(अब्राहामको बोलावटदेखि व्यवस्था नदिइएसम्म)
परमेश्वरले बाबेलको शहरमाथि इन्साफ गर्नुभएको परिणामस्वरूप थुप्रै जातिहरूको उद्भव भयो (अघिल्लो पाठमा हेर्नुहोस्)। यी विभिन्न जातिहरूका बारेमा उत्पत्ति अध्याय १० ले बताउँदछ (विशेष गरी पद ५, २०, ३१-३२)। वर्षौं बितेपछि परमेश्वरले एउटा विशेष काम गर्नुभयो। परमेश्वरले एउटा मानिसलाई चुन्नुभयो जो नै एउटा विशेष जातिको पिता भए। उनको नाउँ के थियो (उत्पत्ति १२:१-३; १७:५)? ________________।
त्यसबेलादेखि निम्नहरू सित परमेश्वरले विशेष प्रकारले व्यवहार गर्न थाल्नुभयो...
| एउटा मानिससित |
|
अब्राहाम |
| एउटा परिवारसित |
|
अब्राहामको परिवार |
| एउटा जातिसित |
|
अब्राहामबाट आउने जाति (इस्राएल) |
अब्राहामको सन्तानहरूलाई तलको चार्टमा उल्लेख गरिएको छ:

यी बाह्रजना पुरुषहरूबाट नै इस्राएल जाति आएको हो
अब्राहामको बोलावटको विवरण उत्पत्ति अध्याय १२ मा पाउँछौं। उत्पत्ति १२:१ मा परमेश्वरले अब्राहामलाई उनी बसोबास गरिरहेका भूमि (उनको घर, परिवार, समाज, मित्रहरू) बाट अर्को नयाँ भूमिमा जानलाई बोलाउनुभएको कुरा पढ्छौं, "जुन ________ म तँलाई देखाउँछु त्यहाँ जा।" यो सजिलो काम थिएन। तपाईंलाई आफ्नो घर, आफ्नो देश, आफ्ना आफन्त, आफ्ना मित्रगणलाई छोडेर आफूले कहिल्यै नदेखेको देशमा जान भनिएको भए के त्यसो गर्न तपाईंलाई सजिलो लाग्थ्यो होला?
बाइबलले अब्राहामको परिवारको बारेमा धेरै बताउँदैन तर यहोशू २४:२ मा अब्राहामका बाबु तेरह (उत्पत्ति ११:२७) को बारेमा हामी केही जानकारी पाउँछौं। तेरहले "______ _________हरू पुज्दथे" (यहोशू २४:२ को आखिरी भागमा हेर्नुहोस्)। अब्राहामका परिवारले एकमात्र जीवित र साँचो परमेश्वरलाई पुज्दैनथे। तिनीहरू मूर्तिपूजकहरू थिए। तिनीहरूले अस्तित्वहीन झूटा देवदेवीहरूको सेवा गर्दथे। अब्राहामका परिवार एउटा झूटा धर्ममा संलग्न थिए अनि परमेश्वरले अब्राहामलाई त्यसदेखि बाहिर बोलाउनुभयो। के आज पनि परमेश्वर मानिसहरूलाई झूटा धर्महरूबाट बाहिर निकाल्न चाहनुहुन्छ (१ थेस्सलोनिकी १:९)? ___________________।
उत्पत्ति १२:२-३ मा परमेश्वरले अब्राहामलाई अति सुन्दर प्रतिज्ञाहरू दिनुभयो। त्यसबेलासम्ममा परमेश्वरले यस्ता प्रतिज्ञाहरू पृथ्वीका कुनै मानिसलाई दिनुभएको थिएन। यी प्रतिज्ञाहरू अति विशेष थिए जुन प्रतिज्ञाहरूलाई परमेश्वरले अब्राहाम र अब्राहामका सन्तानहरूलाई दिनुभयो। उत्पत्ति १२:२-३ मा परमेश्वरले कति पटक "गर्नेछु" वा "दिनेछु" वा "गराउनेछु" भन्नुभयो? _______। प्रतिज्ञा गर्नु भनेको "म केही गर्नेछु" वा "म गर्नेछैनँ" भन्ने वचन दिनु हो। यी पदहरूमा अब्राहामका निम्ति आफूले केही गरिदिनेछु भनी परमेश्वरले आफ्नो वचन दिनुभयो। यी प्रतिज्ञाहरूको बारेमा विचार गरौं:
यी दुई पदहरू (उत्पत्ति १२:२-३) मा परमेश्वरले अब्राहामलाई वास्तवमा चारओटा प्रतिज्ञाहरू दिनुभएको पाइन्छ:
के अब्राहामले परमेश्वरले उनलाई भन्नुभएबमोजिम गरे (उत्पत्ति १२:४; हिब्रू ११:८ पनि पढ्नुहोस्)? __________।
अब्राहामलाई परमेश्वरले दिनुभएको अर्को प्रतिज्ञा उत्पत्ति १३:१४-१७ मा पाइन्छ। अब्राहामलाई के दिनेछु भनी परमेश्वरले प्रतिज्ञा गर्नुभयो? ____________________________________________। उत्पत्ति १५:१८ मा यही प्रतिज्ञा फेरी दोहोर्याइएको पाइन्छ। उक्त पदअनुसार परमेश्वरले अब्राहामलाई मिश्रदेशको नदी (नील नदी) देखि यूफ्रेटिस नदीसम्मको भूमि दिने प्रतिज्ञा गर्नुभयो। बाइबलको नक्सामा यी दुई नदीहरूलाई भेट्टाउन सक्नुहुन्छ? परमेश्वरले इस्राएललाई यी दुई नदीहरूको बीचको भूमि दिनुभयो!
अब्राहामलाई दिइएका परमेश्वरका सुन्दर प्रतिज्ञाहरू उत्पत्ति १७:५-८ मा पान्छन्। यी पदहरूमा परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्दै "तुल्याउनेछु" वा "बनाउनेछु" वा "गर्नेछु" वा "दिनेछु" वा "हुनेछु" जम्मा कति पटक भन्नुभयो? _________। उत्पत्ति १७:८ मा अब्राहाम र अब्राहामको सन्तानसित परमेश्वरले एउटा अति विशेष सम्बन्ध राख्ने प्रतिज्ञा गर्नुभएको पाइन्छ, "म _______________ ____________ हुनेछु।"
के परमेश्वरले यी प्रतिज्ञाहरू अब्राहामका छोरा इसाहकलाई पनि दिनुभयो (उत्पत्ति २६:१-५)? ____________। के परमेश्वरले यी प्रतिज्ञाहरू इसाहकका छोरा याकूबलाई पनि दिनुभयो (उत्पत्ति २८:१०-१५)? ____________।
यी तीन व्यक्तिहरू (अब्राहाम, इसाहक र याकूब) लाई ज्यादै विशेष प्रतिज्ञाहरू दिइएका थिए। आफूले के-के गरिदिनेछु भनी उनीहरूलाई परमेश्वरले आफ्नो वचन दिनुभएको थियो। मान्छेले आफ्नो प्रतिज्ञा तोड्न सक्छ तर परमेश्वरले आफ्नो प्रतिज्ञा कहिल्यै तोड्नुहुन्न। मान्छेले आफूले बोलेको वचन पूरा नगर्न सक्छ तर परमेश्वरले आफूले बोलेको वचन सधैं पूरा गर्नुहुन्छ। स्वर्गमा एक परमेश्वर हुनुहुन्छ जो आफ्नो प्रतिज्ञामा विश्वासयोग्य हुनुहुन्छ। निम्न पदहरूलाई पढेर वाक्य पूरा गर्नुहोस्:
परमेश्वरले अब्राहाम, इसाहक र याकूबका हातमा ज्यादै ठूला र बहुमूल्य प्रतिज्ञाहरू राखिदिनुभएको थियो। मानिसले परमेश्वरबाट जब प्रतिज्ञा प्राप्त गर्दछ तब उसको जिम्मेवारी के हुन्छ? उसको जिम्मेवारी यो हुन्छ, विश्वास गर्नु! परमेश्वरले प्रतिज्ञा दिनुभयो भने मानिसले उक्त प्रतिज्ञालाई पक्रनुपर्छ, त्यसलाई अँगाल्नुपर्छ, त्यसलाई बलियो गरी समाउनुपर्छ अनि विश्वास गर्नुपर्छ कि परमेश्वरले जे भन्नुभएको छ त्यो सत्य छ (हिब्रू ११:१३ पढ्नुहोस्)। उसले भन्नुपर्छ, "परमेश्वरले भन्नुभएको कुरा हो यो, यो म विश्वास गर्छु।" विश्वास भनेको परमेश्वरलाई उहाँको मुखको वचनको आधारमै मान्नु हो। परमेश्वरले जे गर्नेछु भन्नुभएको छ ठीक त्यही गर्नुहुनेछ भनी सीधै मानिलिनु नै विश्वास हो।
अब्राहामको विश्वास उत्पत्ति १५:५-६ मा देखिन्छ। आकाशमा झलमल्ल ताराहरू देखिने एउटा रातको कुरा हो, परमेश्वरले अब्राहामलाई "यदि तारा गन्न सक्छस् भने गनिहेर्" भन्नुभयो (पद ५)। अब्राहामले त्यसो गर्न सके होलान्? ____________। सृष्टिमा अनगिन्ति ताराहरू छन्। जति नियालेर हेर्यो (विशाल दूरदर्शक यन्त्रहरूले किन नहोस्) त्यति नै धेरै ताराहरू भेटिन्छन्। ताराहरू यति धेरै छन् कि तिनीहरूलाई गन्नै सकिन्न! तब परमेश्वरले अब्राहामलाई भन्नुभयो, "तेरा ______________ पनि त्यस्तै हुनेछन् (पद ५।"
त्यतिखेर अब्राहामको एउटै सन्तान थिएन तर परमेश्वरले उसलाई यस्तो अचम्मको प्रतिज्ञा दिनुभयो, जसरी ताराहरू असंख्य छन्, तिम्रा सन्तान पनि असंख्य हुनेछन्! के अब्राहामले परमेश्वरको प्रतिज्ञालाई विश्वास गरे (उत्पत्ति १५:६)? _________। परमेश्वरले आफ्नो प्रतिज्ञा (जुन उत्पत्ति २२:१७ मा पनि उल्लेख छ) अचम्म तरिकाले पूरा गर्नुभयो। जब अब्राहामका सन्तानहरू तल मिश्रदेशमा झरे, तब उनीहरू ७० जना मात्र थिए (प्रस्थान १:५ पढ्नुहोस्)। उनीहरूलाई सजिलै गन्न सकिन्थ्यो। के परमेश्वरले यस जातिलाई वृद्धि गराएर थुप्रै संख्याको एक विशाल जाति बनाउनुभयो? यसको जवाफ पत्ता लगाउन प्रस्थान १:७-१२,२० र ५:५ पढ्नुहोस् अनि प्रेरित ७:१७ सित तुलना गर्नुहोस्। आज संसारमा करोडौं यहूदीहरू (अब्राहामका सन्तानहरू) छन्!
परमेश्वरको प्रतिज्ञा दिइएको व्यक्तिको जिम्मेवारी के हो, सो देखाउन परमेश्वरले अब्राहामलाई नमुनास्वरूप प्रस्तुत गर्नुभएको छ। हामीले अब्राहामले जस्तै परमेश्वरलाई विश्वास गर्नुपर्छ। यहूदी वा अन्यजाति प्रत्येकले नै अब्राहामले जस्तै परमेश्वरलाई विश्वास गर्नुपर्छ। प्रत्येक मानिसलाई दिइएको जिम्मेवारी यो हो, उसले परमेश्वरलाई विश्वास गर्नुपर्छ, ऊसँग अब्राहामको विश्वास हुनुपर्छ जो "उहाँले जे ____________ गर्नुभएको छ, सो पूरा गर्नालाई उहाँ __________ पनि हुनुहुन्छ भनी उनी पूरा ____________मा रहे" (रोमी ४:२१)।
साथै आशिषको स्थानमा रहिरहनु पनि आवश्यक थियो। उत्पत्ति २६:३ मा परमेश्वरले इसाहकलाई भन्नुभयो, "त्यही _________मा बसोबास गर्, र म तँसँग रहनेछु।" इसाहकलाई ______ देश नजान आज्ञा दिइएको थियो (उत्पत्ति २६:२)। प्रतिज्ञाको देश (प्यालेस्टाइनको भूमि) नै आशिषको देश थियो। जब जब इस्राएलका सन्तानहरू प्रतिज्ञाको देशबाहिर जान्थे तब तब उनीहरू प्राय: समस्यामा पर्नेगर्थे, जसरी उनीहरू मिश्रदेशमा कमारा-कमारीहरू बने र बेबिलोनमा प्रवासीहरू बने। परमेश्वरले उनीहरूलाई एउटा ज्यादै विशेष भूमि दिनुभएको थियो र उनीहरू यही भूमिमा रहनुपर्थ्यो र परमेश्वरमाथि विश्वास गर्दै उहाँको सेवा गर्नुपर्थ्यो!
अब्राहाम विश्वासका मानिस (विश्वासमा जिउने मानिस) थिए (उत्पत्ति १५:६), तर त्यस्ता समयहरू पनि आए जब उनलाई परमेश्वरको प्रतिज्ञालाई विश्वास गर्न गाह्रो भयो। जस्तै, उत्पत्ति १६ अध्यायमा, परमेश्वरले उनकी पत्नी सराईद्वारा सन्तान दिन सक्नुहुन्छ भनेर उनले परमेश्वरमाथि विश्वास गर्न सकेनन्। त्यसैले उनले सराईकी दासी हागारद्वारा सन्तान जन्माए। आफ्नी पत्नीको सल्लाहलाई सुन्नुको सट्टा (पद २), अब्राहामले यसरी भन्नुपर्नेथ्यो, "सराई, परमेश्वरले हामीलाई सन्तान दिने प्रतिज्ञा गर्नुभएको छ। हामी वृद्ध भइसकेका छौं र अहिलेसम्म हाम्रो सन्तान भएको छैन, तरैपनि परमेश्वरले आफ्नो वचन पूरा गर्न सक्नुहुन्छ भन्ने मलाई विश्वास छ! उहाँको निम्ति कुनै कुरा औधी कठिन छैन!"
पछि, के आब्राहामले परमेश्वरको प्रतिज्ञालाई विश्वास गरे (रोमी ४:२०-२१ पढ्नुहोस्)? ______।
एसाव र याकूब जन्मनुभन्दा अघि याकूब ("कान्छो") ले उहाँको आशिष पाउनेछ भनी परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो (उत्पत्ति २५:२१-२३)। तर इसाहकले आफ्नो अर्कोचाहिँ छोरा एसावलाई बढी माया गरे (उत्पत्ति २५:२८)। इसाहकले कुनचाहिँ छोरालाई आशिष दिने निर्णय गरे (उत्पत्ति २७:१-४)? _________________। परमेश्वरले "म याकूबलाई आशिष दिनेछु" भन्नुभएको थियो तर इसाहकले परमेश्वरको वचनलाई काट्दै भन्छन्, "म एसावलाई आशिष दिनेछु!" परमेश्वरलाई उहाँको वचनकै आधारमा मान्नु (विश्वास गर्नु) को सट्टा इसाहकले परमेश्वरको वचनलाई काट्दै थिए (अविश्वास गर्दैथिए)। आखिरमा यस्तो भयो, इसाहकलाई छल गरियो अनि पत्तै नपाई इसाहकले याकूबलाई आशिष दिए! यो कुरा अन्तमा इसाहकले थाहा पाएपछि उनले परमेश्वरलाई खण्डन गर्न छाडे र परमेश्वरसित सहमत भए, "हो, त्यो (याकूब) चाहिँ आशीर्वादी हुनेछ (उत्पत्ति २७:३३)।" परमेश्वरले "म याकूबलाई आशिष दिनेछु!" भन्नुभएको थियो अनि इसहाक अन्तमा सहमत भए र भने, "याकूब आशिषित हुनेछ!" विश्वासको मानिस परमेश्वरको वचनसित सहमत हुन्छ र उसले परमेश्वरको वचनलाई काट्दैन (हिब्रू ११:२० पढ्नुहोस्।
पटक-पटक परमेश्वरले याकूबलाई आशिष दिने प्रतिज्ञा गर्नुभएको थियो (उत्पत्ति २८:१३-१५; ३२:२४-२९; ३५:९-१२)। तर त्यस्ता समयहरू आए जब याकूबले परमेश्वरको आशिष साँच्ची नै आफूमाथि हुनेछ भनेर विश्वास गर्न सकेनन्। उत्पत्ति ४२:३६ पढ्नुहोस्। याकूब त्यतिखेर वृद्ध भइसकेका थिए। आफ्नो प्रिय छोरो यूसुफ मरिसकेका छन् भन्ने उनलाई लाग्थ्यो (उत्पत्ति ३७:३१-३५ सित तुलना गर्नुहोस्)। आफ्नो छोरो बिन्यामीनलाई पनि गुमाउनेछु होला भन्ने उनलाई लाग्दैथ्यो अनि अर्को छोरा सिमियोनलाई कहिल्यै देख्न पाउँदिनँ भन्ने पनि उनलाई लाग्दैथ्यो। निराश भई याकूब विलाप गर्छन्, "यी सबै घटना __________ _______ (मेरो विरुद्धमा) आएको छ" (उत्पत्ति ४२:३६)। परमेश्वरको आशिष आफूमाथि छ भनी विश्वास गर्नुको सट्टा उनले आफूमाथि परमेश्वरकै सराप लागेको छ भन्ने जस्तै व्यवहार गर्दैथिए याकूबले!
आफू कहाँसम्म गलत रहेछु भन्ने कुरा याकूबले केही समयपछि थाहा पाए। परमेश्वरले आफ्नो सुन्दर योजनाअनुसार काम गर्दै हुनुहुन्थ्यो अनि याकूबले आफ्ना सबै छोराहरूलाई, यूसुफलाई समेत, जिउँदै देख्नेवाला थिए! सबै कुराहरू उनको विरुद्धमा हुनुको साटो सबै कुराहरू उनकै भलाइका निम्ति काम गर्दैथिए (रोमी ८:२८ सित तुलना गर्नुहोस्)। आफ्ना कठिनाइहरूको बीचमा उनले यसरी भन्नुपर्नेथ्यो, "म बुझ्दिनँ, किन मलाई यस्ता कुराहरू आइपरिरहेका छन् तर मलाई विश्वास छ, परमेश्वर जान्नुहुन्छ र उहाँले जसरी भए पनि यी सबैका बाबजुद पनि मलाई आशिष नै दिनुहुनेछ!"
याकूबका बाह्र भाइ छोरा थिए (यस पाठको पहिलो पृष्ठको चित्रलाई हेर्नुहोस्)। यीमध्ये दसजनाले आपसमा मिलेर आफ्नो भाइ यूसुफलाई गरेका अति दुष्ट व्यवहार उत्पत्ति ३७ अध्यायमा पढ्नुहोस्। उनीहरूले यूसुफको हत्या गर्ने योजना गरे (उत्पत्ति ३७:२०) तर आखिरमा यस्तो भयो, उनीहरूले उनलाई मिश्रदेशमा लगिन एउटा दासको रूपमा बेचे (उत्पत्ति ३७:२८) अनि आफ्ना बाबुलाई छल गरेर आफ्नो पापलाई ढाकछोप गरे (उत्पत्ति ३७:३१-३४)। यी सब हुनुको पछाडि के थियो भने यी दाजुहरूले यूसुफको डाहा गर्थे किनकि यूसुफले उनीहरूले भन्दा बढी माया पाएका थिए।
यी दसजना दाजुहरूले परमेश्वरको प्रतिज्ञालाई याद गर्नुपर्नेथ्यो! परमेश्वरको आशिष दिने प्रतिज्ञा याकूबका सबै छोराहरूका निम्ति थियो, यूसुफको निम्ति मात्र होइन! यदि यी दाजुहरूले परमेश्वरको प्रतिज्ञालाई विश्वास गरेका भए यूसुफप्रति उनीहरूको व्यवहार बग्लै हुनेथ्यो। त्यो बुझेका भए उनीहरूले यसरी भन्न सक्नेथिए, "यूसुफले विशेष कुराहरू पाइरहेका छन् (उत्पत्ति ३७:३) तरैपनि हामी यो नबिर्सौं, परमेश्वरको आशिष भनेको अब्राहाम, इसाहक र याकूबका सबै नै सन्तानहरूलाई हो। परमेश्वरले हामीलाई पनि आशिष दिनुहुनेछ अनि हामीले चाहिँ धैर्य गर्नुपर्छ, पर्खनुपर्छ। परमेश्वरले जे भन्नुभएको छ ठीक त्यही पूरा गर्नुहुनेछ।"
उनीहरूको इतिहासभरि नै इस्राएलका सन्तानहरूले परमेश्वरलाई उहाँको वचनको आधारमा मान्न, उहाँका प्रतिज्ञालाई विश्वास गर्न विफल भए। निम्न खण्डहरूलाई पढ्नुहोस् र इस्राएलका सन्तानहरूले परमेश्वरलाई विश्वास गर्न कसरी विफल भए भन्ने कुराको व्याख्या गर्नुहोस्:
परमेश्वरले उनीहरूलाई आशिष दिने र उनीहरूको सम्पूर्ण आवश्यकताहरू पूरा गरिदिने प्रतिज्ञा गर्नुभएको थियो तर इस्राएलका सन्तानहरूले प्रतिज्ञालाई विश्वासै गरेनन्।
यूसुफका दाजुहरूले उनलाई मिश्रदेशमा दासको रूपमा लगिनका निम्ति बेचिदिँदा, उनीहरूले यो महसुस गरेनन् कि एक दिन उनीहरूका सबै सन्तान नै मिश्रदेशमा दास बन्नेछन् भनेर।
त्यसो हुन भन्दा धेरै पहिला नै परमेश्वरले अब्राहामलाई मिश्रदेशको दासत्वको बारेमा बताउनुभएको थियो। यो कुरा उत्पत्ति १५:१२-१४ मा उल्लेख छ। एक रात अब्राहामले नराम्रो सपना देखे (पद १२)। तब परमेश्वरले अब्राहामलाई बुझाउनुभयो, उनका सन्ततिहरू एउटा देशमा प्रवासी हुनेछन् जुन देश तिनीहरूको होइन (मिश्रदेश)। उनीहरू त्यहाँ ती परदेशीहरूको सेवा गर्नेछन् र उनीहरू कति वर्षसम्म थिचोमिचोमा पर्नेछन् भनी परमेश्वरले भन्नुभयो (उत्पत्ति १५:१३)? _________________। परमेश्वरले यो पनि प्रतिज्ञा गर्नुभयो, उहाँले मिश्रदेशमाथि इन्साफ गर्नुहुनेछ र इस्राएलका सन्तानहरूलाई त्यो देशबाट बाहिर निस्कन सम्भव तुल्याउनुहुनेछ (उत्पत्ति १५:१४)।
उत्पत्ति ४६:३-४,२७ मा याकूब र उनका छोराहरू मिश्रदेशमा बसोबास गर्नलाई तल झरेको कुराको उल्लेख छ। त्यतिखेर सात वर्षे लामो नराम्रो अनिकालको समय थियो। अनिकालको समय बितेपछि याकूबका छोराहरू मिश्रमै बसे र उनीहरू प्रतिज्ञाको देशमा फर्केनन्। वास्तवमा याकूबका बाह्रै भाइ छोराहरू मिश्रदेशमा नै मरे। प्रस्थानको पहिलो अध्यायमा देख्छौं, इस्राएलका सन्तानहरू कसरी त्यस देशमा कमारा-कमारीहरु बने। त्यो दासत्व कति कठोर थियो भन्ने कुरा तलको जोडा मिलाउने अभ्यासबाट बुझ्न सकिन्छ:
|
१. ____ उनीहरूलाई काममा यति बेसरी खट्न लगाइयो कि उनीहरूको जीवनै तीतो बन्यो। २. ____ इट्टा बनाउने कच्चा पद्धार्थचाहिँ घटाइदिएर पहिला बुझाइरहेकै जति इट्टा बुझाउनुपर्छ भन्ने आदेश उनीहरूलाई दिइयो। ३. ____ उनीहरूले मिश्रका राजा फारोका निम्ति शहरहरू निर्माण गर्नुपर्यो। |
(क) प्रस्थान १:११ (ख) प्रस्थान १:१४ (ग) प्रस्थान ५:६-१९ |
वर्षौंसम्म कठिनाइ र कष्ट भोगेपछि इस्राएलका सन्तानहरूले आफ्नो क्रूर दासत्वको कारण पुकारा गरे अनि ______________ले तिनीहरूको पुकारा सुन्नुभयो (प्रस्थान २:२३-२५; प्रेरित ७:३४)। उनीहरूलाई उनीहरूको त्यो डरलाग्दो बन्धन र दासत्वदेखि छुटकारा दिन सक्ने केवल परमेश्वर मात्र हुनुहुन्थ्यो।
त्यस्तो दासत्वकै बीचमा पनि परमेश्वरले यस जातिलाई अति सुन्दर प्रतिज्ञाहरू दिनुभयो। प्रस्थान ६:६-८ पढ्नुहोस्। यी पदहरूमा "निकाल्नेछु" वा "गर्नेछु" वा "हुनेछु" वा "ल्याउनेछु" वा "दिनेछु" भन्ने प्रतिज्ञापूर्ण वचनहरू जम्मा कतिपटक पाइन्छन्? ________। के परमेश्वरले यी सबै प्रतिज्ञाहरू पूरा गर्नुभयो? परमेश्वरले आफ्ना जनहरूलाई दासत्वको देशबाट प्रतिज्ञाको देशभित्र फर्काएर ल्याउनुभयो! प्रस्थानको पुस्तकले उनीहरूलाई मिश्रदेशबाट बाहिर निकालिएको घटनाको बयान गरेको छ भने यहोशूको पुस्तकले चाहिँ उनीहरूलाई प्रतिज्ञाको देशभित्र प्रवेश गराइएको घटनाको बयान गरेको छ।
स्मरण होस्, परमेश्वरले इस्राएल जातिलाई दिनुभएको आफ्नो वचनलाई कहिल्यै तोड्नुभएको छैन, उनीहरूलाई दिइएको प्रतिज्ञालाई उहाँले कहिल्यै फिर्ता लिनुभएको छैन। एक पटक इस्राएल राष्ट्रलाई सराप दिन भनी एकजनालाई काम लगाइएको थियो (गन्ती २३:७-१८ पढ्नुहोस्)। उनको नाउँ बालाम थियो। यस मानिसले इस्राएललाई सराप दिन सक्दै सकेनन् (गन्ती २३:८ पढ्नुहोस्) अनि यसको कारणचाहिँ गन्ती २३:१९ मा लेखिएको छ! परमेश्वरले इस्राएल राष्ट्रका निम्ति केही निश्वित कुराहरूको प्रतिज्ञा गर्नुभएको छ अनि परमेश्वर आफ्नो वचनमा पछि हट्न सक्नुहुन्न!
परमेश्वरले तपाईंलाई दिनुभएका ठूला-ठूला सुन्दर प्रतिज्ञाहरूलाई तपाईं के गर्दैहुनुहुन्छ? परमेश्वरका सुन्दर प्रतिज्ञाहरूले हामीलाई कुनै लाभ हुँदैन जबसम्म हामी ती प्रतिज्ञाहरूलाई विश्वास गर्दैनौं। हिब्रू ४:१-२ लाई विचार गरौं। इस्राएलका सन्तानहरूलाई एउटा प्रतिज्ञा दिइएको थियो तर उनीहरूले उक्त प्रतिज्ञालाई विश्वास गरेनन्। परमेश्वरको वचनलाई _____________सित नमिसाएसम्म त्यसले हामीलाई कुनै फाइदा दिँदैन (हिब्रू ४:२)।
एउटा दानाको विचार गरौं। त्यो दानालाई जमीनमा रोपियो भने त्यो उम्रेर एउटा सुन्दर बोट बन्छ र धेरै फल दिन्छ। तर त्यो दानालाई काठको टेबुलमाथि वा कुनै त्यस्तै कडा सतहमाथि राखिछाड्यौं भने त्यसले कसैलाई कुनै फाइदा दिन सक्दैन। परमेश्वरको वचन त्यो दाना जस्तै हो। परमेश्वरको वचन हाम्रो हृदयमा गहिरो गरी रोपिनुपर्छ र हामीले परमेश्वरले भन्नुभएको कुरालाई विश्वास गर्नुपर्छ। मानौं तपाईंको बाबुले तपाईंलाई यसरी भन्नुभयो, "म तिम्रो जाकेटको खल्तिभित्र एक सय रुपैयाँ राखिदिनेछु अनि तिमी शहर जाँदा तिमीलाई खर्च गर्नलाई त्यो प्रयोग गर्न सक्नेछौ।" यदि तपाईंले त्यो कुरा विश्वासै गर्नुभएन भने तपाईं शहर पुग्दा त्यो पैसाले तपाईंलाई कुनै फाइदा दिन सक्नेछैन किनकि आफूसँग पैसा छ भनेर तपाईंले विश्वास गर्नुभएन भने उक्त पैसालाई तपाईंले खर्च गर्न पनि सक्नुहुन्न! बुद्धिमानी काम यो हो: बाबुले भन्नुभएको कुरालाई विश्वास गर्नु, आफ्नो खल्तिभित्र हात हाल्नु, पैसालाई झिक्नु र त्यसलाई प्रयोग गर्नु!
यी प्रतिज्ञाहरूलाई आफ्नो दैनिक जीवनमा कसरी प्रयोग गर्दैहुनुहुन्छ? के परमेश्वरले तपाईंलाई दिनुभएका अन्य प्रतिज्ञाहरूको तपाईंलाई याद छ जुन प्रतिज्ञाहरूलाई तपाईंले विश्वास गरेको उहाँ चाहनुहुन्छ? फिलिप्पी अध्याय ४ मा कुन-कुन प्रतिज्ञाहरू भेट्टाउन सक्नुहुन्छ?
माथि उल्लेखित प्रतिज्ञाहरूलाई मनन गर्ने क्रममा यसरी विचार गरौं: निम्न परिस्थितिहरूमा तपाईंले कुनचाहिँ प्रतिज्ञाहरूलाई प्रयोगमा ल्याउन सक्नुहुन्छ?
एक व्यक्तिले गर्न सक्ने सबैभन्दा बुद्धिमानी काम यो हो -- परमेश्वरले भन्नुभएको कुरालाई विश्वास गर्नु! के परमेश्वरलाई खुशी पार्ने अरू कुनै उपाय छ (हिब्रू ११:६)? _________।
"विश्वास भन्छ, परमेश्वरले
आफ्नो वाचा पूरा गर्छन्
विफल हुनेछैनन् उनी, उनका वचन सत्य हुन्छन्।
उनलाई ग्रहण गरे बन्छौं उनका प्रिय सन्तान हामी
(यूहन्ना १:१२)
विश्वास भन्छ, मानिलिन्छु, अधिकार यो पाएँ भनी!"
|
पालुङ चर्च |