अघिल्लो पाठमा हामीले बाइबलीय अर्थमा "प्रबन्ध भनेको के हो" भन्ने प्रश्नको उत्तर दिने प्रयास गर्यौं। यस शब्दको अर्थ के हो, के तपाईंलाई याद छ? जब हामी "अब्राहाम र पावल बेग्ला-बेग्लै प्रबन्ध अन्तर्गत जिउँदथे" भन्छौं, यसको मतलव के हो?
यस पाठमा हामी अर्को एउटा महत्वपूर्ण प्रश्नको उत्तर दिने प्रयास गर्नेछौं: "कस्तो व्यक्तिलाई प्रबन्धवादी (Dispensationalist) भनिन्छ? "प्रबन्धवादी" एउटा त्यस्तो व्यक्ति हो जसले परमेश्वरका प्रबन्धहरूलाई बुझ्दछ र आफू पृथ्वीमा जिउने समयावधिभित्र आफूभित्र भएको परमेश्वरको जीवनलाई व्यवहारमा उतार्ने काममा ऊ सही प्रकारले लागिपर्छ। एक प्रबन्धवादीले परमेश्वरले उसलाई दिनुभएको भण्डारीपन (उसलाई सुम्पिनुभएका सौभाग्य तथा जिम्मेवारीहरू) लाई बुझेको हुन्छ र परमेश्वरले उसको हातमा सुम्पिनुभएको कुराको विश्वासयोग्य प्रयोजन गर्नका लागि ऊ लागिपर्छ। बाइबल पढ्ने र अध्ययन गर्ने हरेक नै प्रबन्धवादी हुँदैन। यस अध्ययनको पाठ १ मा उल्लेखित कुराहरूको प्रस्ट ज्ञान हरेकलाई हुँदैन।
एक प्रबन्धवादी कस्तो व्यक्ति हो? उसलाई यसरी बयान गर्न सकिन्छ:
आघिल्लो अध्यायमा हामीले यसको अध्ययन गरिसक्यौं। परमेश्वरले बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै मानिसहरूसित बेग्लाबेग्लै तरिकाले व्यवहार गर्नुहुन्छ भन्ने कुरालाई एक प्रबन्धवादीले महसुस गरेको हुन्छ। उसले यो पनि महसुस गरेको हुन्छ, परमेश्वरले मानिसलाई क्रमिक रूपमा झन् झन् बढी मात्रामा आफ्नो सत्यतालाई प्रकट गर्दै आउनुभएको छ। उदाहरणको लागि, पावललाई यस्ता सत्यताहरू प्रकट गरिए जो दाऊदलाई गरिएनन्, अनि दाऊदलाई परमेश्वरबाट यस्ता सत्यताहरू पाएका थिए जो नूहले पाएका थिएनन्।
प्रबन्धवादीले निम्न महत्वपूर्ण भिन्नताहरूलाई स्वीकार गर्दछ:
"अक्षरश:" भन्नुको मतलव हो "शब्दको शब्दै, बढाइचढाइ नगरी, कल्पना नगरी"। कसैले बाइबललाई अक्षरश: बुझ्छ भने उसले बाइबलका शब्दहरूलाई तिनका सामान्य, प्राथमिक अर्थमा नै बुझ्दछ। उसले त्यहाँ कुनै गुप्त वा काल्पनिक अर्थहरू खोज्ने प्रयास गर्दैन।
एक प्रबन्धवादी त्यो हो जसले बाइबललाई गम्भिररूपमा लिन्छ। बाइबलले भनेको कुरा उसले बुझ्दछ। उसले परमेश्वरले भन्नुभएको कुरालाई सोझो हिसाबमा लिन्छ, र विश्वास गर्छ कि परमेश्वरले जे छ त्यही भन्नुहुन्छ र उहाँले जे भन्नुहुन्छ, त्यो त्यही नै हुन्छ। परमेश्वरको वचनले नै नभनेको कुरा वचनले भनेको छ भन्दै उसले भन्दैन बरू बाइबल आफैलाई त्यहाँ जे छ त्यही कुरा बोल्न दिन्छ।
उदाहरणको लागि: बाइबल अनुसार परमेश्वरले सम्पूर्ण सृष्टि, यस पृथ्वी र यसमा भएका सबै थोकहरूलाई कति दिनमा सृष्टि गर्नुभएको हो (प्रस्थान २०:११; दाँज्नुहोस् उत्पत्ति अध्याय १)? __________। यस खण्डलाई अक्षरश: अर्थ लगाउने व्यक्तिले भन्दछ: "छ दिनको अर्थ छ दिन नै हो। परमेश्वरले सबै थोकहरू छ दिनमा नै सृष्टि गर्नुभयो, उहाँले जे भन्नुभएको छ त्यही नै हो! परमेश्वरले जे भन्नुभयो त्यो म विश्वास गर्छु, कुरा यति नै हो!
तर त्यहाँ कति मानिसहरू छन् जसले उत्पत्ति १ अध्यायमा उल्लेख भएको "दिनहरू" भन्ने शब्दको अर्थ वास्तवमा "दिनहरू" नै होइन भन्छन्, बरू त्यसको अर्थ अर्कै छ भन्छन्। तिनीहरू भन्छन् ती दिनहरू खास दिनहरू थिएनन् तर हरेक "दिन" एउटा "युग" (लामो समयावधि जसमा हरेक "युग-दिन" हजारौं वा लाखौं वर्ष लामो) थियो भन्छन्। उनीहरूको अनुसार सृष्टिको काम पूरा हुन छओटा लामो-लामो युगहरू लाग्यो। यो एउटा उदाहरण हो, कसरी मानिसहरूले परमेश्वरले भन्नुभएको एउटा कुरालाई अर्कै बनाइदिन्छन् ("दिन भनेको दिन होइन, लामो युग हो")। बाइबललाई अक्षरश: लिने व्यक्तिले परमेश्वरले उल्लेख गर्नुभएको "छ दिन"(प्रस्थान २०:९,११) लाई "छ दिन" नै मानेर लिन्छ, अन्य अर्थमा होइन।
टिप्पणी: "दिन" भन्ने शब्दले २४ घण्टे दिन भन्दा लामो समयावधिलाई जनाउन पनि सम्भव छ। जस्तै, यर्मिया ३०:७ मा हामी एक दिन को बारेमा पढ्छौं जसले याकूबको दु:खको दिनको कुरा गर्दछ। उक्त दिन ३ १।२ वर्ष लामो हुन्छ (प्रकाश १२:६,१४)। हामी यो पनि भन्न सक्छौं, "हामी अहिले अनुग्रहको दिनमा जिइरहेका छौं" (परमेश्वरको सहनशीलताको दिन –२ पत्रुस ३:८-९)। के यो एक २४ घण्टे दिनभन्दा लामो हो? _______। यी उदाहरणहरूमा "दिन" भन्नाले "समय" वा "काल" (मल्लकाल, राणाकाल भने जस्तै) बुझिन्छ। जब "दिन" ले २४ घण्टे दिनको अर्थ जनाउँदैन त्यतिखेर सन्दर्भले नै त्यो प्रस्ट देखाउँछ। तर जब "दिन" शब्द बहुवचन रूपमा प्रयोग हुन्छ ("दिनहरू") वा त्यसको अगाडि एउटा अंक राखिएको हुन्छ (जसरी प्रस्थान २०:११ मा ६ दिनहरू वा उत्पत्ति १:१३ मा "तेश्रो दिन") तब त्यहाँ २४ घण्टे दिनलाई नै जनाइएको हो भनेर हामीलाई पक्का हुन्छ। (यस सम्बन्धि अझ विस्तृत अध्ययन गर्न सृष्टि-विज्ञान शीर्षक भएको अध्ययन मालाको पाठ ४ मा हेर्नुहोस्। उक्त सामाग्री एबेनेजर मण्डलीबाट प्राप्त गर्न सकिन्छ)।
बाइबललाई अक्षरश: लिने सम्बन्धमा अर्को उदाहरणस्वरूप प्रकाश २० लाई हेरौं। यस अध्यायको पहिलो ७ पदहरूलाई पढ्नुहोस्। त्यहाँ "हजार वर्ष" भनेर कतिपटक उल्लेख छ? _______। यी पदहरूले हामीलाई सिकाउँछन् कि येशू ख्रीष्टले पृथ्वीमा एक हजार वर्षको लागि राज्य गर्नुहुनेछ। परमेश्वरले "हजार वर्ष" भन्नुभयो, यसको अर्थ के होला? प्रबन्धवादीले बाइबललाई अक्षरश: बुझ्दछ र भन्छ, "हजार वर्ष भनेको हजार वर्ष हो!" परमेश्वरले यदि हजार वर्ष भन्नुहुन्छ भने यसको अर्थ हजार वर्ष नै हुनुपर्छ। तर फेरि त्यहाँ धेरै मानिस छन् जसले आफूलाई बाइबल विश्वास गर्नेहरू भनी दावी गर्छन् तरैपनि येशू ख्रीष्टले पृथ्वीमा हजार वर्षका लागि राज्य गर्नुहुन्छ भनी विश्वास गर्दैनन्। उनीहरू उक्त हजार वर्षलाई अन्यथा बनाउने प्रयास गर्छन्।
बाइबल अध्ययन गर्दा हामीले शब्दलाई त्यसको अक्षरश:, सामान्य, स्वभाविक र मौलिक अर्थमा बुझ्नु पर्छ जबसम्म त्यो अनर्थ हुँदैन। नियम यस्तो छ: यदि सरल अर्थ अर्थपूर्ण छ भने कुनै अन्य अर्थ नखोज्नुहोस् नत्रता त्यो अनर्थ होला।
हामीले अघिबाटै प्रस्टै देख्यौं, उत्पत्ति १ मा उल्लेखित "दिनहरू" को सरल अर्थको अर्थपूर्ण नै छ। सर्वशक्तिमान परमेश्वरलाई यो विश्व छ दिनमा सृष्टि गर्नु भनेको कुनै असम्भव कुरा होइन। यी "दिनहरू" माथि हामीले अन्य कुनै अर्थ लाद्न खोज्नु हुँदैन ("अन्य अर्थ नखोज्नुहोस्!"। प्रकाश २० मा उल्लेखित हजार वर्षको सम्बन्धमा पनि यही कुरा साँचो ठहरिन्छ। उक्त "हजार वर्ष" लाई हामीले अन्य कुरामा परिवर्तन गरिदिनुहुन्न।
बाइबल पढ्दै जाँदा कहिलेकाहीँ सरल अर्थ अर्थपूर्ण हुँदैन। उदाहरणको लागि, यूहन्ना १०:९ मा येशूले भन्नुभयो, "_______ म हुँ।" हामीलाई थाहा छ, येशू, भेडाहरू छिर्ने ढोका नै त हुनुहुन्नथ्यो (हेर्नुहोस्, यूहन्ना १०:१,२,७)। यो त अर्थपूर्ण हुन्न। येशूको भनाइको तात्पर्य हो, उहाँ ढोकाजस्तै हुनुहुन्छ। ढोका त्यो हो जसभित्र मानिस वा पशु छिर्छन्। कोठाभित्र पस्न एउटा ढोकाबाट छिर्नु आवश्यक छ। मुक्ति पाउन मान्छे ख्रीष्टद्वारा आउनुपर्छ। केवल उहाँ मात्रै मुक्तिदाता हुनुहुन्छ।
अर्को उदाहरण यूहन्ना १५:५ मा पाउँछौं। येशू दाखको बोट नै त हुनुहुन्न न ता उहाँका चेलाहरू हाँगाहरू नै। तर यहाँ पनि येशूको भनाइको तात्पर्य हामी बुझ्दछौं। दाखको बोट र हाँगाहरूले हामीलाई मुक्तिदाता येशूको र उहाँका विश्वासी जनहरूको बीचको सम्बन्धको सुन्दर तस्वीर प्रस्तुत गर्दछ। जसरी हाँगाले दाखको बोटमा रहेन भने फल फलाउन सक्दैन उसरी नै विश्वासी जनहरूले फल फलाउन सक्दैनन् यदि उनीहरू येशू ख्रीष्टमा रहेनन् भने (उहाँको घनिष्ट संगतिमा रहेनन् भने)।
एउटा अर्को उदाहरण हेरौं। क्रूसमा मर्न जानु अघि येशूले रोटी लिनुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, "लेओ, खाओ; यो मेरो शरीर हो" (मत्ती २६:२६)। उहाँले कचौरा पनि लिनुभयो र भन्नुभयो, "यो मेरो रगत हो" (मत्ती २६:२७-२८)। के त्यो रोटी उहाँको शरीर नै थियो? के त्यो कचौरा उहाँको रगत नै थियो? के उहाँका चेलाहरूले उहाँको शरीरलाई नै खाए र उहाँको रगतलाई नै पिए? कदापि त्यसो गरेनन्! यो त अनर्थ हुन्छ अनि येशूको भनाइको तात्पर्य सो होइन। उहाँको तात्पर्य यो थियो, "यो रोटीले मेरो शरीरको चित्रण गर्छ र यो कचौराले मेरो रगतको चित्रण गर्छ। जब तिमीले यो रोटी खान्छौ र यो कचौराबाट पिउँछौ तब तिमीलाई मेरो सम्झना हुनेछ र क्रूसमा मैले तिम्रो लागि जे गर्न लागेको छु त्यसलाई तिमीले सम्झना गर्नेछौ।" हरेक प्रभु भोजमा हामी यो सम्झना गर्छौं (१ कोरिन्थी ११:२४-२५)।
बाइबलका वचनलाई जबर्जस्ती आफ्नै विचारअनुसारको अर्थमा ढाल्नुहुँदैन। शब्दहरूले के बताउँदैछन् त्यही बताउन दिनुहोस्, त्यसको कुनै अनौठो वा गुप्त अर्थको खोजी नगर्नुहोस्! १ शमूएल १७:४० को विचार गरौं। दाऊदले खोलाबाट कतिओटा ढुंगा लिए? __________। कसैले यस्तै पदलाई लिएर त्यसले नबताएको कुरा नै त्यसको अर्थ हो भनेर भन्न सक्छ। जस्तै, उसले यो भन्ला: "यी पाँच ढुंगाहरूले पाँच कुरा जनाउछन्। पहिलो ढुंगाले साहस जनाउँछ, दोश्रोले विश्वास, तेश्रोले सामर्थ्य, चौथोले विजय, र पाँचौले सफलता!" के बाइबलले यी ढुंगाहरूको बारेमा त्यसरी नै बताएको छ? ________। यी ढुंगाहरू केवल ढुंगा थिए। अनि तीमध्ये एउटा चाहिँ गोलियाथको खप्परभित्र पस्यो! निश्चय दाऊद साहसी थिए, विश्वासका वीर थिए र परमेश्वरले उनलाई सामर्थ्य, विजय र सफलता दिनुभयो तर यी कुरा हामी ती पाँच ढुंगाबाट होइन बाइबलको त्यो अध्याय (१ शमूएल १७) पढेर जान्दछौं। सरल शब्दहरूलाई अनौठा अर्थहरू लगाउन देखि हामी होशियार हुनुपर्छ।
एक प्रबन्धवादीले बाइबललाई गम्भिरतापूर्वक लिन्छ र बाइबललाई अक्षरश: अर्थ लगाउँछ। उसले बाइबल आफैलाई बोल्न दिन्छ।
बाइबल पढ्ने व्यक्तिले इस्राएल र मण्डलीको बीच राम्ररी भिन्नता राख्नुपर्दछ। धेरै मानिसहरू विश्वास गर्छन् कि पुरानो नियमको समयका मुक्ति पाएका इस्राएलीहरू (यहूदीहरू) मण्डलीभित्रकै हुन्। यो सही होइन। पेन्टेकोस्टको दिनमा (प्रेरित २) पवित्र आत्मा नआउनुभएसम्म ख्रीष्टको शरीर, अर्थात् मण्डलीको प्रारम्भ भएको थिएन। उक्त समय भन्दा अगाडि कोहि पनि मण्डलीको भएको थिएन।
एक इस्राएली भनेको अब्राहाम, इसाहक र याकूबबाट आएको सन्तान हो (हेर्नुहोस्, रोमी ९:४-५)। मोशा, यहोशू, दाऊद, सोलोमन, यशैया सबै इस्राएली थिए। आज इस्राएलीहरूलाई यहूदीहरू पनि भनिन्छ।
अन्यजातिहरू ती हुन् जो इस्राएली होइनन्। अब्राहाम, इसाहक, र याकूबबाट जन्मेर नआउने व्यक्ति अन्यजाति हो (हेर्नुहोस्, एफेसी २:११-१२)।
मण्डली एउटा नयाँ काम हो जो परमेश्वर गर्दैहुनुहुन्छ। मोशा, यहोशू, दाऊद र यशैया मुक्ति पाएका व्यक्तिहरू थिए तर उनीहरू मण्डलीमा पर्दैनन्। एफेसी १:२२-२३ र कलस्सी १:१८ बाट हामी सिक्छौं, मण्डली ख्रीष्टको शरीर हो। आज एक व्यक्ति उसले मुक्ति पाएकै घडी ख्रीष्टको शरीरमा "बप्तिस्मा" गरिन्छ वा गाभिन्छ र ऊ मण्डलीको बन्दछ (१ कोरिन्थी १२:१३)। पत्रुस, यूहन्ना, पावल, तिमोथी सबै ख्रीष्टको शरीरका अंगहरू हुन्। उनीहरू सबै मण्डलीका भागीदारहरू हुन्। आज ख्रीष्टमा विश्वास गर्नेहरू पनि मण्डलीका भागीदारहरू बन्दछन्।
यी कुराहरू बुझ्न निम्न चित्रको मद्दत लिन सकिन्छ।

माथिको चित्रमा देखाइएको छ कि क्रूसभन्दा अगाडिका विश्वासी जनहरू मण्डलीका अंगहरू थिएनन्। मण्डली ख्रीष्टको मृत्यु र बौरिउठाइ पछाडि मात्र शुरू भएको हो (मत्ती १६:१८ –येशूले भन्नुभयो, "म आफ्नो मण्डली बनाउनेछु।" मण्डली निर्माण गर्ने कार्य ख्रीष्टले भविष्यमा नै गर्नुहुने कार्य थियो)।
आज धेरै मानिसहरू बाइबललाई गलत बुझ्छन् किनकि उनीहरू परमेश्वरले इस्राएल (यहूदी जाति) को सम्बन्धमा बताउनुभएको कुरालाई मण्डलीको लागि भनिएको भनेर लिन्छन्। इस्राएलको निम्ति परमेश्वरको विशेष योजना छ साथै मण्डलीको निम्ति उहाँको विशेष योजना छ। तर हामीले इस्राएलको निम्ति दिइएका अनमोल प्रतिज्ञाहरूलाई लिएर ती मण्डलीका निम्ति हुन् भन्नु हुन्न।
प्रबन्धवादी त्यो हो जसले इस्राएल र मण्डलीको बीचमा अन्तर राख्दछ। उसले यो पनि विश्वास गर्दछ कि इस्राएल जातिको भविष्य सम्बन्धि परमेश्वरले अनमोल प्रतिज्ञाहरू दिनुभएको छ जसलाई परमेश्वरले पूरा गर्नुहुनेछ (दाँज्नुहोस्, रोमी ११ अध्याय)।
परमेश्वरले प्रत्येक प्रबन्धअन्तर्गत एउटा अति विशेष काम गर्दै आउनुभएको छ। अन्य कुनै कुरा भन्दा एउटा कुरा परमेश्वरको निम्ति सबभन्दा महत्वपूर्ण हुन्छ: उहाँको महिमा! परमेश्वरको व्यक्तित्व (उहाँ को हुनुहुन्छ भन्ने कुरा) को देखिने रूप (प्रकट हुने काम) लाई परमेश्वरको महिमा भनिन्छ। परमेश्वरको महत्व, गौरव, ऐश्वर्य, सुन्दरता, वैभव प्रकट गरिनु भनेको नै परमेश्वरको महिमा हो। परमेश्वर महान् हुनुहुन्छ अनि उहाँले इतिहासभरि नै आफूलाई मानिस र स्वर्गदूतहरूसामु प्रकट गर्ने काम गर्दै आउनुभएको छ।
हामीले बाइबलमा पाइने भिन्नताहरू अध्ययन गर्दै आएका छौं तर हामीले यो पनि महसुस गर्नुपर्छ कि उहाँले बेग्ला-बेग्लै समयमा बेग्लाबेग्लै मानिसहरूसित बेग्लाबेग्लै तरिका व्यवहार गर्दै आउनुभए तापनि त्यहाँ एउटा कुरा छ जो परमेश्वरले सधैं नै गर्दै आउनुभएको छ। निम्न पदहरूलाई विचार गर्नुहोस् र पत्ता लगाउनुहोस् परमेश्वरले संसारमा के गर्दै आउनुभएको रहेछ:
इतिहासभरि नै परमेश्वरले आफूलाई मानिसहरूकहाँ चिनाउने काम गर्दै आउनुभएको छ। उनीहरू चाहे मुक्ति पाएकाहरू होस् वा नपाएकाहरू होस्, परमेश्वर महिमित हुनुहुनेछ र सबैले उहाँ नै परमेश्वर हुनुहुन्छ भनेर जान्नेछन्! एकदिन हरेक घूँडा ________ र हरेक जिब्रोले _________ कि येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ (हेर्नुहोस्, फिलिप्पी २:१०-११)।
कति मानिसहरू यस्तो विश्वास गर्छन्, परमेश्वरको प्रमुख लक्ष भनेको नै मानिसहरूलाई बचाउनु (मुक्ति दिनु) हो भनेर। सबै मानिसहरूलाई परमेश्वर बचाउन चाहनुहुन्छ भन्ने कुरा बाइबलले प्रस्टै सिकाएको कुरा हो (१ तिमोथी २:४; यूहन्ना ३:१६) अनि परमेश्वरले आफ्नो पुत्रलाई संसारको _______ हुनका निम्ति पठाउनुभएको हो (१ यूहन्ना ४:१४; यूहन्ना ३:१७ सित तुलना गर्नुहोस्)। तर मानिसहरूको उद्धार नै परमेश्वरको प्रमुख लक्ष होइन।
नूहको दिनको विचार गरौं। त्यसबेला कतिजना बाँचे (१ पत्रुस ३:२०)? ________। बाँकि संसार नष्ट भए (२ पत्रुस ३:६)! थोरै मात्र बाँचेका हुनाले के परमेश्वर विफल बन्नुभयो भन्ने हो? यदि परमेश्वरको मुख्य फिक्री हराएकालाई बचाउनु नै थियो भने त नूहको दिनहरूमा परमेश्वर विफल बन्नुभयो भन्नु पर्ने हुन्थ्यो। अनि आज पनि बाइबलअनुसार ________ ले मुक्ति पाउनेछन् (मत्ती ७:१४)। तर परमेश्वर विफल बन्नु भनेको त असत्य हो। परमेश्वर कहिल्यै विफल बन्नुभएको छैन! नूहका दिनमा पनि उहाँले आफूलाई मानिसहरूकहाँ चिनाउने काम गर्नुभयो कि उहाँ एक पवित्र परमेश्वर हुनुहुन्छ जसले पापलाई घृणा गर्नुहुन्छ र पापलाई उहाँले दण्ड दिनैपर्छ। साथै उहाँले, उहाँमाथि विश्वास गर्ने र उहाँको वचन पालन गर्नेहरूलाई, आफू अनुग्रही परमेश्वर हुनुभएको कुरा पनि देखाउनुभयो (उत्पत्ति ६:८-९; हिब्रू ११:७)। उहाँलाई इन्कार गर्ने संसारलाई पनि आफूलाई चिनाउन परमेश्वर सफल हुनुभयो।
तपाईं बाइबलको जुनसुकै खण्ड पढ्नुहोस् त्यहाँ तपाईँले पाउनुहुन्छ कि परमेश्वरले आफू को हुँ भनेर मानिसहरूलाई देखाउँदै हुनुहुन्छ! एक प्रबन्धवादी त्यो हो जसले यो बुझ्दछ, मानव इतिहासको प्रत्येक अवधिअन्तर्ग परमेश्वरको प्रमुख लक्ष भनेको आफ्नो महिमा गर्नु हो।
कति मानिसहरू "कभेनन्ट थिअलजी" (Covenant Theology) अर्थात् "करारवाद" भन्ने धारणा मा विश्वास राख्छन्। बेग्लाबेग्लै प्रबन्धहरूमा विश्वास गर्नुको सट्टा उनीहरू त्यहाँ मुख्य दुईओटा करारहरू छन् भनी विश्वास गर्छन्। संक्षेपमा उनीहरूको विश्वासलाई हेरौं:
उनीहरूको अनुसार परमेश्वरले मानिससित गर्नुभएको सम्पूर्ण व्यवहारहरूलाई दुईओटा करारहरूद्वारा बयान गर्न सकिन्छ:
आदमले परमेश्वरको आज्ञा उल्लंघन गरे र "कामहरूको
करार" को शर्त पूरा गर्न असफल भए।
यी मानिसहरूले भनेका धेरै कुराहरू सत्य छन्। आदमले परमेश्वरको आज्ञा उल्लंघन गरेकै हो। साथै परमेश्वरले हराएका पापीलाई बचाउने अनुग्रही योजना बनाउनुभएकै हो। तर कभेनन्ट थिअलजीमा विश्वास गर्नेहरूले यी दुई करारहरूकै आधार (विशेष गरी अनुग्रहको करार) मा सृष्टिदेखि अन्तसम्मै रहेका परमेश्वर र मानिसबीचका सम्बन्धहरूलाई ब्याख्या गर्न खोज्छन्।
यदि यी दुई करारहरू यति महत्वपूर्ण हुन् भने ता बाइबलले तिनलाई धेरै पटक उल्लेख गर्नुपर्थ्यो। तर कुरा के भने बाइबले कहिल्यै पनि "कामहरूको करार" वा "अनुग्रहको करार" को उल्लेख गर्दैन। यी शब्दहरू मानिसकै उपज हुन्, बाइबलबाटका होइनन्।
बाइबलले बरू अन्य करारहरूको उल्लेख गर्छ, जस्तै;
कभेनन्ट थिअलजीमा विश्वास गर्नेहरूले सम्पूर्ण बाइबललाई "अनुग्रहको करार" अन्तर्गत बुझ्न खोज्छन्। उनीहरूको विश्वास अनुसार सबै समयहरूमा परमेश्वरको मुख्य लक्ष भनेको हराएको मानिसलाई बचाउनु र उद्धार गर्नु हो। प्रबन्धवादीले भने परमेश्वरको लक्ष यो भन्दा ठूलो छ भनेर बुझ्दछ: परमेश्वरको मुख्य लक्ष आफूलाई महिमा ल्याउनु हो। अनुग्रहद्वारा मानिसहरूको उद्धार गर्ने कार्य समेत परमेश्वरलाई महिमा ल्याउने विभिन्न कार्यहरू मध्ये एउटा हो:
एफेसी १:६ "उहाँको ___________को ___________को ____________को निम्ति"
एफेसी १:१२ "उहाँको ___________ को __________को कारण"
एफेसी १:१४ "उहाँकै ___________ को __________को लागि"
परमेश्वर हराएका मानिसहरूको इन्साफद्वारा समेत महिमित हुनुहुनेछ (जस्तै, मिश्रका राजा फारोद्वारा –हेर्नुहोस्, रोमी ९:२१-२२)! मानिसहरूले मुक्ति पाएर वा नष्ट भएर पनि परमेश्वरको लक्ष पूरा हुनेछ र परमेश्वरले आफूलाई सबै मानिसकहाँ चिनाउनुहुनेछ।
"उग्र" को अर्थ हो, "अरुभन्दा पर जानु, सीमाना नाघ्नु, विषम बन्नु"। एक उग्र-प्रबन्धवादी त्यो हो जसले प्रबन्धहरूको धारणालाई बढ्ता पर लान्छ। यो व्यक्तिले बाइबलमा अनावश्यकरूपमा धेरै भिन्नताहरू देख्दछ जसको फलस्वरूप त्यहाँ अलमल आउँछ।
प्रमुख समस्याचाहिँ यो ज्यादै महत्वपूर्ण प्रश्नमा केन्द्रित छ: मण्डलीको शुरुआत कहिले भएको हो? प्रबन्धवादीहरू विश्वास गर्छन्, मण्डली त्यसबेला शुरु भयो जब पवित्र आत्मा आउनुभयो, अर्थात् पेन्टेकोस्टको दिन (ई.स. ३० तिर) जसको बयान प्रेरित २ मा छ। उग्र-प्रबन्धवादीहरूको विश्वास अनुसार भने मण्डली धेरै पछि मात्र शुरु भएको हो। तीमध्ये कोही भन्छन् मण्डली प्रेरित १३ मा शुरू भयो (ई.स. ४७ तिर), कोही भन्छन् प्रेरित २८ मा (ई.स. ६० तिर)। मण्डलीको शुरुआतलाई पछाडि राखेका हुनाले उग्र-प्रबन्धवादीहरू अनुसार नयाँ नियममा उल्लेखित कतिपय कुराहरू आजको युगको लागि होइनन् अरे। उदाहरणका लागि उनीहरू निम्न कुराहरू सिकाउँछन्:
के मण्डली साँच्ची नै प्रेरित १३ वा प्रेरित २८ मा शुरू भएको हो र? बाइबलबाट सजिलै यो साँचो होइन भनी देखाउन सकिन्छ। प्रेरति २:४७ अनुसार प्रभुले मानिसहरूलाई आफ्नो __________मा थप्दैहुनुहुन्थ्यो भन्ने कुरा सिक्छौं। तसर्थ त्यहाँ मण्डलीको शुरूआत भइसकेको देख्छौं। साथै १ कोरिन्थी १५:९ मा पावल प्रेरितले भने, "मैले परमेश्वरको ____________लाई सताएँ।" उक्त सतावटको बारेमा हामी प्रेरित ७:५८; ८:१-३ र ९:१-२ मा पढ्छौं। प्रेरित अध्याय ९ मा हामी शाऊल (पावल) को पश्चात्ताप र परिवर्तनको बारेमा पढ्छौं। त्यसैबेला पावलले मुक्ति पाएका हुन्। अब यदि पावलले आफूले मुक्ति पाउन अघि मण्डलीलाई सताएका हुन् भने त्यतिखेर त्यहाँ मण्डलीको अस्तित्व रहेको हुनुपर्छ! हुँदै नभएको कुरालाई सताउन त सकिन्न! तसर्थ, मण्डलीको शुरुआत पावलले मुक्ति पाउन अघि नै भएको हुनुपर्छ। मण्डलीको शुरूआत प्रेरित १३ वा २८ अध्यायमा भएको हुन सक्दैन किनकि त्यतिबेलासम्ममा पावलले मुक्ति पाइसकेका थिए।

१ क्रूसमा ख्रीष्टको मरण
२ बौरिउठ्नुभएको ख्रीष्ट स्वर्गमा फर्केर जानुभयो (प्रेरित १)
३ पवित्र आत्मा पेन्टेकोस्टको दिनमा आउनुभयो र मण्डलीको शुरूआत भयो
(प्रेरित २)
४ मण्डली युग (ख्रीष्टमा विश्वास गर्ने प्रत्येक ने मण्डलीको अंग बन्दछ
जो ख्रीष्टको शरीर हो –हेर्नुहोस्, १ कोरिन्थी
१२:१३; प्रेरित २:४७)
५ मण्डलीको र्याप्चर (यूहन्ना १४:३; १ थेस्सलोनिकी ४:१३-१८)
६ सात-वर्षे संकष्ट-काल (पृथ्वीमाथि आइपर्ने ठूलो संकष्ट)। उक्त सात-वर्ष
अवधिको दोश्रो आधी भागलाई "महासंकष्ट" भनिन्छ (मत्ती २४:२१ र हेर्नुहोस्, यर्मिया ३०:७)।
७ संकष्टको मध्यबिन्दु (दनिएल ९:२७; मत्ती २४:१५)
८ पृथ्वीमा येशू ख्रीष्ट फेरि आउनुहुनेछ (प्रकाश १९; मत्ती २४:३०)।
९ पृथ्वीमा येशू ख्रीष्टको हजार वर्षे राज्य (प्रकाश २०)
प्रश्न नं १ – र्याप्चर कहिले हुनेछ? (माथिको तालिकाको नं
५ मा हेर्नुहोस्)
पूर्व-संकष्ट र्याप्चर (Pre-Tribulation Rapture) |
मण्डलीको र्याप्चर (स्वर्ग लगिने काम) ७ वर्षको संकष्ट अगाडि हुनेछ भन्ने विश्वास। |
मध्य-संकष्ट र्याप्चर (Mid-Tribulation Rapture) |
मण्डलीको र्याप्चर (स्वर्ग लगिने काम) ७ वर्षको संकष्ट बीचमा हुनेछ भन्ने विश्वास। |
पूर्व-क्रोध र्याप्चर (Pre-Wrath Rapture) |
मण्डलीको र्याप्चर (स्वर्ग लगिने काम) ७ वर्षको संकष्टको ३।४ भागपछि हुनेछ भन्ने विश्वास। |
संकष्ट-पश्चात् र्याप्चर (Post-Tribulation Rapture) |
मण्डलीको र्याप्चर (स्वर्ग लगिने काम) ७ वर्षको संकष्टको पछाडि हुनेछ भन्ने विश्वास। |
प्रश्न नं २–येशू ख्रीष्ट पृथ्वीमा कहिले फर्कनुहुनेछ? (माथिको तालिकाको नं
८ मा हेर्नुहोस्)
प्रिमलेनियल: (Premillennial) |
येशू ख्रीष्ट हजार वर्षको राज्यको अगाडि आउनुहुनेछ भन्ने विश्वास। प्रकाश २०:१-७ मा बयान गरिएको हजार वर्षको अवधिलाई ल्याटिनमा "मलेनियम" भनिन्छ। |
पोस्टमलेनियल: (Postmillenial) |
सुसमाचारको प्रचारद्वारा मानिसले नै राज्यलाई ल्याउनेछ र राज्य स्थापित भइसकेपछि मात्र ख्रीष्ट आउनुहुनेछ भन्ने विश्वास। |
आमलेनियल: (Amillennial) |
["आमलेनियल" भन्नाले "राज्य" वा "मलेनियम" हुनेछैन भन्नु हो]। ख्रीष्टको अक्षरश:, पार्थिव राज्य हुनेछैन भन्ने विश्वास हो यो। आमलेनिलवादीहरू, राज्यलाई बयान गर्ने बाइबलका धेरै पदहरू आज मण्डलीमै पूरा भइरहेका छन् भनेर विश्वास गर्छन्। |
ख्रीष्ट पृथ्वीमा राजा भएर आउने घटना मलेनियम वा हजार वर्षको ठीक अगाडि हुनेछ (प्रिमलेनियल) हुनेछ भनेर प्रबन्धवादीले विश्वास गर्दछ र उसले यो पनि विश्वास गर्दछ, ख्रीष्ट आफ्नो मण्डलीलाई लिन संकष्ट कालअगाडि नै आउनुहुनेछ (pre-tribulation rapture)।
|
पालुङ चर्च |