पाठ ९

नम्र दास

(यूहन्ना १२-१३)

मर्कूस १०:४३-४५ मा प्रभु येशूले आफैलाई एक उदाहरणीय असल दासको रुपमा प्रस्तुत गर्नुभयो:

(४३)  “तर तिमीहरूका बीचमा चाहिँ यस्तो हुनेछैन, तर तिमीहरूका बीचमा जो ठूलो हुने इच्छा गर्दछ ऊचाहिँ तिमीहरूको सेवक (दास) बनोस्।

(४४)  र तिमीहरूमा जो पहिला हुने इच्छा गदर्छ, ऊचाहिँ सबैको __________ बनोस्।

(४५)  किनभने ___________का ________ पनि सेवा गरिनलाई होइन, तर सेवा गर्न र धेरैको सट्टामा छुटकाराको दामको निम्ति आफ्नो प्राण _________ आए।” येशू सेवा गरिनलाई होइन तर सेवा गर्न आउनुभयो! उहाँ पाउनलाई होइन, दिनलाई आउनुभयो। हामी बाँच्न सकौं उहाँले हाम्रो सेवास्वरूप आफ्नो प्राण दिनुभयो।

यही सत्यता फिलिप्पी २:८ मा पनि उल्लेख छः

“अनि मानिसजस्तो रुपमा प्रकट भएर उहाँले आफूलाई _________ तुल्याउनुभयो; र ________सम्म, अँ, ________को   मृत्युसम्म आज्ञाकारी हुनुभयो।”

यूहन्ना १२ र १३ अध्यायहरूमा हाम्रा निम्ति आफ्नो प्राण दिन आउनुभएका यस नम्र दासको बारेमा सिक्न चाहन्छौं:

यूहन्ना १२ र १३ अध्यायको रुपरेखा

  1. नम्र दास दफनका लागि अभिषेक गरिन्छन् (यूहन्ना १२:१-११)

  2. नम्र दास यरुशलेमको शहरभित्र प्रवेश गर्दछन् (यूहन्ना १२:१२-१९)

  3. नम्र दास आफ्नो मृत्युको घोषणा गर्दछन् (यूहन्ना १२:२०-५)

  4. नम्र दास चेलाहरूका पाउ धुन्छन् (यूहन्ना १३:१-१७)

  5. नम्र दास आफू यहूदाद्वारा पक्राइने र पत्रुसद्वारा इन्कार गरिने कुराको भविष्यवाणी गर्दछन् (यूहन्ना १३:१८-३८)

नम्र दास दफनका लागि अभिषेक गरिन्छन्

येशू फेरि लाजरस बस्ने गाउँ, बेथानीमा फर्कनुभयो (यूहन्ना १२:१)। उहाँ क्रूसमा मर्नुभन्दा करिब एक हप्‍ता अगाडिको कुरो हो।

लाजरसकी दिदी मार्थाले खाना खुवाइन् (यूहन्ना १२:२)। यहाँ खाना खानेहरूमा मरियम (मार्थाकी बहिनी), येशू, बाह्र चेलाहरू र शिमोन नाउँको एकजना मानिस (मर्कूस १४:३ मा हेर्नुहोस्) बाहेक अरुहरू पनि थिए। खानलाई त्यहाँ अर्को कुन मानिस पनि उपस्थित थिए? (यूहन्ना १२:२)? ____________। कल्पना गर्नुहोस् त! मरेर चिहानमा चार-चार दिनसम्म गाडिएका मान्छेसित बसेर खाना खानु कस्तो अनुभव हुन्थ्यो होला!

अब हामी मरियमले येशूका लागि गरेकी एउटा विशेष कुराको बारेमा हेर्न लाग्दैछौं। येशूप्रति उनको प्रेमको कारण उनले जे गरिन्, त्यसलाई कहिल्यै बिर्सिएको छैन। यस कुरालाई तीन-तीन ठाउँमा लेखिएको छ (यूहन्ना १२:३-८, मत्ती २६:६-१३ र मर्कूस १४:३-९)। जहाँ जहाँ बाइबल प्रचारिन्छ, त्यहाँ मानिसहरूले मरियम र उनले येशूका निम्ति गरेकी त्यस कार्यको बारेमा सिक्नेछन् (मर्कूस १४:९ मा हेर्नुहोस)।

नयाँ नियममा “मरियम” नाम भएका विभिन्न स्त्रीहरू छन्। कुनचाहिँ मरियमले प्रभु येशूलाई तेलले अभिषेक गरिदिएकी हुन्? यसको उत्तर यूहन्ना ११:१-२ मा छ (यूहन्ना ११:३२ सँग पनि तुलना गर्नुहोस्)। यिनीचाहिँ ____________ शहरमा बस्थिन् र तिनकी दिदीको नाउँ _________ थियो र भाइको नाउँ _____________ थियो। लूका १०:३८-४२ मा उल्लेख भएकी मरियम यिनी नै हुन्।

मरियमको प्रेमरूपी कार्यको बयान यूहन्ना १२:३ मा पाइन्छ। मरियमसँग एक “माना” साह्रै किम्मती (महँगो) सुगन्धित तेल अर्थात् अत्तर थियो। (“माना” लाई ग्रीकमा “लित्रा” भनिएको छ जुनचाहिँ करिब ३७५ ग्राम जति हुँदो हो)। यो अत्तर केको थियो? हामीलाई बताइएको छ, यो एकदमै शुद्ध वा सक्कली जटामसीको तेल थियो। यो जटामसी तिब्बत र भारतको बीचको उच्च हिमाली खर्कहरूमा उम्रने बोटबाट ल्याइन्थ्यो। यो त्यति विकट ठाउँमा मात्रै पाइने र यति टाढादेखि उँटमा लादेर प्यालेस्टाइनसम्म पुर्‍याइनुपर्ने भएको हुनाले यो साह्रै नै किम्मती थियो।

यहूदाको सोचाइअनुसार त्यो अत्तर ______________ दीनारमा बेच्न सकिन्थ्यो (यूहन्ना १२:४-५। यो त ठूलै रकम थियो। दीनारको भाउ कति हुन्छ भनेर हामीले यूहन्ना ६ अध्यायको अध्ययन गर्दा हेरिसकेका छौं। एकजना सरदर ज्यालादारीले एक दिन काम गरे बापत पाउने ज्याला एक दिनार हुन्थ्यो (मत्ती २०:१-१६) जुनचाहिँ एउटा चाँदीको सिक्का थियो। तसर्थ, यस्ता तीन सयओटा चाँदीका सिक्काहरू कमाउन एकजना ज्यालादारीलाई _____________ दिन (करिब एक बर्ष!) लाग्छ। यसको मतलब मरियमको जतिको जटामसीको तेल किन्न एउटा सरदर ज्यालादारीलाई उसको करिब एक बर्ष जतिको कमाइको आवश्यकता पर्छ।

यस अत्तरको साह्रै मीठो बासना थियो। हामीलाई बताइएको छ, भुडुल्को खोलिँदा तेलको __________ले ________ भरियो (यूहन्ना १२:३)।

मरियमले गरेकी कामलाई एकछिन कल्पना गरौं। येशू टेबिलनेरको ओछ्यानमा   पस्रिरहनु भएको थियो। अचानक मरियमले आफ्नो हातमा लिइरहेकी भुँडुल्को फुटाउँछिन् र यसको मगमग बास्नादार तेललाई उनले येशूमाथि खन्याइ दिन्छिन्। मत्ती र मर्कूसका अनुसार उनले त्यो उहाँको शिरमा खन्याइदिएकी थिइन् (मत्ती २६:७ र मर्कूस १४:३) र यूहन्नाका अनुसार उनले त्यो उहाँको पाउमा घसिदिएकी थिइन् (यूहन्ना १२:३)। यी दुवै भनाइहरू साँचा हुन्। अत्तर येशूको शरीरमाथि खन्याइएको थियो भनेर मत्ती र मर्कूसले प्रस्टै जनाएका छन्। उदाहरणको लागि हेरौं मत्ती २६:१ मा: “उसले मेरो ________मा यो सुगन्घित तेल खन्याई।” पूरै शरीर अर्थात् शिर, काँध, पाखुरा अनि पाउलाई समेत पुग्ने पर्याप्त अत्तर त्यहाँ थियो भन्ने बुझिन्छ। पाउहरूमा सुगन्घित तेल यति प्रशस्त भयो कि त्यसलाई उनले आफ्नै __________ले पुछिन् (यूहन्ना १२:३)।

मरियमले येशूप्रति आफ्नो प्रेम यसरी देखाएकीमा के यहूदा इस्करयोती खुशी थियो (यूहन्ना १२:४-५)? ____________। यहूदा र कतिपय अन्य चेलाहरूले येशूको पूरै शरीर भरि यसरी अत्तर खन्याइएको देखेर तिनीहरूले सोचे, “यस्तो बरबादी किन!” (मर्कूस १४:४-५ सँग दाँज्नुहोस्)। यहूदाले चाहिँ आफ्नो मुख फोरिहाल्यो र भन्यो, यो सुगन्धित तेल (अत्तर) बेचेर पैसाचाहिँ ____________लाई दिइएको भए हुन्थ्यो (यूहन्ना १२:४-५)। के यहूदा साँच्चै नै गरिबहरूको वास्ता गर्थ्यो (यूहन्ना २:६)? __________। यहूदाले खास कसको मात्र वास्ता गर्थ्यो? __________। यहूदा चेलाहरूको समूहका “कोषाध्यक्ष” थियो। पैसाको थैली उसैसँग रहन्थ्यो र बाइबलले बताउँछ त्यो एउटा चो ____ थियो (यूहन्ना १२:६)। के येशू उसको दुष्ट हृदयलाई जान्नुहुन्थ्यो? ______________। मरियम कति उदार थिइन् तर यहूदा भने कति लोभी!

के येशूले मरियमको कामलाई मूर्खतापूर्ण पैसाको बरबादी ठान्नुभयो? (यूहन्ना १२:७-८)? ______________। येशूको भनाइअनुसार मरियमले जे गरेकी थिइन् त्यो ज्यादै अर्थपूर्ण थियो। उनले येशूको शरीरलाई दफनका निम्ति तेल खनाएर अभिषेक गरेकी थिइन्। नयाँ नियमका समयहरूमा मृत शरीरमा सुगन्धित मसलाहरू र अत्तरहरू घसिदिने यहूदीहरूको चलनै थियो। पछिबाट समय नहुने भएको हुनाले मरियमले यो काम उहाँको मुत्यु अघि नै गरेकी हुन् भनेर येशूले बताउनुभयो। हुन पनि, पछिबाट स्त्रीहरू उहाँको शरीरलाई तेलले अभिषेक गर्नलाई येशूको चिहानमा आउँदा (मर्कूस १६:१) उनीहरूले उहाँको शरीरलाई त्यहाँ भेट्टाएनन् (मर्कूस १६:६)। उहाँको शरीरलाई मरियमले बाहेक कसैले अभिषेक गर्न पाएन!

यूहन्ना १२:८ मा येशू आफ्ना चेलाहरूसँग बातचित गर्दैहुनुहुन्थ्यो। तिनीहरूका साथमा को सोधैंभरि हुनेछन्? ________________। अनि तिनीहरूका साथमा कोचाहिँ सधैंभरि हुनुहुनेछैन? ____________। गरिबहरूलाई सहायता गर्ने अवसर सधैं नै छ भनेर येशू उनीहरूलाई बताउँदैहुनुहुन्थ्यो (मर्कूस १४:७ मा हेर्नुहोस् जतिबेला तिमीहरूलाई इच्छा लाग्छ त्यतिबेलै तिमीहरूले तिनीहरूको ___________ गर्न सक्छौ)। तर येशू सोधैंभरि तिनीहरूसँग नरहने समय नजिक आउँदैथियो। येशूको निम्ति केही न केही गरिदिने मौका छिट्टै नै समाप्त हुँदै थियो। उहाँको लागि केही गर्ने मौका अहिले नै हो भन्ने जानेर मरियमले आफूले सक्दो गरिन्। येशू आज संसारमा हुनुहुन्न। हामीले उहाँलाई आफ्नो प्रेम देखाउने चाहन्छौं भने हामीले के गर्नुपर्छ (यूहन्ना १४:१५,२१-२४)? ___________________________________।

मानिसहरू ठूलो संख्यामा बेथानीमा आउँदैथिए। यसरी भीड जम्मा हुनुमा त्यहाँ दुईटा कारणहरू थिएः १) तिनीहरू येशूलाई हेर्न चाहन्थे (यूहन्ना १२:९); २) तिनीहरू __________लाई पनि हेर्न चाहन्थे (यूहन्ना १२:९), कारण उनी चार मरेर पनि जीवित पारिएका मानिस हुन् भनी धेरैले सुनेका थिए! प्रभुका शत्रुहरूले येशूलाई मात्र मार्ने मत्तो गरेनन्, तर तिनीहरूले अरु कसलाई समेत मार्ने मतो गरे (यूहन्ना १२:१०-११)? ________________।

नम्र दास यरुशलेमको शहरभित्र प्रवेश गर्दछन्

यूहन्ना १२:१२-१९ मा हामी एउटा घटनाको उल्लेख छ जसलाई ख्रीष्टको विजयी प्रवेश अथवा ख्रीष्टको राजकिय प्रवेश भन्ने चलन छ। अन्तिमपटक येशू यरुशलेम शहरभित्र प्रवेश गर्नुभएको यस घटनालाई सुसमाचारका चारैओटा पुस्तकहरूले उल्लेख गरेका छन् (मत्ती २१, मर्कूस ११, लूका १९, यूहन्ना १२)। पुरानो नियमले समेत यसको भविष्यवाणी गरेको छ (जकरिया ९:९ मा हेर्नुहोस्)।

यूहन्ना १२:१२-१९ मा तपाईंले पढ्दै जानुहुँदा तपाईंले यस घटना खुल्लमखुल्ला भएको थाहा पाउनुहुनेछ। येशू साहससित र धुमधामसित शहरभित्र आउनुभयो। साथै उहाँ बिना डर आउनुभयो यद्यपि उहाँ उहाँलाई पक्रन शत्रुहरू तम्सेर बसेका छन् भनी जान्नुहुन्थ्यो (यूहन्ना ११:५७ मा हेर्नुहोस्)। यस घडी प्रभुले मानिसहरूको ध्यान आफूतर्फ आकर्षण गर्न सकभर गर्नुभयो। त्यो घडी आइपुगेको थियो (यूहन्ना १३:१ सँग दाँज्नुहोस्)।

यसबेला प्रभुले आफ्नो सेवकाईमा पहिलाभन्दा एकदमै फरक नीति अपनाउँदै हुनुहुन्थ्यो। पहिला भने येशू खुल्लमखुल्ला बढी मात्रामा देखा नपर्न साह्रै होशियार हुनुहुन्थ्यो अनि कति पटक उहाँ भीडहरूदेखि पन्छिनुहुन्थ्यो। उहाँका शत्रुहरूले उहाँलाई पक्रन खोज्दा उहाँ फुत्किनुहुन्थ्यो र अलग्गिनुहुन्थ्यो (यूहन्ना १०:३९-४० र यूहन्ना ११:५३-५४ मा हुर्नुहोस्)। तर यतिखेर भने “होसन्ना! धन्य इस्राएलका ________, जो प्रभुको नाममा आउनुहुन्छ!” (यूहन्ना १२:१३ र भजनसोग्रह ११८:२५-२६ बीच तुलना गर्नुहोस्) भन्दै चिच्याइरहेको ठूलो भीडका साथमा दिन दहाडै उहाँ यरुशलेम शहरभित्रै लम्कनुभयो। येशूले धेरै भन्दा धेरै प्रचार र विज्ञापन गरेइयोस् भन्ने चाहनु भएजस्तै देखिन्थ्यो। अब यति गरिसकिएपछि प्रभुका शत्रुहरू उहाँको लोकप्रियता देखेर छक्क परे र भने “हेर, _________ उसको पछि लागेको छ” (यूहन्ना १२:१९)।

मानिसहरूले “_________का हाँगाहरू” लिएर निस्के अनि उहाँ शहरभित्र पस्दै गर्नुहुँदा तिनीहरूले उहाँको अघि अघि राखिदिए। राजालाई अथवा विजेतालाई स्वागत गर्ने चलन यस्तै थियो।

येशू यरुशलेमभित्र एकदम नम्र तरिकामा प्रवेश गर्नुभयो, एउटा भर्खरको गधा वा खच्चरमा बस्दै (यूहन्ना १२:१४-१५)। उहाँ शक्तिशाली धोडाहरूले तान्ने जगमगाउँदो बग्गीमा चढेर शहरभित्र पस्नुभएको थिएन। उहाँ शहरभित्र यसरी प्रवेश गर्नुहुनेछ भनेर जकरिया ९:९ ले भविष्यवाणी गरेको थियो: “उहाँ _______ हुनुहुन्छ र गधामाथि, अर्थात् गधाको बछेडामाथि सवार भएर आउँदैहुनुहुन्छ।” “भला” भनेर नेपालीमा रुपान्तर गरिएको हिब्रू शब्दलाई “नम्र” भनेर अनुवाद गर्न सकिन्छ।

भविष्यमा येशू ख्रीष्ट इस्राएलको राजा भएर दोश्रो पटक आउनुहुनेछ। उहाँ त्यतिखेर दीनता र नम्रतामा आउनुहुनेछ कि ठूलो सामर्थ्य र महिमामा (मत्ती २४:३०)? ___________ ______________________________। उहाँ दोश्रो आगमनमा आउनुहुँदा उहाँ नम्रतामा गधामाथि चढेर आउनुहुनेछ कि संसारका विजेता र न्यायकर्ता बनेर सेतो घँडामाथि रवाफका साथ आउनुहुनेछ? (प्रकाश १९:११-१६)? ________________________________________ _______________________________________। येशू पहिला संसारको मीक्तदाता हुनलाई आउनुभयो। दोश्रो पटक भने उहाँ संसारको न्यायकर्ता हुनलाई आउनुहुनेछ। उहाँलाई आफ्नो मुक्तिदाताको रुपमा ग्रहण नगर्नेहरूले त्यस दिन उहाँलाई न्यायकर्ताको रूपमा सामना गर्नु पर्नेछ।

नम्र दास आफ्नो मृत्युको घोषणा गर्दछन्

यूहन्नाको सुसमाचारका अघिल्ला अध्यायहरूमा हामीले देखेका थियौं कसरी यहूदीहरूले उहाँमाथि चाहेर पनि हात हाल्न सकिरहेका थिएनन् किनभने “उहाँको ________ अझै ________ थिएन” (यूहन्ना ७:३० र ८:२० पढ्नुहोस्, यूहन्ना २:४ सित दाँज्नुहोस्)। यूहन्ना १२:२३ मा हामी एउटा महत्वपूर्ण भनाइ पढ्छौ: “मानिसका पुत्रको महिमा हुने _______ ____________ छ।” समय आइपुगेको थियो! येशूले आफ्नो मरणको कुरा गरिरहनुभएको थियो भन्ने कुरा हामी यूहन्ना १२:२४ मा देख्छौं।

यूहन्ना १२:२४ मा प्रभुले एउटा दानाको उदाहरणबाट सिकाउनुभयो। एउटा गहुँको दाना वा बिउ _________मा खस्नैपर्छ र _______पर्छ। त्यसरी मात्र तपाईंले फसल (गहुँको प्रशस्त बाली) पाउनुहुन्छ। तपाईंले गहुँको बीउलाई एउटा शिशाको भाँडामा हालेर भान्साको दराजभित्र राख्‍नुभयो भने के तपाईंले कहिल्यै त्यसको फल पाउनुहोला? वर्षौं पछि हेर्दा पनि गेडा जस्ताको त्यस्तै पाउनुहुनेछ। त्यो एक्लै रहिरहनेछ! तर जब त्यो बिउलाई जमीनभित्र “मर्नलाई” राखिन्छ तब एउटा अचम्मको कुरा हुनेछ! बिउको बाहिरी कडा खोष्टा नरम हुन थाल्छ र चाँडै नै त्यो नष्ट हुन थाल्छ र फक्लक्क फुट्छ। तब जीवन देखा पर्छ! अब त्यो गेडा त छैन तर गहुँको जिउँदो टुसा पलाएको छ! फल फलोस् र जीवन सम्भव होस् भनेर नै येशू क्रूसमा मर्नु आवश्यक थियो! येशू नमर्नु भएको भए उहाँ एक्लै मात्र स्वर्ग जानुहुनेथ्यो। स्वर्गमा न मोशा हुनेथ्यो न दाऊद, न यशैया न पत्रुस, न पावल न तपाईं नै! तर उहाँ मर्नु भएकोले नै उहाँले उहाँमाथि विश्वास गर्ने (मतलब, उहाँ जो हुनुहुन्छ र उहाँले जे गरिदिनुभएको छ त्यसमाथि विश्वास गर्ने) जोसुकैलाई पनि अनन्तसम्म परमेश्वरको साथमा बस्न सम्भव तुल्याइदिनुभयो। कल्वरी क्रूसले गर्दा प्रशस्त आत्माहरूको फसल सम्भव भयो! हामीले जीवन पाऔं भनेर नम्र दास आफ्नो जीवन दिन (बलि हुन) आउनुभयो।

विश्वासी जनहरूले आफ्नो प्रभुको उदाहरणलाई पछ्याउनुपर्छ (यूहन्ना १२:२५)। संसारको सोचाइमा लिनु भनेको पाउनु हो दिनु भनेको गुमाउनु हो। संसारको सोचाइमा दिनु भन्दा लिनु नै उत्तम हो। तर केही प्राप्त गर्न केही गुमाउनै पर्छ भनी येशूले सिकाउनुभयो। प्राप्त गर्न हामीले गुमाउनैपर्छ। केही माथि पुग्न तल्लो केहीलाई त्याग्नैपर्छ!कोही आफ्नै निम्ति मात्र जिउँछ भने ऊ समस्यामा छ, किनभने “जसले आफ्नो प्राणलाई मायाँ गर्छ, त्यसले त्यो ___________ छ” (यूहन्ना १२:२५)। जसले आफूलाई इन्कार गर्दछ र परमेश्वरको निम्ति र अरुहरूका निम्ति जिउँदछ, उसको इनाम ठूलो हुनेछ (यूहन्ना १२:२५ को अन्तिम खण्ड)। कसको सेवा गर्ने, हो हामीले रोज्नैपर्छ। हामी आफ्नै सेवा गरौं कि मुक्तिदाताको (यूहन्ना १२:२६)? ________________।

यूहन्ना १२:२७-२८ मा येशू आफ्ना स्वर्गीय पितासँग प्रार्थना गर्नुहुन्छ। मानिसका पापको म मर्नुछ र परमेश्वरदेखि म त्यागिनुछ भन्ने कुरालाई सम्झेर येशू, आफ्नो पापरहित मनुष्यत्वमा, एकछिन त झस्किनुभयो (मत्ती २७:४६ सोग दाँज्नुहोस्)। यूहन्ना १२:२७ मा येशूले भन्नुभयो, “पिता, _________ यस घडीबाट ______________।” तर यसैका निम्ति उहाँ पृथ्वीमा आनुभएको हो भनी येशू जान्नुहुन्थ्यो (यूहन्ना १२:२७)। यदि उहाँ क्रूसमा जानदेखि बचाइनुभएको भए हामीकोही पनि कहिल्यै बचाइने थिएनौं। उहाँले आफ्नो प्राणलाई बचाउनुभएको खण्डमा हामी हाम्रा पापहरूमा मर्नेथ्यौं। विश्वास नगर्ने कुकर्मीले भने, “_______लाई र _______लाई बचाऊ” (लूका २३:३९)। तर येशू क्रूसबाट ओर्लनुभएर आफूलाई बचाउनुभएको भए के उहाँले हामीलाई बचाउन सक्नुहुनेथ्यो? _______________। मुक्तिदाताले पापको दण्डरूपी जरिवाना पूरै नतिर्नुभएसम्म मुक्ति असम्भव छ!

अरू सबैकुरा भन्दा बढी येशू परमेश्वरको महिमा भएको चाहनुहुन्थ्यो: “हे पिता, तपाईंको नामको ___________ गर्नुहोस्” (यूहन्ना १२:२८)। के येशूको यस प्रार्थनाको जवाफ मिल्यो (यूहन्ना १२:२८)? ___________। परमेश्वर पिता स्वर्गबाटै प्रत्यक्ष बोल्नुभएको घटना बिरलै भेटिन्छ, तर यो त्यस्तो एउटा घटना थियो। के मानिसहरूले त्यस घटनालाई बुझे (यूहन्ना १२:२९)? ________________।

मानिसहरूसित बोल्ने क्रमामा येशूले आफ्नो आइरहेको मरणको बारेमा उनीहरूलाई बताइरहनुभयो। यूहन्ना १२:३२ मा उहाँले भन्नुभयो, “अनि म पृथ्वीदेखि _______ (क्रूसमा) ____________ भने ______ ______________लाई आफूकहाँ खिँच्नेछु। यसो भन्नुहुँदा के उहाँले आफ्नो मरणको कुरा गर्दैहुनुहुन्थ्यो (यूहन्ना १२:३३)? _______________। यूहन्ना ३:१४ मा पनि येशू क्रूसमाथि उचालिनुहुने बारेमा सिकेका थियौं।

प्रभु येशूको मृत्यु हुँदा, त्यहाँ अरू दुईटा क्रूसहरू थिए – एउटा उहाँको बायाँपट्टि, अर्को उहाँको दायाँपट्टि (मर्कूस १५:२७)। प्रभु येशूले सबै मानिसहरूलाई बीचको क्रूसतिर खिँच्नुहुन्छ जहाँ आएर उनीहरूले क्रूसमा उचालिनुभएका मुक्तिदातालाई या त स्वीकार गर्नुपर्छ या त अस्वीकार गर्नुपर्छ। एक व्यक्तिले दुईटामा एउटा रोज्नुपर्छ। ती दुई छनोटहरूलाई दुईतिरका क्रूसहरूले चित्रण गर्दछन् :

येशूले आफ्नो मृत्युको कुरा गरिरहनुभएको सुनेर ती यहूदीहरू जिल्ल परे (यूहन्ना १२:३३-३४)। उनीहरूले भने, “__________ (मसीह) _______भरि रहनुहुन्छ भनी हामीले व्यवस्थाबट सुनेका छौं (यूहन्ना १२:३४)।” यसको मतलब, मसीह सदाका लागि जिउनुहुनेछ र राज्य गर्नुहुनेछ भनी पुरानो नियमले सिकाउँदछ भनी उनीहरू जान्दथे (हेर्नुहोस्, दानियल ७:१४,२७; यशैया ९:७ र भजनसंग्रह १०२:२६-२७)। तर येशू, जो भर्खरै राजाझैं (यूहन्ना १२:१३) यरूशलेमभित्र प्रवेश गर्नुभयो, उहाँले आफ्नो मृत्युको कुरा गर्दै उहाँ क्रूसमा माथि उचालिने कुरा पो गर्नुभयो! येशू मसीह नै हुनुहुन्छ भने एउटा जटिल समस्या खडा भएको देखिन्छ! मरेका मसीह कसरी सदाका लागि जिउनेछन् र राज्य गर्नेछन्? परमेश्वरले यस समस्यालाई कसरी हल गर्नुभयो (प्रेरित ५:३० पढ्नुहोस्)? _________________________ ___________________________।

येशूले उनीहरूको प्रश्नको जवाफ खासै दिनुभएन (यूहन्ना १२:३४-३६ पढ्नुहोस्) बरू उनीहरूलाई सबैभन्दा महत्वपूर्ण काम गर्नलाई भन्नुभयो: “ज्योतिमाथि ___________ गर” (यूहन्ना १२:३६)। ज्योति भनेकोले हो (यूहन्ना १२:४६)? ______________। ज्योतिलाई अस्वीकार गर्नेहरू अन्धकारमै रहनेछन्, अन्धा रहनेछन् (यूहन्ना १२:४०)!

आफ्नै आँखाले थुप्रै आश्चर्यकर्महरू देखेर पनि अझै विश्वास नगर्न सम्भव छ (यूहन्ना १२:३७)? __________। कसैले भन्ला, “आज येशू पृथ्वीमै हुनुभएको भए ता! उहाँले ती आश्चर्यकर्महरू गरिरहनुभएको मैले देख्न पाउँथे र मैले विश्वास गर्नेथिएँ!” के विश्वास त्यसरी नै आउने हो त? __________। याद राख्‍नुहोस्, कैयौं यहूदीहरूले ख्रीष्टका आश्चर्यकर्महरू देखे तरैपनि उनीहरूले पछि चिच्याउँदै कराए, “यसलाई क्रूसमा टँगाऊ!”

यूहन्ना १२:३९-४१ मा प्रेरित यूहन्नाले पुरानो नियमको यशैया ६:१-१० बाट उद्दरण गर्दैछन्। यूहन्ना १२:४१ मा यूहन्नाको भनाइलाई विचार गरौं: “उहाँ (ख्रीष्ट) को महिमा देखेर उहाँ (ख्रीष्ट)ले विषयमा बोल्दाहुँदि ____________ले यी कुराहरू भने।” यसको मतलब, यूहन्ना भन्छन्, यशैयाले देखेका व्यक्ति येशू ख्रीष्ट नै थिए! यशैया ६:१ अनुसार यशैयाले कसलाई देखेका हुन्? _____________________________________। यशैया ६:५ अनुसार यशैयाले कसलाई देखेका हुन्? _____________________________। ती महान् प्रभु र राजा अरूकोही थिएनन्, येशू ख्रीष्ट नै हुनुहुन्थ्यो (पृथ्वीमा आउनुअघि)!

के शासकहरूमध्ये केहीले येशूमा विश्वास गरे (यूहन्ना १२:४२)? _________। उनीहरूले उहाँलाई स्वीकार गर्दै अरूहरूलाई येशूको बारेमा उनीहरूको आफ्नो धारणालाई बाँडे (यूहन्ना १२:४२)? ________। उनीहरूले ख्रीष्टलाई साहसका साथ र गर्वका साथ स्वीकार गरेका भए उनीहरूलाई के गरिनेथ्यो (यूहन्ना १२:४२; दाँज्नुहोस् यूहन्न ९:२२,३४)? ______ ______________________________। के तपाईंले येशू ख्रीष्ट आफ्नो मुक्तिदाता हुनुहुन्छ भनी कहिल्यै स्वीकार गर्नुभएको छ? तपाईंले उहाँलाई प्रेम गर्नुहुन्छ र उहाँमाथि विश्वास गर्नुहुन्छ भनी के तपाईंले अरूहरूलाई कहिल्यै बताउनुभएको छ? उहाँलाई मानिसहरूका सामु स्वीकार गर्नेहरूलाई येशूको के प्रतिज्ञा छ (मत्ती १०:३२)? __________________________ __________________________________। सभाघरबाट निकालिनुभन्दा अति डरलाग्दो अर्को कुरा पो छ त्यहाँ (मत्ती १०:३३ पढ्नुहोस्)!

यूहन्ना १२:४४-५० पढ्नुहोस्। उहाँमाथि विश्वास गर्ने र उहाँका वचनहरूलाई ग्रहण गर्नेहरूको बारेमा येशूले के भन्नुभएको छ? उहाँमाथि विश्वास नगर्ने र उहाँका वचनहरूलाई अस्वीकार गर्नेहरूको बारेमा येशूले के भन्नुभएको छ?

नम्र दास चेलाहरूका पाउ धुन्छन्

यूहन्ना १३ अध्यायमा आइपुग्दा हामी पाउँछौं येशूको मरणको समय अझै नजिक आएको छ। उहाँ “यस ________बाट ______कहाँ जाने आफ्नो घडी आइपुगेको” (यूहन्ना १३:१) छ भनेर येशू जान्नुहुन्थ्यो। वास्तवमा, यूहन्ना १३ अध्यायमा येशूको मरण हुनभन्दा अघिको रातमा भएका घटनाहरूको बारेमा पढ्छौं। भोलिपल्ट विहानै उहाँ क्रूसमा काँटीले ठोकिनुहुनेछ। भोलिपल्टकै रात उहाँ चिहानमा गाडिनुहुनेछ!

यस अध्यायमा धोकेबाज यहूदाको बारेमा पनि केही कुराहरू सिक्नेछौं जसले प्रभुलाई धोका दिए। यस्तो काम गर्न यहूदाको हृदय र मनलाई कसले प्रभावित पार्‍यो (यूहन्ना १३:२)? ______________।

येशूले यस रात के गर्नुभयो जसको कारण चेलाहरू चकित भए (यूहन्ना १३:४-५)? ____________________________________________। सडकहरूमा धेरै धूलो हुने गरेकोले र मानिसहरूले खुल्ला खाले जुत्ता लगाउने गरेकाले खुट्टा धोइनुपर्थ्यो। प्राय: खाना खाने बेलामा घरका मालिकले आफ्ना पाहुनाहरूलाई पानीको प्रबन्ध गरिदिन्थे। या त पाहुनाहरू आफैंले आफ्ना पाउहरू धुन्थे कि त घरका दासहरूले सो गरिदिन्थे। उनीहरूका प्रभु र गुरूले निहुरेर यस्तो तुच्छ काम गर्नुभएको देखेर चेलाहरू छक्क परे। येशूले दासको ठाउँ लिँदैहुनुहुन्थ्यो!

आफ्ना चेलाहरूलाई ख्रीष्टियन जीवन सम्बन्धि र प्रभुसित कसरी संगतिमा हिँड्न सकिन्छ भनेर एउटा ज्यादै महत्वपूर्ण आत्मिक सत्यता सिकाउनलाई पनि येशूले यसो गर्नुभएको थियो। के पत्रुस येशूद्वारा आफ्नो पाउधोइएको चाहन्थे (यूहन्ना १३:६-८)? ____________। तर येशूले पत्रुसलाई गम्भिर जवाफ दिनुभयो: “मैले तिमीलाई धोइनँ भने मसित तिम्रो केही _______ छैन।” यहाँ “भाग” भन्ने शब्दको तात्पर्य हो, “भागिदार हुनु, साझेदार हुनु, आफ्नो काम र इनामको साझेदार बन्नु”। त्यसैले यसको अर्थ हो, “साझेदार” वा “संगति”। फोहोर पाउभएको चेलासित येशू संगति गर्न सक्नुहुन्न! प्रभुसित नजिकको संगतिमा हिँड्न चाहनुहुन्छ भने तपाईंका पाउहरू सफा हुनुपर्छ!

येशूको यो जवाफ सुनेर पत्रुसले भने, “प्रभु, मेरा पाउमात्र होइन, तर मेरा ________ र मेरो _________ पनि (यूहन्ना १३:९)।” पत्रुस तुरुन्तै अर्को विषम पक्षतिर गए! अब पत्रुस पूरै नुहाइन चाहन्छन्—शिरदेखि पाउसम्मै! तर येशूले पत्रुसलाई सम्झाउनुभयो, उसलाई नुहाइन खाँचो छैन, केवल पाउहरू धोइन मात्रै खाँचो छ। “जसले नुहाएको छ, उसलाई ___________ धुनुबाहेक अरू केही खाँचो छैन, तर ऊ पूरा शुद्ध छ; अनि तिमीहरू शुद्ध छौ” (यूहन्ना १३:१०)। यसको मतलब येशू भन्दैहुनुहुन्थ्यो, “पत्रुस, तिमीले स्नान लिइसकेका छौ र तिमी पूरै सफा छौ। तर मसित संगति गर्न सक्न र मसित साझेदार हुन सक्न भने तिम्रो पाउहरू धोइनुपर्छ!”

त्यसबेलाको समयहरूमा एक व्यक्तिले स्नान लिएपछि ऊ धूलैधूलो भएको बाटोमा चप्पल जस्तै खुल्ला खालको जुत्तामा हिँडेकोले आफ्नो गन्तब्य स्थानमा आइपुग्दा ऊ सफा त सफै हुन्थ्यो केवल पाउहरू भने फोहोर हुन्थे।

मुक्तिको घडीमा एक व्यक्तिले पूर्णरूपमा मुक्तिको स्नान पाउँदछ! परमेश्वरले विश्वास गर्ने व्यक्तिलाई धुनुहुन्छ र उसलाई सिद्धरूपमा सफा पार्नुहुन्छ! उनका सबै पापहरू क्षमा गरिन्छन (विगतका, वर्तमानका, भविष्यका)। येशूले भन्नुभयो, “तिमीहरू __________ छौ” (यूहन्ना १३:१०)। त्यहाँ एउटै मात्र चेला थियो जो शुद्ध थिएन (यूहन्ना १३:१०-११)। त्यस अशुद्ध र अमुक्त चेलाको नाम के थियो (यूहन्ना १३:११, १३:२ सित दाँज्नुहोस्)? ________________। यहूदा आफ्नो पापमै थियो। उसले मुक्तिको स्नान कहिल्यै पाएको थिएन। ऊ “पानीबाट जन्मेको” थिएन (यूहन्ना १३:५)।

विश्वासी जनले मुक्ति पाएको, क्षमा पाएको र ऊ धोएइएको भए तापनि ऊ ख्रीष्टियन भएर यस संसारमा हिँड्ने क्रममा उसका पाउहरू फोहोर बन्न सम्भव नै छ। कतिबेला विश्वासी जनहरूले दिन दिनै पाप गर्न पनि सक्छन् (१ यूहन्ना १:८,१०)। यसैले नै हो हामीले हाम्रा पापहरू _____________ गर्नुपर्छ (१ यूहन्ना १:९) ता कि हाम्रा पाउहरू सफा रहून्। मुक्ति पाउनलाई भनेर हामीले हाम्रा पापहरू स्वीकार गर्ने त होइन। पत्रुसलाई स्नानको खाँचो थिएन! परमेश्वरले विश्वासी जनलाई मुक्त गरिसक्नुभयो (उसलाई पूरै सफा पारिसक्नुभयो)। तर प्रभुसित नजिकको संगतिमा हिँड्न विश्वासी जनले आफ्ना पापहरूलाई स्वीकार गर्नुपर्छ। विश्वासी जनका पाउहरू सफा हुन खाँचो छ (यूहन्ना १३:८, दाँज्नुहोस् यशैया ५९:१,२)।

के तपाईंले मुक्तिको स्नान पाउनुभयो? के तपाईंका सबै पापहरू क्षमा भए (पढ्नुहोस्, एफेसी १:७ र प्रेरित १०:४३)? तपाईं साँच्ची नै ख्रीष्टियन हुनुहुन्छ भने के तपाईंले आफ्ना पाउहरूलाई दिन प्रति दिन सफा राख्दै हुनुहुन्छ? के तपाईं १ यूहन्ना १:९ ले भने अनुसार गर्नुहुन्छ? १ यूहन्ना १:९ ले के भन्दछ सो जान्नु एउटा कुरा हो तर १ यूहन्ना १:९ अनुसार गर्नु त्यो अर्कै कुरा हो! येशूले भन्नुभयो, “तिमीहरू यी कुराहरू जान्दछौ भने र यी कुराहरू गर्दछौ भने तिमीहरू धन्यका हौ (यूहन्ना १३:१७)।” त्यो विश्वासी सुखी हो जसले आफ्ना पापहरू स्वीकार गर्छ र त्यो पनि तुरुन्तै गर्छ! आफ्ना पाउहरूमा फोहोरलाई धेरै बेरसम्म टाँस्सिरहन नदिनुहोस्!

यूहन्ना १३:१२-१६ मा येशूले चेलाहरूलाई आफ्नो नमूना पछ्याउनलाई भन्नुभयो। उहाँले आफूलाई नम्र पार्नुभयो र उनीहरूको पाउधोएर सेवा गर्नुभयो। तिनीहरूले पनि आफूलाई नम्र पार्नुपर्छ र अरूको सेवा गर्नुपर्छ। परमेश्वरको दृष्टिमा महान् त्यो हो जो सबैको ___________ हुन्छ (मर्कूस १०:४४)। आउने हप्ता तपाईंले अरूहरूको सेवा कसरी गर्न सक्नुहुन्छ भनेर केही उपायहरू सोच्न सक्नुहुन्छ?

नम्र दास आफूलाई यहूदाद्वारा पक्राइने भविष्यवाणी गर्दछन्

आफूलाई के हुनेछ भनी येशू एक-एक जान्नुहुन्थ्यो। यहूदाको काम उहाँको लागि कुनै अप्रत्याशित कुरो थिएन। त्यो हुनुभन्दा अगाडिबाटै येशूले त्यसको भविष्यवाणी गर्न सक्नुभयो: “अब यो हुनुभन्दा ___________ म तिमीहरूलाई भन्दछु, र जब यो हुन आउला, तब म उही रहेछु भनी तिमीहरूले विश्वास गर्न सक” (यूहन्ना १३:१९)। हामीले पहिला पनि देख्यौं, उहाँलाई __________ले हुनेछ भनी येशू शुरूबाटै जान्नुहुन्थ्यो (यूहन्ना ६:६४)।

सामान्यतया टेबलमा हामीसँगै खाने व्यक्तिहरू हाम्रा मित्रहरू नै हुन्छन्। तर उहाँको टेबलमा एउटा शत्रु थियो भनी प्रभु जान्नुहुन्थ्यो (पढ्नुहोस्, यूहन्ना १३:१८)। यहूदा ख्रीष्टको पक्षमा होइन बिरुद्धमा थियो!

येशूले आफ्ना चेलाहरूलाई के भन्नुभयो (यूहन्ना १३:२१)? ____________________ ________________________________________________________________। उहाँलाई पक्राउने व्यक्तिले होला भनी के चेलाहरूले जान्दथे (यूहन्ना १३:२२, दाँज्नुहोस् मत्ती २६:२१-२२)? _________________। “त्यो त पक्कै पनि बदमाश यहूदा नै हुनुपर्छ!” भनेर चेलाहरूले भनेनन्। होइन, यहूदाले उनीहरू सबैलाई छल गरेका थिए! यहाँसम्म कि उनीहरूले पैसाको थैलीको जिम्मा समेत उसैलाई दिएका थिए (यूहन्ना १२:६)!

प्रेरित यूहन्ना “येशूले प्रेम गर्नुभएको चेला” भनी चिनिन्छन्। उनको बारेमा हामी यूहन्ना १३:२३ मा सिक्छौं (याद राख्नुहोस्, यो सुसमाचारको पुस्तक लेख्‍ने उनी नै हुन्!)। यूहन्ना येशूको छातीमा टाँस्सिएर बसिरहेका थिए। त्यसबेलाका समयहरूमा आजजस्तो टेबुल वरिपरि कुर्सीहरूमा बस्ने चलन थिएन। बरू उनीहरू पलङजस्तै बस्ने कुरामा पस्रिएर बस्थे, र देब्रे कुहीनामा टेकेर दाहिने हातले खान्थे। यसर्थ उनीहरू एकातिर कोल्टे परेका हुन्थे। शिरचाहिँ टेबिलको नजिक पुगेको हुन्थ्यो भने पाउहहरू टेबिलको परतिर पुगेका हुन्थे। दाहिने पट्टिको व्यक्तिको शिर उनको देब्रेपट्टिको व्यक्तिको छातीको नजिक पुगेको हुन्थ्यो। यसर्थ यूहन्ना येशूको दाहिनेपट्टि थिए।

प्रभुको सबभन्दा नजिकमा कसरी रहने भनेर अरू चेलाहरूले भन्दा यूहन्नाले नै जानेको देखिन्छ। गोठाला र उनका भेडाहरूको विचार गरौं। गोठालाले आफ्ना सबै भेडाहरूलाई माया गर्छन् तर कुनै भेडाहरू अरू भेडाहरूभन्दा गोठालो नजिकमा रहन्छन्।कोही भेडा गोठालाकै छैउमै हिँड्छन्। सानो पाठो छ भने गोठालाले निहुरेर त्यसलाई आफ्नो अँगालोमा समेत बोक्न सक्छन्। यूहन्ना आफ्नो प्रभुको नजिक रहन जानेका चेला थिए। हामी साँच्ची नै उहाँका भेडाहरू हौं भने (यूहन्ना १०:२६-२७) ख्रीष्टियन जीवनमा हाम्रो जिम्मेवारी हो गोठालो सकेसम्म नजिक रहनु! उहाँबाट तर्किएर नजानुहोस्!

यूहन्ना येशूको नजिकमा भएको हुनाले पत्रुसले यूहन्नालाई एक खालको इशारा गरे। पक्राउने व्यक्तिले हो त्यो यूहन्नाले येशूलाई सोधून् भन्ने पत्रुसको इच्छा थियो। तब यूहन्नाले प्रश्न गरे, “प्रभु, _____________________” (यूहन्ना १३:२५)?

त्यसबेलाका समयहरूमा चम्चा काँटाको चलन थिएन। प्राय नेपालमा जस्तै खानलाई हात नै प्रयोग गरिन्थ्यो। एउटा टुक्रा रोटी लिएर अरू झोल पद्धार्थको खानेकुरामा चोपेर खाइन्थ्यो। येशूले रोटीको टुक्रा लिनुभयो, चोप्नुभयो र कसलाई दिनुभयो (यूहन्ना १३:२६)? _________________। चिन्ह यही नै थियो! पक्राउने व्यक्ति यहूदा नै हो!

यहूदाले टुक्रा लिएपछि उसलाई के भयो (यूहन्ना १३:२७)? ____________________ ___________________________________। दुष्ट आत्माले बास गरिनु अति नराम्रो हो तर यहूदा त शैतानले नै बास गरियो! यहूदाले आफैंलाई शैतानको हतियार बन्न सुम्पियो र उसले संसारकै महा अपराध पूरा गर्न अब अगाडि बढ्यो!

यहूदा कोठाबाट किन बाहिर गयो भनी अरू चेलाहरूले खासै बुझेनन् (यूहन्ना १३:२७-२८)। ऊ किन गयो भनेर कतिपयले के सोचे (यूहन्ना १३:२९)? _____________________ _______________________________________। यहूदा के गर्न लाग्दैछन् के येशूले जान्नुहुन्थ्यो? _________________।

यहूदा निस्केर गएपछि येशूले आफ्ना चेलाहरूलाई एउटा ___________ आज्ञा दिनुभयो (यूहन्ना १३:३४)। पुरानो आज्ञा यो थियो, “आफ्नो छिमेकीलाई _________लाई झैं प्रेम गर” (लेवी १९:१८)। नयाँ आज्ञाले पनि आफ्नो छिमेकी अर्थात् एकअर्कालाई प्रेम गर्न भन्छ तर नयाँ आज्ञामा कुन कुरा फरक छ भने त्यो चाहिँ “जसरी” भन्ने शब्दपछि उल्लेख छ। येशूले उनीहरूलाई भन्नुभयो, “जसरी _______ तिमीहरूलाई ________ गरेको छु, उसरी नै तिमीहरूले पनि एक-अर्कालाई प्रेम गर (यूहन्ना १३:३४)।” तिनीहरूले ख्रीष्टले जसरी प्रेम गर्नुपर्थ्यो! यदि चेलाहरूले “प्रभु तपाईंले हामीलाई कसरी प्रेम गर्नुभएको छ?” भनेर सोधेका भए येशूले मानौं जवाफ दिनुहुनेथियो, “भोलि म क्रूसमा जाँदैछु अनि तिमीहरूका लागि मेरो प्रेम कस्तो छ त्यो देख्नेछौ!” कल्वरी प्रेम भन्दा ठूलो प्रेम कुनै छैन! साँच्ची हामी प्रेम गर्न सिक्न चाहन्छौं भने हामीले क्रूसमा हेर्नुपर्छ किनकि त्यहीँ नै हो जहाँ हामी परमेश्वरको प्रेमलाई देख्दछौं (रोमी ५:८, एफिसी ५:२,२५)। साँचो ख्रीष्टियनहरूको चिनो पनि यस्तै खालको प्रेम नै हुनुपर्छ (यूहन्ना १३:३५)! जब कसैले आफूलाई अर्काको निम्ति, उसको वास्तविक खाँचो पूरा गर्नलाई, जस्तैसुकै व्यक्तिगत बलिदानको खाँचो परे तापनि त्यस व्यक्तिको उच्चतम भलाइ चाहँदै उसलाई दिनलाई निर्णय गर्छ तब उसले ख्रीष्टको प्रेमले प्रेम गरिरहेको हुन्छ। हाम्रा मुक्तिदाताले देखाउनुभएको प्रेम यही खालको प्रेम हो (यूहन्ना ३:१६)!

नम्र दास आफू पत्रुसद्वारा इन्कार गरिने कुराको भविष्यवाणी गर्दछन्

येशू, यहूदाको बारेमा मात्र होइन पत्रुसको बारेमा पनि सब जान्नुहुन्थ्यो! बलियो आत्मविश्वास बोकेका पत्रुस येशूलाई जतासुकै पछ्याउनेछु भन्ने कुरामा पक्का थिए। उनेल येशूले यहाँसम्म भने, “म तपाईंका लागि आफ्नो __________ अर्पण गर्नेछु” (यूहनना १३:२७)। पत्रुसले राम्रै सोचेका हुन् तर आफू कति कमजोर छु उनी जान्दैनथे। पत्रुस आफूले गर्छु भनेको कुरा पूरा गर्न नसक्ने मात्र होइन उसले प्रभुलाई _________ पटक इन्कार गर्नेवाला थिए (यून्ना १३:२८)। येशू हाम्रा सबै कमजोरी जान्नुहुन्छ। हामी लड्छौं भनी उहाँ जान्नुहुन्छ।

ख्रीष्टियान भएर हामी आत्माविश्वासदेखि  होशियार हुनुपर्छ किनकि उहाँले भन्नुभयो “_____ बाट अलग भएर तिमीहरूले ________ ________ गर्न सक्दैनौ (यूहन्ना १५:५)। हामीलाई आत्माविश्वास होइन ख्रीष्ट-केन्द्रित-विश्वासको खाँचो छ ता कि हामी भन्न सकौं, “मलाई शक्ति दिनुहुने ___________द्वारा म _______ कुराहरू गर्न सक्छु” (फिलिप्पी ४:१३)।

उहाँबिना हामी निश्चय लड्छौं!

उहाँद्वारा हामी निश्चय विजयी बन्छौं!