पाठ १

येशू—सिद्ध ईश्वर तथा सिद्ध मानिस

परिचय

कतिले यूहन्नाको सुसमाचारलाई "संसारको सबैभन्दा महान् पुस्तक" भन्ने संज्ञा दिएका छन्। बाइबलका खण्डहरूमध्ये यस खण्ड सबैभन्दा बढी संख्यामा छापिएको छ। हजारौं व्यक्तिहरूले यूहन्नाको सुसमाचार पढेर प्रभुलाई चिन्न पुगेका छन्। पवित्रशास्त्रको सबैभन्दा परिचित र प्रख्यात पद यही पुस्तकमा भेटिन्छः यूहन्ना ३:१६। एकातिर, यस पुस्तकमा गजबको सरलता छ। यसकारण "बाइबल कहाँदेखि पढ्न थाल्ने होला" भनी प्रश्न गर्नेलाई यूहन्नादेखि थाल्न सल्लाह दिन सकिन्छ। अर्कोतिर, यस पुस्तक सत्यताहरूमा यति गहिरो र धनी छ कि सबैभन्दा पाको विश्वासी जन समेत यसका पन्नाहरू पढेर अघाउने छैन। परमेश्वरको सम्पूर्ण वचन बहुमूल्य छ तरैपनि धेरै ईशाइहरूका हृदयमा यूहन्नाको सुसमाचारले विशष स्थान पाएको छ।

मानवीय लेखक

यसका मानवीय लेखक यूहन्ना बाह्र चेलामध्ये एक थिए र साथै उनी __________ (मत्ती १०:२) का भाइ थिए। उसलाई "______ले ______ गर्नुभएको चेला" (यूहन्ना २१:२०; १३:२३) भनी उल्लेख गरिएको छ। यस सुसमाचारको पुस्तकमा जति पनि कुराहरू यूहन्नाले लेखेका छन् ती कुराहरूको व्यक्तिगत साक्षी यूहन्ना आफैं थिए र उनकै आँखाका सामु ती घटनाहरू घटेका थिए। यूहन्नाले यस पुस्तकमा लेखेका कुराहरूको विषयमा के बताइएको छ (यूहन्ना १९:३५ र २१:२४ हेर्नुहोस्)? ___________ ____________________________। के प्रभुको बारेमा यूहन्नाले लेख्न सक्ने अरू थुप्रै कुराहरू थिए (यूहन्ना २१:२५)? _______। यूहन्नाको सुसमाचारमा _____ अध्यायहरू मात्र छन्। ख्रीष्टलाई राम्ररी चिन्ने यूहन्नाले उहाँको बारेमा अरू थुप्रै कुराहरू लेख्न सक्थे।

यूहन्नाको सुसमाचारको उद्देश्य

यूहन्नाले सुसमाचारको यस पुस्तक किन लेखे? येशूले भन्नुभएका र गर्नुभएका केही कुराहरू लेखोटमा उतार्न यूहन्नाले किन कष्ट गरे? यूहन्ना २०:३१ मा यूहन्नाले प्रस्टै भन्छन्, "तर येशू नै परमेश्वरका ______ ________ (अर्थात् मसीह, प्रतिज्ञा गरिएका मुक्तिदाता तथा राजा) हुनुहुन्छ भनी तिमीहरूले ___________ गर्न सक र ___________ गरेर तिमीहरूले उहाँको नामद्वारा __________ पाओ भनी यीचाहिँ ____________ हुन्।" साना, ठूला सबैले उहाँको पुत्रमाथि विश्वास गरेको परमेश्वर चाहनुहुन्छ र तिनीहरू जसले साँच्चै विश्वास गर्छन् उनीहरूले जीवन पाउँछन्। यूहन्ना ६:४७ मा येशूले भन्नुभएको कुरा यही हो? ________।

यूहन्ना अध्याय १ र २ को रुपरेखा

  1. वचन, WORD (यूहन्ना १:१-१८)
  2. साक्षी, WITNESS (यूहन्ना १:१९-५१)
    1. बप्तिस्मा दिने यूहन्ना (यूहन्ना १:१९-३४)
    2. अन्द्रियासले पत्रुसलाई बताउँछन् (यूहन्ना १:३५-४२)
    3. फिलिपले नथनएललाई बताउँछन् (यूहन्ना १:४३-५१)
  3. येशूको प्रथम कार्य, WORK (यूहन्ना २:१-१२)
  4. येशूका प्रथम वचनहरू, WORDS (यूहन्ना २:१३-२२)
    1. सराफीहरूलाई लखेट्नुहुन्छ (यूहन्ना २:१३-१७)
    2. उहाँको मृत्यु र बौरिउठाइको चिन्ह (यूहन्ना २:१८-२२)

वचन को हुन्?

यूहन्नाको सुसमाचारको पहिलो पदमै हामीलाई एक व्यक्तिको परिचय दिइएको छ जसलाई "वचन" भनिएको छ। यो शब्द ("वचन") पद १ मा कति पटक पाइन्छ? ________। अध्याय १ को अर्को कुन पदमा यो व्यक्तिलाई "वचन" भनिएको छ? ________। वचन को हुन्? अध्याय १ को १ देखि १८ पदहरूले यी व्यक्तिका बयान गर्छन्। "वचन" भनिने यस व्यक्तिका चिनारी यी पदहरूले कसरी दिन्छन् हामी हेरौं।पद १–"वचन परमेश्वर हुनुहुन्थ्यो।" यूहन्ना ५:१८ हेर्नुहोस्।पद ३–"सबै कुराहरू उहाँद्वारा __________।" पद १० हेर्नुहोस्।पद ४–"उहाँमा ________ थियो।" यूहन्ना १४:६ हेर्नुहोस्।पद ९–यी व्यक्ति "साँचो ________ हुनुहुन्थ्यो।" यूहन्ना ८:१२ हेर्नुहोस्।पद ११–"उहाँ आफ्नै मानिसहरूद्वारा इन्कार गरिनुभयो (यूहन्ना १९:१५-१६)।पद १४–"उहाँ पिताका एक मात्र जन्माइएका पुत्र हुनुहुन्छ" (पद १८ हेर्नुहोस्)।पद १७–"यस पदमा वचन को हुनुहुन्छ भनी प्रस्टै चिनाइएको छ। उहाँ ये____ ख्री_____ नै हुनुहुन्छ।

यूहन्ना १:१-१८ लाई पढ्दा यी पदहरूले येशू ख्रीष्टकै बारेमा बताउँदैछन् भन्ने निष्कर्ष निस्कन्छ। वास्तवमा यूहन्नाको सुसमाचारको पूरै पुस्तकले यिनै व्यक्तिका बारेमा बताउँदछ–उहाँ आउनुको लक्ष्य, उहाँको सेवाकाइ, उहाँका आश्चर्यकर्महरू र उहाँले गर्नुभएको उद्धारको महान् कार्य।

येशू ख्रीष्टलाई किन वचन भनिएको छ?

विचार शब्दहरूद्वारा व्यक्त गरिन्छ। कुनै कुरा व्यक्त गर्न मानिसले साधारणतया शब्दहरू प्रयोग गर्दछ–या त बोलीमा या त लेखोटमा। अर्को पटक तपाईंको बाबुआमालाई केही भन्नुपर्दा बिना शब्द नै भन्ने प्रायस गर्नुहोस् त! एक शब्द नबोलेर, केही नलेखेर कुनै कुरा व्यक्त गर्ने प्रयास गर्नुहोस्। त्यति सजिलो छैन! बहिराहरूले प्रयोग गर्ने इशाराको बोलि पनि वचनकै "बोलि" हो किनभने ती विभिन्न इशाराहरू विभिन्न शब्द वा अक्षरका सट्टामा प्रयोग गरिएका हुन्छन्।परमेश्वर मानिससँग बोल्न इच्छुक हुनुहुन्छ। परमेश्वर आफूलाई मानिसकहाँ प्रकट गर्न इच्छुक हुनुहुन्छ। परमेश्वरले यो काम विभिन्न तरिकाले गर्न सक्नुहुन्थ्यो। उहाँले हामीसँग स्वर्गबाट प्रत्यक्ष बोल्न सक्नुहुन्थ्यो। उहाँले आफ्नो सन्देश बताउन स्वर्गदूतहरू पठाउन सक्नुहुन्थ्यो। तर परमेश्वरले सबभन्दा असल तरिका रोज्नुभयो: उहाँले आफ्नो पुत्र पठाउनुभयो! येशू ख्रीष्ट नै परमेश्वरको स्पष्ट सन्देश हुनुहुन्छ। येशू ख्रीष्ट हाम्रा निम्ति दिइनुभएको परमेश्वरको वचन वा वाणी हुनुहुन्छ! परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ भनी मानिसले देख्न र जान्न सक्न येशू ख्रीष्टले सम्भव तुल्याउनुभयो (यूहन्ना १:१८ र यूहन्ना १४:८-९ लाई तुलना गर्नुहोस्)। यी अन्तिम दिनहरूमा परमेश्वर "हामीसँग ________ ______द्वारा बोल्नुभएको छ" (हिब्रू १:२)। यसैकारण उहाँलाई वचन भनिएको हो।परमेश्वरले मानिसलाई मूलतः दुइटा तरिकाले आफूलाई चिनाउनु भएको छः

  1. आफ्नो जीवित वचन येशू ख्रीष्टद्वारा

  2. आफ्नो लिखित वचन अर्थात् बाइबलका ६६ पुस्तकहरूद्वारा

येशू परमेश्वर हुनुहुन्छ

धेरैको विचारमा येशू एक महान् गुरू वा अगमवक्ता वा विश्वकै सबभन्दा असल मानिस हुनुहुन्थ्यो। तर यूहन्नाको सुसमाचारले छर्लङ्ग पार्दछ कि येशू एक मानिस मात्र हुनुहुन्नथ्यो। यूहन्ना १:१ को आखिरी तीन शब्दहरूले बताउँछ, "________ ______________ ______________।" उहाँ परमेश्वरसँग हुनुहुन्थ्यो अनि उहाँ परमेश्वर हुनुहुन्थ्यो (यूहन्ना १:१)।एउटै व्यक्ति कसरी परमेश्वरसँग हुन र स्वयं परमेश्वर हुन सम्भव छ? तपाईं आफ्नो साथीसँग हुन सक्नुहुन्छ तर स्वयं साथी नै बन्न सक्नुहुन्न। येशूले कसरी भन्न सक्नुहुन्छ, "म परमेश्वरसँग छु अनि म परमेश्वर हुँ"? यसलाई बुझ्न हामीले याद गर्नुपर्छ कि परमेश्वर त्रिएक हुनुहुन्छ अर्थात् एउटै परमेश्वर तीन व्यक्तिहरूमा हुनुहुन्छ।माथिको चित्रले यूहन्ना १:१ को बास्तविक अर्थ बुझ्न मद्त गर्छ:१) येशू "पिता परमेश्वर" सँग हुनुहुन्थ्यो (यूहन्ना १७:५ सित तुलना गर्नुहोस्)।२) येशू परमेश्वर हुनुहुन्थ्यो। उहाँ "पुत्र परमेश्वर" हुनुहुन्छ।हाम्रो सानो दिमागले यो पुर्णरुपमा बुझ्न सकिन्न तरैपनि हामीले उहाँको वचनलाई विश्वास गर्नु परमेश्वरको इच्छा हो! सीमित दिमागले असीमित परमेश्वरलाई कहिल्यै पूर्णरुपमा बुझ्न सक्दैन!येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ भन्ने तथ्य यूहन्ना १:३ मा पनि व्यक्त भएको छः "सबै कुराहरू उहाँद्वारा ____________।" येशू ख्रीष्ट सारा थोकका सृष्टिकर्ता हुनुहुन्छ (कलस्सी १:१६, एफेसी ३:९, हिब्रू १:२ र यूहन्ना १:१० पनि पढ्नुहोस्)। केवल परमेश्वरले सृष्टि गर्न सक्नुहुन्छ! तपाईंले देख्न सक्ने, छुन सक्ने, ज्ञानेन्द्रियहरूद्वारा चिन्न सक्ने सबै कुराहरू येशू ख्रीष्टद्वारा बनाइएका हुन्! जुन क्रूसमा उहाँ मर्नुभयो त्यसको काठ समेत उहाँकै सृष्टि थियो!येशू ख्रीष्टको पहिलो आश्चर्यकर्मले उहाँको सृष्टि गर्न सक्ने सामर्थ्यलाई प्रकट गर्दछ (यूहन्ना २:१-११)। येशूले ती नोकरहरूलाई पानीका घ्याम्पामा पानी भर्ने आज्ञा दिनुभयो (यूहन्ना २:६-७)। एक घ्याम्पामा २०-३० पाथी अटाउन सकिन्थ्यो भनी उल्लेख छ (यूहन्ना २:६)। मानौं प्रत्येक घ्याम्पामा २५ पाथी अट्थ्यो। त्यहाँ कतिवटा घ्याम्पाहरू थिए? ______। सबै घ्याम्पा गरेर जम्मा कति पाथी अट्थ्यो? _________।उहाँको सृष्टि गर्ने सामर्थ्यद्वारा येशू ख्रीष्टले तुरून्तै १५० पाथी बराबरको पानीलाई दाखमद्यमा परिणत गरिदिनुभयो (यूहन्ना २:९)! येशू ख्रीष्टले नै पहिलो मानिसलाई माटोबाट बनाउनुभएको थियो (उत्पत्ति २:७) र उसबाट स्त्रीलाई बनाउनुभयो (उत्पत्ति २:२१-२२) र सबै कुराहरूलाई शून्यबाट (हिब्रू ११:३) बनाउनुभयो! येशू ख्रीष्ट सर्वशक्तिमान् सृष्टिकर्ता हुनुहुन्छ! येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ भन्ने तथ्य यूहन्ना १:१५ मा पनि देखिन्छ। यो पदमा बप्तिस्मा दिने यूहन्नाले दुइटा कुरा भनेका छन् जोहरू आपसमा जुधेका जस्तै देखिन्छन्: १) उहाँ मपछि आउनुहुन्छ। २) उहाँ मभन्दा पहिलो हुनुभएको छ। एउटै व्यक्ति कसरी यूहन्नाको पछि र यूहन्नाको अघि हुन सम्भव छ? यसलाई राम्ररी विचार गरौं:

१. येशू यूहन्ना पछि आउनुभयो

बप्तिस्मा दिने यूहन्ना जन्मेको छ महिना पछि येशू बेथलेहेममा जन्मनुभयो। लूका १:३६ बाट यो जानिन्छ। आफूले नानी जन्माउने कुरा मरियमले थाहा पाउँदा एलिशिबाले यूहन्नालाई गर्भमा बोकेकी छ महिना भइसकेको थियो। साथै येशूले आफ्नो सार्वजनिक सेवाकाई यूहन्नाले भन्दा छ महिना पछि शुरू गर्नुभयो। अर्थात् यूहन्नाले येशूले भन्दा पहिला प्रचार गर्न शुरू गरे।२. यूहन्नाभन्दा पहिला येशू हुनुहुन्थ्योयेशूको जीवन बेथलेहेमको जन्मदेखि शुरू भएको कदापि होइन! येशू बप्तिस्मा दिने यूहन्ना जन्मनुभन्दा धेरै अघिदेखि नै हुनुहुन्थ्यो! येशू ___________ भन्दा धेरै पहिला हुनुहुन्थ्यो (यूहन्ना ८:५८)! वास्तवमा येशू आदमको सृष्टि हुनुभन्दा पनि धेरै पहिलादेखि हुनुहुन्थ्यो! "________मा वचन हुनुहुन्थ्यो" (यूहन्ना १:१ र १:२)। संसार वा कुनै कुरा सृष्टि हुनुभन्दा पहिला येशू ख्रीष्ट हुनुहुन्थ्यो (यूहन्ना १७:५ पढ्नुहोस्)। येशू ख्रीष्ट अनन्तको परमेश्वर हुनुहुन्छ!

उहाँ मानिस बन्नुभयो

अनन्तको परमेश्वर एक मानिस बन्नुभयो: "अनि वचन _________ हुनुभयो, अनि हाम्रा माझमा बास गर्नुभयो" (यूहन्ना १:१४)। येशू ख्रीष्ट आदिमा मानिस हुनुहुन्नथ्यो। यूहन्ना १:१४ ले सिकाउँछ कि उहाँ एक मानिस बन्नुभयो। परमेश्वरको पुत्र शरीर हुनुभयो! उहाँ कन्या मरियमबाट जन्मनुभयो र मानव जातिको एक सदस्य बन्नुभयो। मासु, रगत र हड्डीले बनेको उहाँको एउटा वास्तविक मानव शरीर थियो। हो, वचन शरीर हुनुभयो र हाम्रा माझमा बास गर्नुभयो।एउटा झुसिलकिरो पुतली बन्दछ। बन्दछको तात्पर्य, त्यो एक समय पुतली थिएन। परमेश्वरको पुत्र मानिस बन्नुभयो भन्नुको तात्पर्य उहाँ एक समय मानिस हुनुहुन्नथ्यो। उहाँ सदासर्वदा परमेश्वर हुनुहुन्छ। उहाँ आजभन्दा करीब २००० वर्ष अघि मानिस बन्नुभयो। उहाँ परमेश्वर हुनुहुन्छ साथै मानिस हुनुहुन्छ, अर्थात् उहाँ आफ्नो एउटै व्यक्तित्वमा दुवै परमेश्वर र मानिस (GOD-MAN) हुनुहुन्छ!परमेश्वर मानिस बन्नुभएको वास्तविकतालाई बयान गर्ने एउटा विशेष शब्द छ। त्यो शब्द हो "देहधारण" (INCARNATION)। यसको अर्थ हो, "देह (शरीर) धारण गर्नु"। यसको मतलब ख्रीष्ट शरीरमा आउनुभयो, मानव शरीर धारण गर्नुभयो र एक मानिस बन्नुभयो। हरेक साँचो विश्वासीले भन्न सक्छ, "म स्वीकार गर्छु र विश्वास गर्छु कि येशू ख्रीष्ट _________मा भई आउनुभएको हो" (१ यूहन्ना ४:२ पढ्नुहोस्)।मानिस संसारमा तीन तरिकाले आएका छन्:

  1. सृष्टि (CREATION)--यस तरिकाले आदम र हवा संसारमा आए। आदम र हवाको सृष्टिको निम्ति परमेश्वरबाट एक विशेष आश्चर्यकर्मको आवश्यकता पर्यो।
  2. प्रजनन (PROCREATION)--यस तरिकाले परमेश्वरले बाबुआमाबाट प्राकृतिक जन्मद्वारा संसारमा छोराछोरीहरू ल्याउनुहुन्छ। मानिसहरूलाई संसारमा ल्याउने परमेश्वरको साधारण तरिका यही हो। तपाईं संसारमा यही तरिकाले आउनुभएको हो।
  3. देहधारण (INCARNATION)--यस तरिकाले ख्रीष्ट संसारमा आउनुभयो। यसको निम्ति पनि परमेश्वरबाट एक विशेष आश्चर्यकर्मको आवश्यकता पर्यो अर्थात् कन्याबाटको जन्म। लूका १:३५ पढ्नुहोस्। परमेश्वर मानिस बन्नुभयो तर उहाँ परमेश्वर हुन छोड्नुभएन। उहाँ पूरा परमेश्वर र पूरा मानिस हुनुहुन्छ।

येशू वास्तवमा नै मानिस बन्नुभएको थियो भनी यूहन्नाको सुसमाचारले प्रस्टै देखाएको छ। येशू मानिस हुनुहुन्थ्यो भनी यी पदहरूले कसरी देखाउँछन्?

यूहन्ना २:३________________________________________________________।
यूहन्ना ४:६________________________________________________________।
यूहन्ना ४:७; १९:२८__________________________________________________।
यूहन्ना ११:३५______________________________________________________।
यूहन्ना १९:३०,३३____________________________________________________।

परमेश्वर किन मानिस बन्नुभयो?

ख्रीष्ट संसारमा किन आउनुभयो (१ तिमोथी १:१५)? ______________________ ______________________________। ख्रीष्टले पापीहरूलाई बचाउन सक्न उहाँ तिनीहरूका निम्ति मर्नु आवश्यक थियो! यूहन्ना १:२९ बाट हामी सिक्छौं, ख्रीष्ट परमेश्वरका ______ हुनुहन्छ जसले संसारको ______ उठाई लैजानुहुन्छ। बलिदानको थुमा मारिनु आवश्यक थियो! मुक्तिदाता पापीहरूका निम्ति मर्नु आवश्यक थियो! ख्रीष्टको मृत्यु बिना मानिसले मुक्ति पाउन सम्भव छैन!कतिपय कुराहरू परमेश्वरले गर्न सक्नुहुन्न। उहाँ झूट बोल्न सक्नुहुन्न। उहाँ पाप गर्न सक्नुहुन्न। उहाँ बदलिन सक्नुहुन्न। उहाँ अन्याय गर्न सक्नुहुन्न। परमेश्वरले गर्न नसक्ने अर्को कुरा पनि छः परमेश्वर मर्न सक्नुहुन्न! परमेश्वर अनन्त हुनुहुन्छ। परमेश्वर सदासर्वदा जिउनुहुन्छ! परमेश्वर मृत्युको अधीनमा हुनुहुन्न, उहाँ अविनाशी हुनुहुन्छ (१ तिमोथी १:१७)। तसर्थ, मर्नको निम्ति नै परमेश्वर मानिस बन्न आवश्यक थियो! परमेश्वर मर्न सक्नुहुन्न तर परमेश्वर मानिस बनेर क्रूसमा मर्नुभयो–हामीलाई पापबाट बचाउन। येशू ख्रीष्ट, जो परमेश्वर-तथामानिस (GOD-MAN) हुनुहुन्छ, मर्न सक्नुहुन्थ्यो र वास्तवमै उहाँ हाम्रा निम्ति मर्नुभयो!यूहन्ना २ अध्यायमा येशूले आफ्नो मृत्यु र पुनरूत्थानको बारेमा कुरा गर्नुभयो। उहाँले सर्वप्रथम सराफीहरूलाई धपाउनु भएर पापप्रति घृणा व्यक्त गर्नुभयो (यूहन्ना २:१३-१७)। मन्दिर प्रार्थना र उपासना गर्ने स्थल हुनुपर्थ्यो तर यी मानिसहरू त्यहाँ केवल पैसा कमाउन आएका थिए। तब यूहन्ना २:१९ मा येशूले एउटा महत्वपूर्ण कुरा भन्नुभयो। उहाँ यरूशलेमको मन्दिरको कुरा गर्दैहुनुहुन्थ्यो कि अर्कै मन्दिरको (यूहन्ना २:२०-२१)? ______________________। येशूको भनाइ अनुसार उक्त मन्दिर (उहाँको शरीर) ढालिनेछ (क्रूसको मरणद्वारा) तर तीन दिनमा त्यो फेरी खडा गरिनेछ (मृत्युबाट पुनरूत्थानद्वारा)। के येशूको भनाइ पूरा भयो (यूहन्ना २:२२)? ____________।

ख्रीष्ट येशूप्रति तपाईंको जिम्मेवारी

येशू ख्रीष्टको जन्म यहूदी जातिमा भएको हो। शरीरअनुसार, उहाँ अब्राहाम र दाऊदका सन्तान हुनुहुन्थ्यो (मत्ती १:१)। उहाँ यस संसारमा इस्राएलको मसीह र राजाको रूपमा आउनुभयो। यहूदी जातिले उहाँलाई ग्रहण गरे कि इन्कार गरे (यूहन्ना १:११)? ________________। केही यहूदीहरू (जस्तै यस पुस्तकका लेखक यूहन्ना) ले उहाँमाथि विश्वास गरे तापनि अधिकांश यहूदीहरूले विश्वास गरेनन्। उहाँ आफ्नै जातिद्वारा इन्कार गरिनुभयो। यूहन्नाको सुसमाचार अध्ययन गर्दै जाँदा यहूदी जातिहरूले उहाँलाई इन्कार गरेको हामी बारम्बार देख्नेछौं। उहाँलाई आफ्नो राजा स्वीकार गर्नुको सट्टामा तिनीहरूले भने, "सिजरबाहेक हाम्रो अरु _______ छैन" (यूहन्ना १९:१)। यहुदीहरूका राजालाई तब मारिन क्रूसमा चढाइयो।परेमश्वरले हरेक व्यक्तिलाई येशू ख्रीष्टलाई ग्रहण गर्ने वा इन्कार गर्ने अवसर दिनुहुन्छ। ख्रीष्टलाई ग्रहण गर्ने प्रत्येक नै परमेश्वरका सन्तान हुनेछ भन्ने उहाँको प्रतिज्ञा छ--"तर जतिले उहाँलाई ________ गरे, तिनीहरूलाई उहाँले परमेश्वरका ____________ हुने अधिकार दिनुभयो, अर्थात् तिनीहरूलाई, जसले उहाँको नाममा विश्वास गर्दछन्" (यूहन्ना १:१२)।तपाईं कुन रोज्नुहुन्छ?के तपाईंले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता र प्रभुको रुपमा ग्रहण गर्नुभयो? "विश्वास" शब्द यूहन्नाको सुसमाचारको चावी (मुख्य) शब्दहरू मध्ये एक हो। यो शब्द यूहन्ना १:१२ मा पाइन्छ, घरीघरी यूहन्नाको सुसमाचारभरि पाइन्छ। विश्वास गर्नु भनेको के हो? यूहन्ना १:१२ मा विश्वासग्रहण भन्ने शब्दहरू सँगसँगै प्रयोग भएका छन्।एउटा उदाहरणले यसलाई प्रस्ट पारौं। कुनै चीज वा व्यक्तिको बारेमा विश्वास गर्नु चाहिँ कुनै व्यक्ति वा चीज माथि विश्वास गर्नुभन्दा फरक छ। विकास ज्यादै बिरामी छ। डाक्टरले विकासलाई औषधी दिँदै भन्छ, "यो औषधीले तिमीलाई निको पार्नेछ।" औषधीले उसलाई निको पार्छ भन्ने विकासलाई विश्वास छ। तर त्यतिले विकासलाई निको पार्छ र? __________। उसलाई निको पार्न त्यो औषधी आवश्यक छ भन्ने कुरामा विकास निश्चितछ। शिशीभित्रको झोल उसको रोगको औषधी हो भनेर उसले विश्वास गरेको छ। तर के यो विश्वासले उसलाई निको पार्छ? __________। निको हुनलाई विकासले के गर्नैपर्छ? _____________________________________। उसले व्यक्तिगत रुपमा त्यो झोल औषधी आफ्नो रोगी शरीरभित्र ग्रहण गर्नुपर्छ!परमेश्वर भन्नुहुन्छ, सबै नै पापको रोगले ग्रस्त छन् (यर्मिया १७:९)। पापको एउटै मात्र औषधी येशू ख्रीष्ट हुनुहुन्छ (यूहन्ना १:२९ हेर्नुहोस्–अरु कसैले पाप उर्ठाई लैजान सक्दैन!)। के तपाईंले व्यक्तिगत रुपमा येशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता र प्रभुको रुपमा ग्रहण गर्नुभयो? तपाईंले उहाँलाई आफ्नो जीवनभित्र आउन र तपाईंलाई बचाउन स्वागत गर्नुभयो (प्रकाश ३:२०)? स्मरण होस्, उहाँलाई ग्रहण नगर्नु नै उहाँलाई इन्कार गर्नु हो!

येशूलाई चिनाउने काम

येशू ख्रीष्टलाई ग्रहण गर्ने व्यक्ति ख्रीष्टको साक्षी हुनुपर्छ। साक्षी के हो? वास्तविक साक्षीको एउटा उत्तम नमुना बप्तिस्मा दिने यूहन्नामा पाउँछौं: "परमेश्वरबाट पठाइएका एकजना मानिस थिए, जसको नाम ________ थियो। सबैले उनीद्वारा विश्वास गरून् भनेर ज्योतिको विषयमा गवाही दिनलाई उनी ________का निम्ति आए" (यूहन्ना १:६-७)।साक्षीलाई एउटा काँडसित तुलना गर्न सकिन्छ। बप्तिस्मा दिने यूहन्ना येशूलाई प्रस्ट गरी देखाउने एउटा काँड थिएः स्मरण होस्, काँडले सधैं आफूभन्दा अन्यत्र दिशामा देखाउने काम गर्दछ। काँड आफैं भने देखिन चाहँदैन। जुन कुरालाई काँडले देखाउँदैछ त्यसैलाई हेरियोस् भन्ने लक्ष्य काँडको हुन्छ। मानिसहरूले येशू ख्रीष्टलाई हेरुन् भन्ने इच्छा बप्तिस्मा दिने यूहन्नाको थियो। यूहन्ना बाटो देखाउने एउटा काँड जस्तै थिए जसले येशूलाई औंल्याउँदै भने, "उहाँ नै हुनुहुन्छ!"यूहन्ना आफैं ज्योति थिए कि उनले ज्योतिलाई देखाउने मान्छे थिए (यूहन्ना १:८)? ____________________________________। यूहन्ना आफैं ख्रीष्ट (मसीह) थिए कि ख्रीष्टलाई देखाउने मान्छे थिए (यूहन्ना १:२०,२३,२६,२७)? ________________ ___________________।यूहन्ना १:२९ र १:३६ मा यूहन्नाले "हेर" भन्ने शब्द प्रयोग गरेका छन्। यस शब्दले वक्ताले देखाउने चाहेको कुरातर्फ श्रोताको ध्यानाकर्षण गर्दछ। यूहन्ना भन्दै थिए, "उहाँ नै हुनुहुन्छ! यहाँ उहाँ हुनुहुन्छ (३० पद)! उहाँ नै हो!" यूहन्नाले "हे सबैजना हो, मलाई हेर" भन्दै हिँडेनन्। बरू उनले भने, "हे सबैजना हो, परमेश्वरको थुमालाई हेर! उहाँले हामीलाई हाम्रा पापहरूबाट बचाउनुहुनेछ।"कुनै व्यक्ति मुक्तिको खोजीमा तपाईंकहाँ आए भने तपाईंको जिम्मेवारी के हो? के तपाईंले त्यस व्यक्तिलाई बचाउन सक्नुहुन्छ? _________। के तपाईंले उनका पापहरू क्षमा गर्न सक्नुहुन्छ? के तपाईंले त्यस व्यक्तिलाई स्वर्गमा पुर्याउन सक्नुहुन्छ? _________। तर तपाईंले गर्न सक्ने एउटा ज्यादै महत्वपूर्ण कुरा छः तपाईंले उसलाई बचाउन सक्नुहुने, क्षमा दिन सक्नुहुने र स्वर्गमा पुर्याउन सक्नुहुने एकजना तर्फ औंल्याउन सक्नुहुन्छ! साक्षी त्यो हो जसले मानिसहरूलाई एउटै मुक्तिदाता येशू ख्रीष्ट तर्फ औंल्याउँछ। के हामीहरू उहाँका साक्षीहरू हुनु ख्रीष्टको इच्छा हो (प्रेरित १:८)? _______।

अरुहरूलाई ख्रीष्टमा ल्याउने काम

अनन्तको महान् परमेश्वर पापी मानिसलाई मुक्त गर्न एक मानिस बन्नुभयो! यस मुक्तिदातालाई के तपाईंले आफ्नो मुक्तिदाता तुल्याउनुभयो? के तपाईंले उहाँलाई ग्रहण गर्नुभयो र उहाँको नाममा विश्वास गर्नुभयो (यूहन्ना १:१२)? मुक्ति पाएकाहरूले आफूहरूले भेट्टाएको कुरा अरुसित बाँड्न इच्छुक हुन्छन्। यूहन्ना १:३५-४५ मा ठीक यही काम अन्द्रियासले गरेको पाउँछौं। कुन पदमा अन्द्रियासले एकजनाकहाँ गएर "हामीले मसीहलाई भेट्टाएका छौं" भनी भने? _______। अन्द्रियासले आफ्नै भाइ शिमोन पत्रुसलाई प्रभुकहाँ ल्याए (पद ४२)। फिलिपले पनि अन्द्रियासले जस्तै गरे (यूहन्ना १:४३-४५)। कुन पदमा फिलिप एकजना कहाँ गएर "हामीले उहाँलाई भेट्टाएका छौं" भन्छन्? ________।

नथनएलले इस्राएलका राजालाई भेट्छन्!

जब फिलिपले नथनएललाई आफूले मसीह नासरतका येशूलाई भेट्टाएको कुरा बताए (यूहन्ना १:४५), नथनएलले जवाफ दिए, "के __________बाट कुनै ________ कुरा आउन सक्छ?" (यूहन्ना १:४६)। नथनएल पवित्रशास्त्रको ज्ञान भएका एक यहूदी मानिस थिए। उनले मसीह (इस्राएलका मुक्तिदाता तथा राजा) नासरत शहरबाट आउने कुरा पवित्रशास्त्रमा कतै भेट्टाएका थिएनन्। इस्राएका राजा बेथलेहेमबाट आउनुहुनेछ भनी उल्लेख गर्ने मीका ५:२ को महान् भविष्यवाणीलाई शायद उनले जानेर नै उनले फिलिपलाई त्यसरी जवाफ दिएका थिए। तर "नासरतका येशू" बेथलेहेममै जन्मनुभएको हो भनेर नथनएललाई थाहा थिएन।नथनएल नेभाराको रुखलाई छाडेर फिलिपको पछि लागे। येशूले नथनएललाई भन्नुभएको सबभन्दा पहिलो कुरालाई टिप्पणी गरौं: "हेर, साँच्चै एउटा इस्राएली, जसमा _______ छैन" (यूहन्ना १:४७)। "छल" शब्दको अर्थ हुन्छ "कपट, धोका"। येशू भन्दै हुनुहुन्थ्यो, नथनएल एउटा छलकपट गर्ने व्यक्ति होइन। पवित्रशास्त्रमा बताइएको याकूब जस्तै जालझेल गर्ने मानिस होइन (तुलना गर्नुहोस्, उत्पत्ति २७:३५)। नथनएलको हृदय इमानदार र निष्कपट थियो। त्यस समयमा प्रतिज्ञा गरिएको मसीहको आगमनको बाटो हेरिरहने यहूदीहरूमध्ये ऊ एक थियो।तर नथनएल कस्ता व्यक्ति हुन् भनी येशूले कसरी जान्नुभयो? यूहन्ना १:४८ मा नथनएलले सोधे, "तपाईंले मलाई कहाँबाट चिन्नुभयो?" अर्थात् "मेरो बारेमा जम्मै कुरा कसरी जान्नुभयो?" येशूले दिनुभएको जवाफ झन् छक्कलाग्दो थियो: "फिलिपले तिमीलाई बोलाउनुभन्दा पहिले, तिमी _________को रुखमनि हुँदा नै मैले तिमीलाई _______" (यूहन्ना १:४८)। येशूले नथनएललाई देख्नुभयो यद्यपि येशू त्यहाँ हुनुहुन्नथ्यो! उनी भर्खरै जहाँबाट आएका थिए त्यही ठाउँको दृश्य येशूले बयान गर्नुभएको सुनेर नथनएल छक्कै परे! फिलिपले नथनएलसँग बोल्नु अघि नै येशूलाई नथनएलको बारेमा जम्मै कुरा थाहा थियो!अब नथनएललाई विश्वास लाग्यो कि यस "नासरतको येशू" कुनै साधारण मानिस हुनुहुन्न। उहाँ प्रतिज्ञा गरिएको मसीह नै हुनुपर्छ जसको निम्ति नथनएल बाटो हेर्दैथिएः "तपाईं, ___________का ______ हुनुहुन्छ! तपाईं इस्राएलका ________ हुनुहुन्छ" (यूहन्ना १:४९)।नथनएलले येशू ख्रीष्टको महानताको झलक पाए! तर येशूले थप कुरा गर्नुभयो, "नथनएल, तिमीले एउटा ठूलो कुरा देख्यौ, तर भविष्यमा यी भन्दा ठूला कुराहरू देख्नेछौ" (यूहन्ना १:५० सँग तुलना गर्नुहोस्)। त्यसपछि येशू फर्केर हेर्नुभयो र उहाँलाई पछयाउने सबैलाई भन्नुभयो, "साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, अब उसो तिमीहरूले स्वर्ग ___________ अनि परमेश्वरका _____________लाई _________का पुत्रमाथि उक्लँदै र ओर्लँदै गरेका देख्नेछौ" (यूहन्ना १:५१)।येशूका यी शब्दहरूले नथनएललाई उत्पत्ति २९:१०-१७ मा बताइएको याकूबको सपनाको सम्झना गरायो होला। पृथ्वीदेखि स्वर्गसम्मै पुगेको एउटा भर्याङ्को सपना याकूबले देखेका थिए। त्यस भर्याङ् भएर स्वर्गदूतहरू माथि उक्लँदै र तल ओर्लँदै थिए (उत्पत्ति २८:१२)। यो भर्याङ् वास्तवमा को हुनुहुन्छ भनी यूहन्ना १:५१ बाट जान्न सकिन्छ: परमेश्वरका दूतहरूलाई __________का ______माथि उक्लँदै र ओर्लँदै गरेका देख्नेछौ।" येशू ख्रीष्ट साँचो भर्याङ् हुनुहुन्छ! उहाँ स्वर्ग र पृथ्वीको बीच साँचो पुल हुनुहुन्छ। "____ द्वारा बाहेक कोही पनि _______कहाँ आउँदैन (यूहन्ना १४:६)।" उहाँ नै सिद्ध मध्यस्तकर्ता हुनुहुन्छ जसले पापी मानिसलाई पवित्र परमेश्वरकहाँ ल्याउन सक्नुहुन्छ (१ तिमोथी २:५)। परमेश्वरले मानिसलाई भेट्टाउन सक्नुभएको होस् र मानिसले परमेश्वरलाई भेट्टाउन सकोस् भनी स्वर्गहरू खोलिए। परमेश्वरको सक्रियता प्रकट गर्नुहुने र परमेश्वरकहाँ पलपलको प्रवेश दिलाउनुहुने व्यक्ति प्रभु येशू हुनुहुन्छ।याकूब सपनाबाट ब्युँझे। परमेश्वर मानिसको नजिक आउन जगतमा ओर्लिनुभएछ भनी अब जानेर उनी छक्कै परे। "निश्चय नै यस ठाउँमा _____________ हुनुहुँदोरहेछ, र यो मलाई थाहा थिएन। तिनी साह्रै डराए र तिनले भने, "यो ठाउँ कस्तो भययोग्य रहेछ। यो त परमेश्वरको ______ बाहेक अरु केही होइन रहेछ" (उत्पत्ति २८:१६-१७)। यूहन्नाको सुसमाचारको पूरै विषय यही हो! परमेश्वर स्वर्गबाट ओर्लेर मानिसहरूको बीचमा बस्न आउनुभएको छ (यूहन्ना १:१४)!कहिले हो स्वर्गहरू खोलिने र कहिले हो ख्रीष्टसँगै स्वर्गदूतहरू देखिने र कहिले हो मानिसहरूले साँच्चै बुझ्ने, येशू साँच्चै नै इस्राएलका राजा हुनुहुन्छ भनेर (यूहन्ना १:५१ पढ्नुहोस्)? ख्रीष्टको पहिलो आगमनमा यो कुरा प्रकट गरियो जब परमेश्वर मानिसहरूका बीचमा बास गर्न आउनुभयो। यो कुरा येशू ख्रीष्टको दोश्रो आगमनमा पनि प्रकट गरिनेछ। दनियल ७:१३-१४ पढ्नुहोस् जुन खण्डसित नथनएल शायद राम्ररी परिचित थिए। साथै येशूले मत्ती २६:६४ मा भन्नुभएको कुरालाई र २ थेस्सलोनिकी १:७ पद पनि पढ्नुहोस्। नथनएलले देखेका नासरतका येशू उहाँ नै हुनुहुन्थ्यो जो पापी मानिसलाई बचाउन नम्र बनेर गरीब र होचो बन्नुभएको थियो। नथनएलले देखेका नासरतको येशू भविष्यमा राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुनेछ।सम्भवतः नथनएल येशूका बाह्र चेलाहरूमध्येका एक बने। उनको अर्को नाम शायद "बार्थोलोमाइ" (मत्ती १०:१३ हेर्नुहोस्) थियो। मत्ती, मर्कूस र लूकाको सुसमाचारमा फिलिप र बार्थोलोमाइका नामहरू जहिले पनि सँगै उल्लेख गरिएको तथ्यबाट बार्थोलोमाइ भनिने व्यक्ति सम्भवतः नथनएल नै हुन् भन्ने देखिन्छ।साँच्चै नै ख्रीष्टलाई भेट्टाएकाहरूले अरुले पनि उहाँलाई भेट्टाएका चाहन्छन्। आज हामीले अन्द्रियास र फिलिपले जस्तै गरी मानिसहरूलाई येशूमा ल्याउन सक्दैनौं। तर हामीले मानिसहरूलाई बाइबलमा ल्याउन सक्छौं, अनि बाइबलका पन्नाहरूद्वारा तिनीहरूले ख्रीष्टलाई भेट्टाउन सक्छन्। आगामी पाठमा हामीले यूहन्नाको तेश्रो अध्याय अध्ययन गर्नेछौं। त्यहाँ येशूले मुक्तिको बारेमा र नया जन्म पाउने बारेमा के सिकाउनुभयो सो बुझ्ने अवसर पाउनेछौं। परमेश्वरको वचन जति राम्ररी आफूले बुझ्छौं त्यति नै अरुहरूलाई हामीले सहायता गर्न सक्नेछौं!