIESTHOOD OF BELIEVERS) हुन्)।
"परमेश्वरको क्रोध" -- अधिकांश धार्मिक परिवेशहरूमा परमेश्वरको क्रोधको विषयलाई बेवास्ता गरिएको पाइन्छ। परमेश्वरको प्रेमलाई प्रायः उल्लेख गरिए तापनि परमेश्वरको क्रोधको कुरा भने बिरलै गरिन्छ। सुसमाचारलाई प्रस्तुत गर्दा "राम्रो खबर" बताउनु अघि "नराम्रो खबर" बताउनुपर्छ भनी पावल जान्दथे। हामीलाई परमेश्वरको धार्मिकता चाहिएको छ (रोमी १:१७) तर हामीले पाउनु पर्ने त परमेश्वरको क्रोध हो (पद १८)। मुक्ति पाउन तयार हुनु अघि एउटा मान्छेले मुक्तिको निम्ति आफ्नो खाँचो देख्नुपर्ने हुन्छ। लुका ५:२७-३२ पढ्नुहोस्। खाँचो नपरेसम्म मान्छे त्यत्तिकै डाक्टरकहाँ जाँदैन। आफूलाई खाँचोमा परेको पापीको रूपमा नदेखेसम्म एउटा मान्छे मुक्तिदाताकहाँ आउँदै आउँदैन।
"अभक्ति र अधर्म" -- हामी वास्तवमा कहाँसम्म भक्तिहीन र अधर्मी रहेछौं भन्ने कुरा रोमीको पुस्तकको पहिलो तीन अध्यायहरूबाट सिक्न सकिन्छ! हामी परमेश्वरको क्रोधको योग्य छौं भन्ने कुरा यी अध्यायहरूबाट सिक्नेछौं!
परमेश्वरले आफ्नो धार्मिकताको तराजुमा हलुका भेटिने सबै कुरालाई न्याय गर्नुपर्ने हुन्छ र तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनुपर्ने हुन्छ। परमेश्वरको सिद्ध धार्मिकताको तराजुमा जोखिँदा तपाईं कस्तो भेटिनुहुन्छ -- योग्य कि अयोग्य? १) एक मात्र साँचो धर्मी मानिस येशू ख्रीष्टसित तुलना गरिँदा के तपाईं योग्य भेटिनुहुन्छ? २) परमेश्वरको धर्ममय व्यवस्था (विशेष गरी दस आज्ञा) को तुलनामा के तपाईं योग्य भेटिनुहुन्छ? यी सबै आज्ञाहरूलाई के तपाईंले पूर्ण रूपमा पालन गर्नुभएको छ? यदि हामी परमेश्वरका सामु र आफैसित पनि इमानदार भयौं भने, हामी कुनचाहिँ निष्कर्षमा आउनैपर्ने हुन्छ (रोमी ३:१०)?
|
द्रष्टब्य: पावलले कसरी सुसमाचार प्रस्तुत गरे भन्ने कुरामा राम्ररी ध्यान दिनु महत्त्वपूर्ण छ। उनले अधर्मी तथा भक्तिहीनहरूका विरुद्धमा परमेश्वरको क्रोध स्वर्गबाट आउँदै गरेको कुराबाट शुरु गर्दछन्! हामीलाई परमेश्वरको सुसमाचारको कति टड्कारो खाँचो परेको छ भन्ने कुरा सबैले बुझून् भनेर पावलले "राम्रो खबर" प्रस्तुत गर्नु अगाडि "नराम्रो खबर" प्रस्तुत गर्दछन्। सुसमाचार प्रस्तुत गर्ने त्यहाँ मूलतः दुइटा तरिका छन्: १) व्यक्तिगत लाभको आधारमा (सुसमाचारले मलाई के कस्तो लाभ हुन्छ? ख्रीष्टियन हुनुमा के कस्ता फाइदाहरू छन्? के सुसमाचारले मलाई सुख मिल्नेछ? सफलता मिल्नेछ? सन्तुष्टि मिल्नेछ? आदि); २) व्यक्तिगत खाँचोको आधारमा (मानिस पवित्र परमेश्वरको क्रोध र दण्डमुनि असहाय र आशारहित अवस्थामा छ, यसकारण उसलाई मुक्तिको खाँचो छ नत्र भने ऊ अनन्त दण्डमा जानेछ)। सुसमाचार आज प्रायः व्यक्तिगत लाभको आधारमा प्रस्तुत गरिएको पाइन्छ। त्यसरी सुसमाचार प्रस्तुत गरिएको उदाहरणस्वरूप एउटा पर्चामा लेखिएको कुरालाई हेरौं:
अब यी कुराहरू साँचो हुन् भनेर हामीले स्वीकार त गर्नुपर्छ। सन्तुष्टि, सुख, स्वतन्त्रता तथा अन्य थुप्रै हितकर कुराहरू सबै ख्रीष्ट येशूमै पाइन्छन् र निश्चय पनि ख्रीष्टियन जीवन मात्रै जिउन लायक जीवन हो। तर के हामीले सुसमाचारलाई यो आधारमा प्रस्तुत गर्नु पर्ने हो त? के पावलको तरिका यही थियो? मुक्ति नपाएका धेरै-धेरै मानिसहरू आफूहरू ज्यादै सुखी छौं भन्ने ठान्दछन्। उनीहरू जीवनसित तुलनात्मक हिसाबमा सन्तुष्ट नै हुन्छन्, उनीहरूका काम-कुरा राम्रै चलिरहेका हुन्छन् र आफूले गरिरहेको काम-कुरामा उनीहरू खुशी नै हुन्छन्। आफ्नो जीवन शैलीसित उनीहरू सन्तुष्ट हुन्छन् र उनीहरूलाई ख्रीष्टियन बन्न विवश पार्ने त्यस्तो कुनै कुरा उनीहरू देख्दैनन्। "तिमीलाई यसैमा खुशी लाग्छ भने ख्रीष्टियन हुनु तिम्रो लागि राम्रै कुरा हो", उनीहरू भन्छन्, "तर मलाई ठीकै छ र म जसरी जिइरहेको छु त्यसमा म खुशी नै छु।" उनीहरूले ख्रीष्टको निम्ति आफ्नो खाँचोलाई देख्न सकिरहेका छैनन्। उदाहरण: मानौं कुनै अस्पतालले तपाईंलाई सम्पर्क गर्दै यसरी निम्तो दिए: "के तपाईं भोलि यहाँ आएर शल्यक्रिया गर्न चाहनुहुन्छ? हामी आजकल त्यति व्यस्त नभएको हुनाले हाम्रो स्टाफलाई व्यस्त राख्न काम चाहिएको छ। हामी तपाईंलाई चिरफार गर्नेछौं र सबै जाँच गर्नेछौं र फेरि जस्ताको त्यस्तै सिलाइदिनेछौं। तपाईंलाई यसले फाइदा गर्नेछ। चार पाँच दिनपछि आफूलाई गजब भएको तपाईंलाई महसुस हुनेछ! तपाईंलाई स्वास्थ्यलाभ हुनेछ! जीवनमा नपाएको कुरा तपाईंले पाउनुहुनेछ! हामीलाई शल्यक्रिया गर्न मात्र दिनुहोस् र यी सबै कुराले लाभान्वित बन्नुहोस्।" के तपाईं जानुहुन्थ्यो होला? किन जानुहुन्नथ्यो? तर मानौं डाक्टरहरूले तपाईंलाई तपाईंको शरीरभित्र एउटा घातक क्यान्सर फैलिन थालेको छ र त्यसलाई चाँडै काटेर फालिएन भने त्यसले तपाईंलाई मार्नेछ भन्ने कुरा बताए। के अब तपाईं शल्यक्रिया गर्न राजी हुनुहुनेथ्यो? किन? उनीहरूको ठूलो खाँचो छ भन्ने कुरा मानिसहरूले देख्नै पर्छ। ख्रीष्टमा प्रदान गरिएको मुक्तिको कति ठूलो खाँचो उनीहरूलाई छ भन्ने कुरा मानिसहरूले देख्नै पर्छ। रोमीको पहिलो तीन अध्यायहरू पढ्नुभएपछि तपाईंले आफ्नो हृदयभित्र एउटा घातक क्यान्सर (पाप) लागेको रहेछ र आफूलाई निको पार्न तपाईंले गर्न सक्ने केही पनि कुरा छैन रहेछ भन्ने कुरा तपाईंले महसुस गर्नुहुनेछ। एउटै उपाय ख्रीष्टमा रहेछ ("जीवन छोटो छ, मरण निश्चित छ, मृत्यु पापले ल्यायो, मुक्ति ख्रीष्टमा छ!") अर्को एउटा कुरा: यदि मानिसहरू व्यक्तिगत लाभको आधारमा ख्रीष्टकहाँ आए भने उनीहरू गलत कारणले पनि आएका हुन सक्छन्। येशू हामीलाई हाम्रा ________ बाट (मत्ती १:२१) मुक्त गर्न आउनुभएको हो, न कि हाम्रो अशान्ति वा एक्लोपना वा असफल जीवन शैलीबाट। यी अन्य कुराहरू त हृदयभित्रको आधारभूत समस्याको केवल सतही लक्ष्यणहरू मात्र हुन्: पापको कारणले मानिस आफ्नो सृष्टिकर्तासित ठीक सम्बन्धमा छैन। यो आधारभूत समस्याको समाधान भएपछि त्यसभन्दा गौण सतही समस्याहरू पनि समाधान हुनेछन्। दुःखको कुरा, वास्तविक ठूलो समस्या कुनचाहिँ हो भनेर अधिकांश मानिसहरू अनभिज्ञ छन्। जुन कुराको बारेमा उनीहरू सबैभन्दा कम वास्ता गर्छन् त्यही कुराकै बारेमा सबैभन्दा बढी वास्ता गरिनुपर्थ्यो: अर्थात्, पापको समस्याको बारेमा! |
"दबाइराख्ने" = दमन गर्ने, प्रकट हुन नदिने
यी मानिसहरूले सत्यतालाई नजानेका थिएनन् र उनीहरू सत्यको ज्ञानबिना थिएनन् भन्ने कुरालाई कृपया ध्यानमा राख्नुहोला। उनीहरूसित सत्यता थियो तर त्यसलाई उनीहरूले दबाएर राखेका थिए।
यी मानिसहरूले सत्यलाई नजानेका थिएनन् भन्ने कुरा पद १८ मा सिक्यौं। उनीहरूसित सत्यता थियो तर उनीहरूले त्यसलाई दबाएर राखे। यी मानिसहरूसित सत्य परमेश्वरको बारेमा सत्यता कसरी थियो त भन्ने कुरा अब पावलले राम्ररी बताउन लागेका छन्। यी मानिसहरूकहाँ परमेश्वरले आफूलाई प्रकट गरिसक्नुभएको छ भन्ने कुरा रोमी १:१९ मा सिक्दछौं। उहाँले आफूलाई उनीहरूकहाँ प्रकट गरिसक्नुभएको छ। परमेश्वरले यो कसरी गर्नुभएको छ त? पद २० ले बताउनेछ।
द्रष्टब्य: रोमीको पहिलो तीन अध्यायहरूले मूलत: एउटै आधारभूत प्रश्नको जवाफ दिँदै छ: के सारा विश्व पवित्र परमेश्वरको सामु दोषी छ? के सारा विश्व हराएको छ अर्थात् विनाशको बाटोमा छ? सारा मानिस जातिलाई धर्मी न्यायधीश परमेश्वरका सामु खडा गराइँदा उनीहरूको फैसला कुनचाहिँ हुनेछ -- दोषी कि निर्दोष? जवाफको पूर्वावलोकनस्वरूप रोमी ३:९,१९,२३ मा हेर्न सक्नुहुन्छ। एक सृष्टिपूजक (heathen man) विनाशको बाटोमा छ र उसलाई कुनै बहाना छैन भन्ने कुरा पावलले अध्याय १ मा प्रमाणित गर्दछन्। एक नैतिकवादी मानिस (moral man) विनाशको बाटोमा छ र उसलाई कुनै बहाना छैन भन्ने कुरा पावलले अध्याय २ को पहिलो भागमा प्रमाणित गर्दछन्। परमेश्वरकै लिखित प्रकाश पाएको मानिस (अर्थात् यहूदी) पनि विनाशको बाटोमा छ र उसलाई कुनै बहाना छैन भन्ने कुरा पावलले अध्याय २ को आखिरी भाग र अध्याय ३ मा प्रमाणित गर्दछन्।
नबिर्सनुहोला! अहिलेसम्ममा हामीले के-के सिक्यौं त्यसलाई सारांशमा हेरौं:
रोमी १:१७ -- हामीलाई खाँचो परेको कुरा यो हो (परमेश्वरको धार्मिकता)
रोमी १:१८ -- हामीले पाउनु पर्ने कुरा यो हो (परमेश्वरको क्रोध)
हामीले पछिबाट सिक्नेछौं, परमेश्वरको अनुग्रहले हामीलाई खाँचो परेको धार्मिकता दिलाउँदछ (रोमी ३:२४; ५:१७; ५:२०-२१) र परमेश्वरको कृपाले हामीलाई हामीले पाउनु पर्ने क्रोधबाट बचाउँदछ (रोमी ५:९; ११:३२)। प्रभु येशू क्रूसमा मर्नुहुँदा परमेश्वरको क्रोध उहाँमाथि खस्यो (रोमी ५:६-१०) र मैले ख्रीष्टमाथि विश्वास गर्दा र उहाँलाई मैले विश्वासद्वारा आफ्नो मुक्तितादाको रूपमा ग्रहण गर्दा परमेश्वरको धार्मिकता मेरो हिसाबमा राखिँदछ (रोमी ३:२१-२२; ४:१-५; ५:१५-२१)।
उन्नाइसौं पदको सन्दर्भलाई याद गर्नुहोस्। मानिससित परमेश्वरको ज्ञान छ। परमेश्वरले आफूलाई तिनीहरूकहाँ प्रकट गर्नुभएको छ। परमेश्वरले यो कसरी गर्नुभएको छ त? पद २० ले अब बताउँदछ।
"उहाँका" = परमेश्वरका। मानिसहरूले परमेश्वरका नदेखिने कुराहरूलाई छर्लङ्गै देख्न सक्छन्! नदेखिने परमेश्वरले मानिसहरूले उहाँलाई देखून् भन्ने चाहनुहुन्छ! परमेश्वर अदृश्य हुनुहुन्छ, तैपनि उहाँ छर्लङ्गै देखिनुहुन्छ!
"सृष्टि गरिएका कुराहरूद्वारा" -- सृष्टिले सृष्टिकर्तालाई प्रकट गरेको छ। सृष्टि गरिएका देखिने कुराहरूले नदेखिने सृष्टिकर्तालाई देखाइरहेको छ! प्रकृतिको रचना (design) ले रचनाकार (Designer) लाई औंल्याइरहेको छ! "सृष्टि गरिएका कुराहरू" ले ईश्वरीय रचनाकारलाई औंल्याउँदछन्।
हामीले सृष्टिबाट परमेश्वरको बारेमा सिक्न सक्ने दुइटा कुराहरू यी हुन्: १) उहाँको अनन्त शक्ति; २) उहाँको परमेश्वरत्व (GODHEAD)।
सृष्टिलाई केवल हेरेर हामीले सृष्टिकर्ताको बारेमा थुप्रै कुराहरू सिक्न सक्छौं; जस्तै:
१) परमेश्वरको व्यवस्थाप्रियता (ORDERLINESS, उहाँ नियम र सुव्यवस्थाका परमेश्वर हुनुहुन्छ) -- गुरुत्वाकर्षणको सिद्धान्त तथा प्रकृतिका अन्य सबै अपरिवर्तनीय सिद्धान्त अथवा नियमहरू;
२) परमेश्वरको कला कौशल -- सुन्दर सूर्यास्त, मजुरका प्वाँख तथा समुद्री माछाका रङ्गहरू;
३) परमेश्वरको शक्ति -- आँधीबेहरी र चट्याङ्ग, तुफान, सुनामी;
४) परमेश्वरको भलोपन -- आकाशको वर्षा, फलदायी ऋतुहरू, घामको उज्यालो र न्यानो (प्रेरित १४:१७; मत्ती ५:४४-४५);
५) परमेश्वरको महानता -- ब्रह्माण्डको अपरिमित आयामहरू। हाम्रो आकाशगङ्गा ग्यालक्सीमा ३००,०००,००० सूर्यहरू रहेका छन्। सबै ग्यालक्सीहरू हामी गनेर सक्दैनौ, ताराहरूको कुरै नगरौं (भजनसङ्ग्रह ८:३-४; उत्पत्ति १५:५; यर्मिया ३१:३७; ३३:२२; भजनसङ्ग्रह १४७:४);
६) परमेश्वरको विचारशक्ति -- मानव मस्तिष्कको बनावट कुनै पनि मानव-निर्मित कम्प्युटरभन्दा अति धेरै जटिल हुन्छ (हेर्नुहोस् भजनसङ्ग्रह १३९:१४);
७) परमेश्वरको सृजनशक्ति (अनेकथरीका मौलिक रचना गर्न सक्ने उहाँको असीमित क्षमता) -- हिउँका एक-एक कण षट्कोण परेका दाना भए तापनि कुनै दुई कण उस्तै हुन्नन्; कुनै दुई व्यक्तिहरू उस्तै हुँदैनन् र जुम्ल्याहामा समेत भिन्नता हुन्छन्;
८) परमेश्वरको बुद्धि (सारा बुद्धिले सम्पन्न हुनुभएका परमेश्वरले संसारको सृष्टि सबैभन्दा उत्तम ढाँचामा गर्नुभयो) -- सूर्य पृथ्वीदेखि न बढ्ता टाढा छ न बढ्ता नजिक; पृथ्वीमा एकदम उचित मात्रामा पानी, अक्सिजन आदि रहेको छ, इत्यादि।
९) परमेश्वरको वास्ता (हेर्नुहोस्, मत्ती ६:२६-३०; २३:३७) -- चराचुरुङ्गीलाई आहारा, लिली फूललाई पहिरन; चल्लालाई माउको पखेटामुनि न्यानो सुरक्षा;
१०) परमेश्वरको विश्वासयोग्यता -- दिन-रातको चक्र; ऋतु-चक्र (हेर्नुहोस्, उत्पत्ति ८:२२; यर्मिया ३१:३५-३६; ३३:२०)।
सृष्टिकर्ताको बारेमा हामी कसरी जान्न सक्छौं? मानिस (सृष्टिको एउटा प्राणी) ले परमेश्वर (सृष्टिकर्ता) को बारेमा कसरी जान्न सक्छ? हामीले उहाँलाई चिन्न सकौं भन्ने हेतुले सृष्टिकर्ताले आफूलाई हामीकहाँ कसरी प्रकट गर्नुभएको छ?
सृष्टिकर्ताले आफूलाई मानिसहरूकहाँ प्रकट गर्न चाहनु भएको हुनाले उहाँले दुइटा पुस्तकहरू लेख्नुभएको छ। यी दुइटा पुस्तकहरूले हामीलाई सृष्टिकर्ताको बारेमा बताउँछन्! मानिसहरूले यी दुवै पुस्तकहरू पढून् र उहाँलाई चिन्न सकून् भन्ने परमेश्वरको इच्छा हो।
पहिलो पुस्तक - सृष्टिकर्ताका सृष्टि
(भजनसङ्ग्रह १९:१-६)
|
|
||
|
पहिलो पुस्तक |
– |
सृष्टि |
दोश्रो पुस्तक - सृष्टिकर्ताका वचन
(बाइबल)
(भजनसङ्ग्रह १९:७-११)
|
|
||
|
दोश्रो पुस्तक |
– |
बाइबल |
पहिलो पुस्तक सबैले पढ्छन्, तर दोश्रो पुस्तक थोरैले मात्र पढ्छन्। सृष्टिकर्ताका सृष्टि नै पहिलो पुस्तक हो र यसलाई भजनसङ्ग्रह १९:१-६ मा बयान गरिएको छ। सृष्टिकर्ताका वचन (बाइबल) नै दोश्रो पुस्तक हो र यसलाई भजनसङ्ग्रह १९:७-११ मा बयान गरिएको छ। दृष्टान्त: बालबालिकाका पुस्तकहरूको विचार गर्नुहोस्। कुनै-कुनैमा शब्द पनि हुन्छन् तर कतिमा चित्र मात्र हुन्छन्। पहिलो पुस्तक चित्र-पुस्तक हो। यसमा शब्द छैनन्। मान्छेले हेरेर देखे मात्र पुग्छ (रोमी १:२० - परमेश्वरको शक्ति र ईश्वरत्व "छर्लङ्गै देखा परेका छन्")। बच्चाले आफ्नो आँखा खोल्नेबित्तिकै पहिलो पुस्तक पढ्न थाल्दछ जब उसले आफू वरिपरिको संसारको बारेमा सिक्न थाल्दछ।
|
कुन पुस्तक अनपढहरूले समेत पढ्न र बुझ्न सक्छन् (हेर्नुहोस् भजनसङ्ग्रह १९:२-४)? __________ कुन पुस्तक विश्वव्यापी भाषामा लेखिएको छ (सबैले बुझ्ने भाषामा लेखिएकोले रूपान्तरणको समस्या छैन)? __________ आकाशहरूको बारेमा कुन पुस्तकले सिकाउँछ (उत्पत्ति १:१)? __________ स्वर्ग कसरी पुग्न सकिन्छ भन्ने बारेमा कुन पुस्तकले सिकाउँछ (यूहन्ना १४:६)? __________ कुन पुस्तकले एक व्यक्तिलाई परमेश्वरको सामर्थ्य, महानता र महिमाको बारेमा बुद्धिमान बनाउन सक्छ (रोमी १:२०; भजनसंग्रह १९:१)? __________ कुन पुस्तकले एक व्यक्तिलाई मुक्तिका निम्ति बुद्धिमान बनाउन सक्छ (२ तिमोथी ३:१५)? __________ कुन पुस्तकले प्राणलाई बदल्न सक्छ (भजनसंग्रह १९:७)? __________ कुन पुस्तक टलेर जानेछ (मत्ती २४:३५)? __________ कुन पुस्तक कहिल्यै टल्नेछैन (मत्ती २४:३५)? __________ कुन पुस्तक सबै वैज्ञानिकहरू पढ्ने र अध्ययन गर्न गर्छन्? __________ कुन पुस्तक थोरै मात्र वैज्ञानिकहरू पढ्ने र अध्ययन गर्ने गर्छन्? __________ कुन पुस्तकले हामीलाई परमेश्वरको बारेमा जान्न र परमेश्वरलाई व्यक्तिगत रूपमा साँच्ची नै चिन्न मदत गर्न सक्छ? __________ |
सृष्टिपूजकहरूका बारेमा हामी के भनौं? जङ्गलका बीच बास गर्नेहरूका बारेमा नि? जसलाई थाहै छैन, जसले सुनेकै छैनन्, तिनीहरूको बारेमा नि? परमेश्वरको छक्कलाग्दो जवाफ यस प्रकार छ: उनीहरूलाई थाह छ (रोमी १:१९-२१), उनीहरूले सुनेका छन् (रोमी १०:१३-१८)! रोमी १०:१३-१८ मा पावलको तर्कलाई ध्यान दिनुहोस्। मान्छेलाई सुन्न खाँचो छ (पद १४); सुसमाचार प्रचारिनु पर्छ (पद १५); सुसमाचार विश्वास गरिनु पर्छ (पद १६-१७); तर पद १८ ले सबैले सुनेका छन् भन्ने कुरालाई जोड दिन्छ! परमेश्वरले कम्तिमा पहिलो पुस्तकद्वारा सबै मानिसहरूलाई भेटिसक्नुभयो। मन्छेलाई मुक्तिमा डोर्याउन पहिलो पुस्तक पर्याप्त छैन (यसका लागि दोश्रो पुस्तक चाहिन्छ) तर मान्छेलाई बहानारहित तुल्याउन पहिलो पुस्तक पर्याप्त छ (रोमी १:२०)। यदि मान्छेले पहिलो पुस्तकको सन्देशलाई इन्कार गर्दछ भने (रोमी १:२१), के उसलाई दोश्रो पुस्तक दिन परमेश्वर ऋणी हुनुहुन्छ होला? [यसो भनिए तापनि हामीले रोमी १:१४ लाई बिर्सनुहुन्न जहाँ "ऋणी" शब्द उल्लेखित छ। हरेक ख्रीष्टियनले सबै मानिसलाई सुसमाचार पुर्याउन आफू ऋणी भएको ठान्नुपर्दछ।] पार्थिव दृष्टान्त: एक धनी मानिसले एक गरिबलाई देख्छन् जससित आफू र आफ्ना परिवारका लागि खानेकुरा छैन। दया लागेर उसले २०० रूपैयाँ दिन्छ। थप पैसा दिने उसको इच्छा छ तर उसले के गर्दो रहेछ भनेर उसलाई २०० रूपैयाँ मात्र दिन्छ। त्यस गरिबले उक्त पैसा तत्कालै रक्सीमा उडाउँछ। यो जानेर त्यस धनीले उसलाई १००० रूपैयाँ दिनेछ होला? हामीलाई दिइएको कुरालाई हामीले सही सदुपयोग गरेनौं भने हामीलाई अरू नदिइन सक्छ।
"परमेश्वरलाई जानेर पनि" -- ज्ञान भएता पनि उनीहरूले के गरे? परमेश्वरले आफूलाई प्रकट गरिसक्नुभएको थियो (पद १९-२०), तर उनीहरूले उक्त प्रकाशलाई जानाजानी इन्कार गरे। याद गर्नुहोस्, बाइबलीय इतिहासअनुसार, प्रारम्भमा मानवजातिसित एकमात्र साँचो परमेश्वरको ज्ञान थियो: आदमसित एकमात्र साँचो परमेश्वरको ज्ञान थियो। नूह लगायत उनका परिवारसित एकमात्र साँचो परमेश्वरको ज्ञान थियो। तर पुस्ता-पुस्ता बित्दै जाने क्रममा उक्त ज्ञानको अपभ्रंश भयो, जसरी यस पदमा बयान गरिएको छ। आफूसित भएको ज्योतिलाई उनीहरूले इन्कार गरे र फलस्वरूप "तिनीहरूको मूर्ख हृदय _____________ भयो।"
"उहाँलाई…महिमा दिएनन्" -- उहाँ परमेश्वर हुनुभएकोले उहाँलाई आदर दिइनुपर्थ्यो तर तिनीहरूले सो गरेनन्।
"न ता धन्यवादी नै भए" -- परमेश्वरले जे गर्नुभएको छ त्यसका लागि उहाँलाई धन्यवाद दिइनुपर्थ्यो तर तिनीहरूले दिएनन्। उहाँलाई सृजनहारको रूपमा आदर गरिनुपर्थ्यो र साथै उहाँलाई पालनहारको (प्रेरित १७:२८) रूपमा धन्यवाद दिइनुपर्थ्यो तर तिनीहरू दुवै गर्नबाट चुके। तिनीहरूले दिनहुँ आफ्नो सृष्टिकर्ताको दयालु हातबाट खाए तर उहाँलाई धन्यवाद दिन इन्कार गरे (आजका मानिससित तुलना गर्नुहोस्)।
एक्काइसौं पदले मानिसको गिरावट भइरहेको देखाउँदछ (उँभो उक्लँदो प्रगति होइन, उँधो गिर्दो दुर्गति)। यो वास्तविकता विकासवादी सिद्धान्त (theory of evolution) को ठीक विपरित छ। [यसलाई धर्मको क्षेत्रमा लागु गर्न खोज्ने विकासवादीहरूले सिकाएअनुसार प्रारम्भमा मान्छे ईश्वरका बारेमा ज्यादै अविकसित धारणा राख्थे अर्थात् धेरैओटा ईश्वरहरू छन् भन्ने धारण (polytheism) बाट क्रमिक विकास भई एकमात्र ईश्वर छन् भन्ने विश्वास (monotheism) हुन आएको हो। बाइबलले यस परिकल्पनालाई अप्रमाणित तुल्याउँदछ। सुरुबाटै मान्छे (आदम, पछि नूह) सित एकमात्र साँचो परमेश्वरको ज्ञान थियो तर त्यसपश्चात् मान्छेका धारणाहरू अपभ्रंश भए।] मानवसित सुरुमा सृष्टिकर्ताको ज्ञान थियो तर त्यो ज्ञान इन्कार गरियो।
"बेकम्मा" = रित्तो; आफ्ना समझलाई परमेश्वरको योग्य विचारहरूले भर्नुको सट्टा तिनीहरू व्यर्थतातिर लागे।
"अँध्यारो भयो" -- तिनीहरूसित ज्योति थियो तर तिनीहरूले आफूसित भएको ज्योतिलाई इन्कार गरे र फलस्वरूप त्यहाँ केवल अन्धकार मात्र बाँकी रह्यो।
"मूर्ख" = निर्बुद्धिहरू, ज्यादै नासमझ व्यक्तिहरू। भजनसङ्ग्रह १४:१ सित तुलना गर्नुहोस् -- "मूर्खले मन-मनमा भनेको छ: परमेश्वर छैन।" सृष्टिले परमेश्वर हुनुहुन्छ भन्ने तथ्य प्रकट गर्दछ; तर मूर्खले आफ्नो मनमा भन्छ, "परमेश्वर छैन।" प्रशस्तै प्रमाणका बावजूद गरिएको अस्वीकार हो यो। यो त विश्वकै सर्वोत्कृष्ट कम्प्युटरको अवलोकन गरेर "यो कम्प्युटर कसैले बनाएको होइन; यो आफैं फुत्त आयो!" भन्नु जस्तै हो। कत्रो मूर्खता!
दृष्टान्त: निर्माता निर्मित वस्तुभन्दा ठूलो हुन्छ भनेर जान्न सक्न जङ्गलको आदिवासीको पनि बुद्धि छ। उसले के गर्छ? उसले एउटा रूख ढालेर त्यसको आधा भागले एउटा डुङ्गा बनाउँछ। डुङ्गाको निर्माता आफू भएकोले डुङ्गाभन्दा आफू नै ठूलो हुँ भनेर उसले जान्दछ। तर उसले त्यही रूखको बाँकी भागबाट एउटा मूर्ति बनाउँछ र त्यसलाई पूज्दछ! बरु उसको हृदयको चित्कार यस्तो हुनुपर्थ्यो, "म यस रूख लगायत यस विश्वलाई बनाउनुहुनेलाई चिन्न चाहन्छु!" के परमेश्वरले खोजी गर्ने हृदयलाई आदर गर्नुहुन्छ (यर्मिया २९:१३; हिब्रू ११:६)? आधुनिक मान्छे आफू बुद्धिमान् छु भन्ने दाबी गर्दै वास्तवमा मूर्ख नै भएको कुराको उदाहरणका लागि सेप्टेम्बर १९७६ को नेशनल जिओग्राफिक पत्रिका (National Geographic) को "कोषभित्रका अचम्मका संसारहरू" ("Awesome Worlds Within a Cell") भन्ने लेख पढ्न सकिन्छ। पृष्ठ ३५८ मा लेखकहरूले कोषको अत्यन्तै जटिल बनावटको बयान गर्दछन्। वास्तवमा "सरल एक-कोषीय जीव" भन्ने त्यस्तो कुनै कुरो पाइँदैन! सबैभन्दा सरल कोष समेत एउटा "माइक्रो ब्रह्माण्ड" ("a micro-universe") पो रहेछ (पृष्ठ ३५८)। अनि पृष्ठ ३८८ मा हामी पढ्छौं, "…यो नै जीवशास्त्रको प्रमुख समस्या हो। यस्तो जटिलपन (complexity) कसरी हुन आयो?…जीवशास्त्रीहरूले विज्ञानको यस गहिरो, आधारभूत रहस्यलाई अझसम्म बुझ्न सकेका छैनन् अर्थात् यी सब कुराको सुरु कसरी भयो?" त्यसपछि पृष्ठ ३९० मा "एक्सपर्टहरू" ले यसको जवाफ दिँदै पर्याप्त समय दिइयो भने असम्भव पनि सम्भव हुन्छ भन्दै सबै कुराको श्रेय सन्जोगलाई दिन्छन्! समय, सन्जोग र विकासवादी सिद्धान्त भए सबै कुरा सम्भव हुन्छन् अरे!!! "तिनीहरू मूर्ख बने" -- रोमी १:२१-२२।
"परिवर्तन गरे" भनी रूपान्तर गरिएको ग्रीक शब्दलाई "साटफेर गरे" (exchanged) भनी रूपान्तरण गर्न सकिन्छ। मान्छेले सुरुमा साँचो धर्म मान्थ्यो अर्थात् उसले महिमापूर्ण सृष्टिकर्ता परमेश्वरको आराधना गर्दथ्यो। मान्छे छिट्टै गिर्यो र सृष्टिपूजा गर्न थाल्यो (पद २५)। परमेश्वरले प्रस्टै, कडाइका साथ सृष्टिको पूजा गर्न निषेध गर्नुभएको छ -- प्रस्थान २०:४-५; व्यवस्था ४:१५-१९; ५:८-९।
रोमी १:२३ लाई भजनसङ्ग्रह १०६:२० र यर्मिया २:११ सित तुलना गर्दा पद २२ मा "मूर्ख बने" भनेर बताइएको कुरा हामीलाई किन अनौठो लाग्थ्यो र?
यस "विनिमय" वा साटफेरमा मान्छेलाई फाइदा भएन। मान्छेले अनिवनाशी परमेश्वरको महिमालाई परित्याग गर्यो र उसको हातमा बेकामको कुरा मात्र बाँकी रह्यो (एउटा असहाय, निरीह मूर्ति)। याद गर्नुहोस्, यो प्रगति (evolution) होइन तर दुर्गति (DEVOLUTION) थियो। मान्छेको उन्नति भइरहेको छैन, अवनति भइरहेको छ। मान्छे पछि हट्दैछ, अघि बढ्दै होइन। यो, मान्छे माथि, माथि, माथि उक्लने काम नभएर तल, तल, तल ओर्लने काम हो। यो, मान्छे झन् झन् राम्रो हुने काम होइन, तर झन् झन् खराब हुने काम हो। यो, मान्छे चुचुरोमा पुग्ने काम होइन तर गहिराइमा डुब्ने काम हो। रोमीको पहिलो अध्यायले सामान्यतयाः सिकाइने कथित "धर्मको विकास" (evolution of religion) को ठीक विपरित कुरा बताउँछ। मान्छे क्रमिक रूपमा एक ईश्वरवाद (monotheism) को शिखरमा पुगेको होइन। मान्छे त्यहाँबाट सुरु भएर तल गिरेको हो।
होशे ४:१ लाई विचार गर्नुहोस्। मानिसहरू किन साँचो परमेश्वरको ज्ञानदेखि बिमुख छन्? के तिनीहरूसित यो ज्ञान कहिल्यै थिएन कि तिनीहरूसित यो ज्ञान भएर पनि त्यसलाई तिनीहरूले इन्कार गरेका थिए? होशे ४:६ ले यसको जवाफ प्रस्टै दिएको छ (होशेमा इस्राएलको सम्बन्धमा यो कुरा साँचो थियो भने यही सिद्धान्त रोमीको पहिलो अध्यायमा प्रस्टै पाउँदछौं)।
परमेश्वरबाटको परित्याग (नयाँ खण्डको परिचय)
यस खण्डमा तीन-तीन पटक हामी पढ्छौं, "परमेश्वरले त्यागिदिनुभयो/सुम्पिदिनुभयो" (रोमी १:२४,२६,२८)। प्रत्येक पटक उही ग्रीक शब्द प्रयोग गरिएको छ जसको अर्थ "हस्तान्तरण गर्नु, सुम्पिनु, कुनै व्यक्तिलाई छोडिदिनु" भन्ने हुन्छ। यहूदाले येशूलाई सुम्पिदिए वा धोका दिए भनेर बताउन यही शब्द प्रयोग गरिएको छ (मत्ती २६:२१,२३,२४; २७:३ आदि)। यहाँ उक्त शब्द परमेश्वरले मानिसहरूलाई उनीहरूका आफ्नै अभिलाषाहरूमा सुम्पिदिनुभएको कुरा बताउन प्रयोग गरिएको छ। भजनसङ्ग्रह ८१:१२ सित दाँज्नुहोस् -- "यसकारण मैले उनीहरूलाई उनीहरूकै हृदयको अभिलाषामा छोडिदिएँ; र उनीहरू आफ्नै सल्लाहअनुसार हिँडे।" परमेश्वरले उनीहरूलाई इन्साफस्वरूप त्यागिदिनुभयो, उनीहरूकै पापमय मार्गमा छोडिदिनुभयो। उनीहरूले परमेश्वरलाई त्यागेका हुनाले परमेश्वरले उनीहरूलाई त्यागिदिनुभयो। परमेश्वरले इन्साफस्वरूप उनीहरूलाई परित्याग गर्नुभयो, उनीहरूलाई उनीहरूकै अभिलाषाहरू अर्थात् कुकामनाहरूमै छोडिदिनुभयो, (कुकुरलाई त्यसको सिक्री फुकालेर छोडिदिएजस्तै) लगाम हटाइदिनुभयो र पापमय मानिसलाई उसले चाहेजस्तै गर्न दिनुभयो।
"यसकारण" -- यसले हामीलाई यसभन्दा अघिका पदहरू (२१-२३) लाई औंल्याउँछन्। परमेश्वरले किन उनीहरूलाई त्यागिदिनुभयो? किनभने उनीहरूले परमेश्वरलाई त्यागे र उहाँको महिमालाई एउटा निर्जीव मूर्तिसित साटे। भजनसङ्ग्रह ११५ मा मूर्तिपूजाको मूर्खताको बारेमा लेखिएको चित्रात्मक व्याख्या पढ्नुहोस्। मूर्ति बनाउनेहरू मूर्तिजस्तै लाटा हुन्छन्!
"अशुद्धता" -- उनीहरूको चाहना यही थियो त्यसैले परमेश्वरले उनीहरूलाई उनीहरूको रहर पूरा गर्न दिनुभयो। दृष्टान्त: सुङ्गुरलाई सफासित धुनुहोस्, प्रदर्शनीका लागि लुगासमेत लगाइदिनुहोस्, तर त्यसलाई छोडिदिएकै घडी त्यो सिधै हिलोमा लडिबुडी गर्न जानेछ। स्वभावैले त्यसले अशुद्धता मन पराउँछ। मानिसहरू आफ्नो पाप मन पराउँछन् (यूहन्ना ३:१९ सित तुलना गर्नुहोस्)।
"आफ्ना शरीरहरूलाई आपसमा अनादर गरून् भनेर" -- यसलाई पछि रोमी १:२६-२७ को सन्दर्भमा व्याख्या गरिनेछ।
"साटे" -- सट्टापट्टा गरे। सत्यतालाई नअँगालीकन उनीहरूले त्यसलाई झूटको सट्टामा त्यागिदिए।
"सत्य" = सृष्टिकर्ता मात्र उपासना गरिन योग्य हुनुहुन्छ!
"झूट" = सृष्टि उपासना गरिन योग्य छ। मत्ती ४:९ मा शैतानले येशूलाई यस झूटले परीक्षा गर्यो ["भुइँमा घोप्टो परेर म (एउटा सृष्टिलाई) लाई दण्डवत् गर्नु"]। मत्ती ४:१० मा येशूले शैतानलाई सत्यले प्रत्युत्तर दिनुभयो ["तिमीले आफ्ना परमेश्वर प्रभुलाई दण्डवत् गर, र उहाँकै मात्र सेवा गर" -- परमेश्वर मात्र उपासना गरिन योग्य हुनुहुन्छ]।
यसलाई यहोवाका साक्षी नाम गरेको झूटा समूह ("कल्ट") को शिक्षासित तुलना गर्नुहोस्। उनीहरूको शिक्षाअनुसार येशू केवल एक सृष्टि मात्र हुन् [एक उच्च स्वर्गदूत जसलाई परमेश्वरले शुरुमा सृष्टि गर्नुभयो र जसद्वारा परमेश्वरले अन्य सबै थोक सृष्टि गर्नुभयो]। यहाँ यहोवाका साक्षीहरूलाई एउटा ठूलो समस्या छ। यदि ख्रीष्ट उनीहरूले भनेजस्तै एक सृष्टि मात्र हुनुहुन्छ भने र यदि सृष्टि-पूजा परमेश्वरले दण्डनीय कार्य हो भनी भन्नुभएको छ (जसरी रोमी १:२५ जस्ता बाइबलका खण्डमा पाइन्छ) भने, ख्रीष्टलाई उपासना गर्ने कामलाई किन स्वीकार गरिन्छ र अझ यसो गर्न आज्ञा समेत किन दिइएको छ? निम्न कुराहरूलाई विचार गर्नुहोस्:
निष्कर्ष: यहोवाका साक्षीहरू येशू वास्तवमा को हुनुहुन्छ भन्ने सवालमा ठूलो भूलमा परेका छन्। उहाँ दण्डवत् गरिन योग्य सृष्टिकर्ता-परमेश्वर हुनुहुन्छ भनेर बाइबलले सिकाउँछ। जसरी रोमी ९:५ मा बताइएको छ, ख्रीष्ट त सर्वोच्च, सदासर्वदै धन्य परमेश्वर हुनुहुन्छ (यहोवाका साक्षीहरू यस पदमा पद चिन्ह घुसाएर यसको अर्थलाई बदल्ने प्रयास गर्दछन्, र कतिपय अनुवादहरूले पनि त्यसै गर्ने प्रयास गरेका छन्। यस पदलाई रोमी अध्याय ९ मा विस्तृतरूपमा हेरिनेछ)। |
रोमी १:२५ मा पावल आफैले सृष्टिकर्ताको उपासना गर्दथे भन्ने कुरालाई प्रस्टै व्यक्त गर्दछन्! यस पदमा उनको हृदयबाट प्रशंसाको उद्गार प्रस्फुटित हुन्छ (झण्डै-झण्डै रोमी ९:५ को जस्तै)। यहाँ सृष्टिकर्ताको प्रशंसा गर्दाहुँदी पावलले त्रिएक परमेश्वरको विशेष गरी दोस्रो व्यक्ति (प्रभु येशू ख्रीष्ट) को सोँच राखेको हुन सक्छ (येशू ख्रीष्टलाई सृष्टिकर्ताको रूपमा प्रस्तुत गर्ने ती खण्डहरूलाई हेर्नुहोस्: कलस्सी १:१३-१६; यूहन्ना १:१-३; एफेसी ३:९; हिब्रू १:२; १ कोरिन्थी ८:६)।
रोमी १:२५ मा थप टिप्पणी: नयाँ नियममा अर्को पनि खण्डले यहाँजस्तै तोकेर "झूट" को उल्लेख गरेको छ। त्यो हो २ थेस्सलोनिकी २:११। सन्दर्भले उक्त "झूट" रोमी १:२५ कै झूटको कुरा भएको देखाउँछ अर्थात् सृष्टि उपासना गरिन योग्य छ भन्ने झूट। सृष्टि-पूजा चौथो पदमा उल्लेख भएको कुरालाई ध्यान दिनुहोला। पापको पुरुष (जो केवल एक मानिस मात्र हुन्) ले आफूलाई परमेश्वरकै स्थानमा स्थापना गर्नेछन् र आफूलाई उपासना गरिनुपर्ने व्यक्तिको रुफमा प्रस्तुत गर्नेछन् (यस भविष्यवाणीको अझ विस्तृत बयान पढ्नलाई प्रकाश १३ मा हेर्नुहोला)। साँच्चै, उनले त्यस प्रकारको उपासना माग गर्नेछन् र त्यसो गर्न इन्कार गर्नेहरूलाई दण्ड दिनेछन्।
यी मानिसहरूले सत्यलाई इन्कार गरे र झूटलाई अँगाले। तिनीहरूले सत्यलाई परित्याग गरे, त्यसैले परमेश्वरले तिनीहरूलाई परित्याग गर्नुभयो। तिनीहरूले परमेश्वरलाई त्यागे, त्यसैले परमेश्वरले तिनीहरूलाई त्यागिदिनुभयो (तिनीहरूका आफ्नै अभिलाषाहरू र कुकामनाहरूमा सुम्पिदिनुभयो)।
"कामनाहरू" = अभिलाषाहरू
"नीच" = अनादरणीय, अपमानजनक, लज्जाजनक
"स्त्रीहरू" = स्वास्नीमान्छेलाई जनाउने विशिष्ट शब्द
"साटे" = सट्टापट्टा गर्नु (तिनीहरूले गरेको साटफेर नोक्सानीपूर्ण थियो; आफ्ना शरीरहरूलाई परमेश्वरको इच्छाबमोजिम प्रयोग गर्नुको सट्टा विकृत र "अस्वाभाविक" प्रकारले दुरुपयोग गरे)।
"अस्वाभाविक" = प्रकृतिको विपरित, पथभ्रष्ट, अनुचित
"पुरुषहरू" = लोग्नेमान्छेलाई जनाउने विशिष्ट शब्द
"स्वाभाविक" = जुन कुरा प्रकृतिअनुरूप छ, परमेश्वरको नजरमा उचित र ठीक छ (मानदण्ड निर्धारण गर्ने व्यक्तिचाहिँ परमेश्वर नै हुनुहुन्छ)।
"जले" = तिनीहरू कामवासनाले उत्तेजित भए; कुइच्छाले तिनीहरूलाई भत्भत् पोल्यो (यसले प्रेम नभएर अभिलाषालाई जनाउँदछ)
"परुषहरूले पुरुषहरूसित" = समलिङ्गता
"शर्मलाग्दो" = लज्जापूर्ण
"पाए" = तिनीहरूले गरेका कामबापत जे पाउनुपर्ने त्यही पाए
"दण्ड" = प्रतिफल, सजाय
"उचित" = आवश्यक, अपरिहार्य (यस प्रकारको पापलाई दण्ड नदिई हुँदैन)
|
समलिङ्गताबारे बाइबलको शिक्षा
"अनि तिमीहरूमध्ये कतिजना यस्तै थियौ" -- कतिपय करिन्थीहरू विगतमा
समलिङ्गीहरू थिए तर ख्रीष्टले आमूल परिवर्तन ल्याउनुभएको थियो।
एउटा समलिङगीले मुक्ति पाउन सक्छ र परिवर्तित हुन सक्छ! परमेश्वरको
अनुग्रहले ऊ यस पापबाट पूर्णरूपले छुटकारा पाउन सक्छ।
समलिङ्गता वंशाणुको प्रतिफल भएको भए, अर्थात् जन्मबाटै निर्धारित
झुकाव भएको भए, परिवर्तनको त्यहाँ कुनै आशा हुने थिएन। समलिङ्गता
कुनै एक प्रकारको रोग भएको भए, परिवर्तनको त्यहाँ कुनै आशा हुने
थिएन किनकि त्यस्तो रोगलाई कुनै चक्की, औषधी वा शल्यक्रियाको सीप
चल्ने थिएन। समलिङ्गता एउटा पाप हो भने चाहिँ त्यहाँ पूरै आशा छ।
किनकि पापको समाधानको उपाय त्यहाँ छ अर्थात् हाम्रा धन्य
मुक्तिदाता प्रभु येशू ख्रीष्टमा। एक समलिङ्गीको जीवनमा हुन सक्ने
सबैभन्दा ठूलो कुरो ख्रीष्टको सुसमाचारसितको उसको जम्काभेट हो।
परमेश्वरको मानदण्ड र नियमभित्र रहनेहरूलाई त्यहाँ ठूलो आशिष छ
(हिब्रू १३:४ लाई हितोपदेश ५:१८-१९ सित तुलना गर्नुहोस्)।
परमेश्वरका मानदण्डलाई उल्लङ्घन गर्ने र उहाँले स्थापना गर्नुभएका
यौन सम्बन्धी नियमहरूलाई उल्लङ्घन गर्नेहरूलाई जीवनमा सुख हुँदैन र
आखिरमा उनीहरू परमेश्वरको दण्डमुनि पर्नेछन् (हिब्रू १३:४ लाई
हितोपदेश ५:२० र प्रस्थान २०:१४ मा उल्लेखित सातौं आज्ञासित तुलना
गर्नुहोस्)।
|
"परमेश्वरले तिनीहरूलाई सुम्पिदिनुभयो" वा त्यागिदिनुभयो भन्ने यो तेस्रो उल्लेख हो। मूल लेखोट (ग्रीक) मा यस वाक्यभित्र शब्दको खेल (pun, श्लेषोक्ति) भेटिन्छ जसलाई नेपालीमा यसरी रूपान्तरण गर्न सकिन्छ: "तिनीहरूले परमेश्वरको ज्ञानलाई भ्रष्ट पारे त्यसैले परमेश्वरले तिनीहरूलाई भ्रष्ट भएको मनको वशमा सुम्पिदिनुभयो"; अथवा, "तिनीहरूले परमेश्वरको ज्ञानलाई फ्याँकिदिए गरिदिए, त्यसैले परमेश्वरले तिनीहरूलाई एउटा फ्याँकिएको मनको वशमा सुम्पिदिनुभयो!" तिनीहरूले परमेश्वरको ज्ञानलाई त्यागिदिए, त्यसैले परमेश्वरले तिनीहरूलाई त्यागिदिनुभयो। उनीहरूले आफ्नै भ्रष्ट मनका आवेगलाई पछ्याऊन् र आफ्नै भ्रष्ट हृदयका कामनाहरूलाई पछ्याऊन् भनी मानिसहरूलाई त्यागिदिनु भनेको एक डरलाग्दो न्याय हो! "यसकारण मैले उनीहरूलाई उनीहरूकै हृदयको अभिलाषामा छोडिदिएँ; र उनीहरू आफ्नै सल्लाहहरूअनुसार हिँडे" (भजनसङ्ग्रह ८१:१२)।
पावलले पद २९-३१ मा दुष्कर्महरूको एउटा ज्यादै डरलाग्दो र गम्भीर सूची प्रस्तुत गर्दछन्। उनले यहाँ ती मानिसका अपराधहरूको भयानक तालिका प्रस्तुत गर्दछन्। यसलाई बास्तवमा "मनुष्य हृदयको ईश्वरीय एक्स-रे" नै मान्न सकिन्छ (यर्मिया १७:९ र मर्कूस ७:२१-२३ मा उल्लेखित प्रभु येशूका वचनलाई तुलना गर्नुहोस्)। यस सूचीलाई विचारपूर्वक हेर्दा आफ्नै हृदयलाई जाँच्नुहोस्। प्रत्येक वर्णन पढ्दै जाँदा आफैंलाई प्रश्न गर्नुहोस्, "प्रभु, के त्यो म हुँ? के म यसमा दोषी भएको छु? यसले मेरै बयान गरिरहेको त छैन?"
| "सबै प्रकारका अधर्मले भरपूर" -- कुनै पनि खराब विचार,
बोली, कार्यकलाप वा जीवन शैलीलाई जनाउने शब्द "सबै प्रकारका व्यभिचारले भरपूर" -- कुनै-कुनै ग्रीक पाण्डुलिपिहरूमा यो शब्द छुटेको छ त्यसैले कतिपय अनुवादहरूमा यो शब्द पाइँदैन। यस शब्दले हरेक अनैतिक यौन सम्बन्धलाई जनाउँदछ (परमेश्वरले उत्पत्ति २ मा स्थापना गर्नुभएकोसित नमिल्ने जुनसुकै अभ्यास)। "सबै प्रकारका दुष्टताले भरपूर" -- दुष्टता, खराबी; जुन कुरो खराब छ त्यही गर्न मन पराउनेहरू "सबै प्रकारका लोभले भरपूर" -- अक्षरश: "अझ धेरै हुनु", झन् झन् धेरै, झन् झन् धेरैको उत्कट अभिलाषा हुनु। लोभको विपरित कुरो सन्तुष्ट र तृप्त। यसर्थ आफूसँग जे छ त्यसमा असन्तुष्ट रहेका लालची व्यक्ति "सबै प्रकारका शत्रुभावले भरपूर" -- दुष्टता, भ्रष्टता, खराबी जनाउने शब्द "डाहाले भरपूर" -- ईर्ष्या, डाहा (अर्काको कुरोमाथि) "हत्याले भरपूर" -- स्मरण होस्, घृणा र रिस गर्दा हामी "मनको हत्या" को दोषी हुन्छौं भनी येशूले भन्नुभयो (मत्ती ५:२१-२२)। "झगडाले भरपूर" -- कलह, विवाद, मतभेद, रगडा-झगडा गर्ने प्रवृत्तिको "छलले भरपूर" -- दाउपेच खेल्ने, चालबाजी गर्ने, छलकपट गर्ने, धोखा दिने "दुष्ट विचारले भरपूर" -- खराब मिजास, नराम्रो बानी-बेहोरा वा चरित्र, सबैभन्दा राम्रोलाई समेत नराम्रो बनाउने "कान फुक्नेहरू" -- लुकीछिपी अर्काको बारेमा कानेखुसी गर्नु (ग्रीकमा प्सीथुरिस्टेस्, जसको उच्चारण गर्दा समेत कानेखुसीको भान मिल्छ), अर्काको बदनाम गर्ने, निराधार कुरा आदि फैलाउने "निन्दा गर्नेहरू" -- ग्रीकमा यसको अक्षरश: अर्थ "विरोधमा बोल्नु" भन्ने हुन्छ, अनुपस्थित व्यक्तिका बारेमा छुच्चो वा खराब कुरा गर्नु (जो उपस्थित भएका भए ती कदापि भनिँदैनथे), खुलेआम लाञ्छना, झूटा दोष लगाउनु "परमेश्वरलाई घृणा गर्नेहरू" -- परमेश्वरको नाम लिँदाको तरिकाबाट समेत देखिने कुरो "अनादर गर्नेहरू" -- हिंसात्मक, अरूमाथि चोट पुर्याउने व्यक्ति (१ तिमोथी १:१३) "घमण्डी" -- अहङ्कारी, अक्षरश: "आफू अरूभन्दा ठूलो देखिनु, आफूलाई अरूभन्दा ठूलो देखाउनु" "सेखीबाजहरू" -- धाक देखाउनेहरू "खराब-खराब कुरा जन्माउनेहरू" -- अब कुनचाहिँ अर्को दुष्कर्म गरौं भनी उनीहरू युक्ति रच्छन्, योजना गर्छन्। "बाबुआमाको आज्ञा नमान्नेहरू" -- यस सूचीमा यो बुँदा असुहाउँदो देखिएला, तर परमेश्वरको नजरमा यो कुरो कति गम्भीर छ भन्ने कुरा यसले देखाउँछ। हामीमध्ये कसले यस कुरामा आफू कहिल्यै दोषी नभएको दाबी गर्न सक्छ र? "समझ नभएकाहरू" -- समझ रित्तो भएका (परमेश्वरको कुरा नसुनेकाले मूर्ख भएका), बोधा, आत्मिक अन्धा "करार भङ्ग गर्नेहरू" -- विश्वासघाती, उनीहरू आफ्नो वचन राख्दैनन् "स्वाभाविक माया नभएकाहरू" -- प्रेम नगर्ने, कठोर हृदय भएको, आफ्ना नानीहरूप्रति बाबुआमा हुने, दाजु-भाइ, दिदी-बहिनीबीच आदि हुने स्वाभाविक माया नभएको "मेल गर्न नचाहनेहरू" -- क्षमा नदिने (कुनै-कुनै ग्रीक पाण्डुलिपिमा यो छुटेको छ त्यसैले कतिपय अनुवादहरूमा यो शब्द पाइँदैन) "दया नभएकाहरू" -- कुनै दया-माया नदेखाउने, निष्ठुर, निर्दयी
|
चीनको क्यान्टनका डा. आर एच ग्रभ्स्ले एक चिनियाँले यी पदहरू पढेपछि यो बयान पावलले नभएर चीनसित परिचित आधुनिक मिसनरीले लेखेको हुनुपर्छ भन्ने धारण व्यक्त गरेको कुरा बताएका छन्। यस सूचीले चिनियाँहरूको दुरुस्तै बयान गरेको भेटियो!
व्यक्तिगत प्रश्न: के माथिका कुनै शब्दले तपाईंको बयान गरेको छ कि? (यी दुष्कर्म भेट्टाउन हामी पक्कै पनि चीनसम्म जानैपर्दैन!)। समग्रमा यी शब्दले मानिसको पूर्ण भ्रष्टताको विस्तृत चित्र कोरेको छ। "हाय! म कति अभागी (wretched) मानिस!"
"जानी-जानीकन पनि" = पूरै जानीकन
"परमेश्वरको न्याय" = अक्षरश: "न्यायोचित माग, कानूनी आदेश, फैसला"
फैसला = तिमी दोषी छौ!
दण्डाज्ञा =
तिमी मृत्युदण्डको योग्य छौ! (यो तिनीहरू जान्दछन् पनि)
"यस्ता-यस्ता काम गर्नेहरू" -- कस्ता कामहरू? पद २९-३१ मा सूचित कामहरू।
"लायकका" = (बराबर रहेको तराजुको विचार गर्नुहोस्) दण्डचाहिँ अपराधको बराबर हुनुपर्छ; जति अपराध छ त्यति नै दण्ड पनि हुनुपर्छ।
अपराध = पद २९-३१ हेर्नुहोस्
दण्ड = "मृत्युदण्डको लायकका हुन्छन्" (पद ३२; साथै रोमी ५:१२ र ६:२३)
द्रष्टब्य: सुसमाचारको शुभ-खबर यही हो कि येशू ख्रीष्टले उक्त दण्ड भोगिदिनुभयो जब उहाँ क्रूसमा मर्नुभयो -- रोमी ५:६-९ पढ्नुहोस्। "भक्तिहीन" भन्ने शब्दको विचार गर्ने क्रममा रोमी १:१८ लाई रोमी ५:६ सित तुलना गर्नुहोस्। "क्रोध" भन्ने शब्दको विचार गर्ने क्रममा रोमी १:१८ लाई रोमी ५:९ सित तुलना गर्नुहोस्।
सृष्टिपूजक तथा मूर्तिपूजकहरूले परमेश्वरको न्यालाई राम्ररी जानेका छन् भन्ने कुराको प्रमाण प्रेरित २८:१-४ मा पाइन्छ। हत्याराहरू मृत्युदण्ड पाउन लायकका हुन्छन् भनी ती आदिवासीहरू जान्दथे! (यद्यपि उक्त घटनामा उनीहरू पावलकै सम्बन्धमा भने भूलमा परेका थिए)।
पद ३२ को आखिरी भागको विचार गर्नुहोस्। तिनीहरू आफैं यी अपराधहरू गर्ने गर्छन् (त्यस्ता कामले मृत्युदण्ड ल्याउँछ भन्ने जानेर पनि) र साथै यस्ता काम गर्नेहरूसँग "खुशी पनि हुन्छन्" अर्थात् तिनीहरू यस्ता काम गर्नेहरूको तारिफ गर्छन्, उनीहरूलाई बधाइ दिन्छन्। तिनीहरू पापमा खुशी हुन्छन् र साथै पापीहरूको सङ्गतमा पनि खुशी हुन्छन्!
|
रोमी अध्याय १ को सारांश
रोमी अध्याय १ का चाबी शब्दहरू:
स्मरण रहोस्, तिनीहरूले पहिला परमेश्वलाई परित्याग गरेका हुन्! |
|
पालुङ्ग चर्च |