प्रभु येशू ख्रीष्टले मण्डलीलाई दुईटा विधिहरू दिनुभएको छ। पहिलो, पानीको बप्तिस्मा र दोश्रो, रोटी भचाइँ (प्रभु भोज)। यहाँ हामी पानीको बप्तिस्माको अध्ययन गर्नेछौं।
मानिसहरूलाई पानीको बप्तिस्मा दिनू भन्ने आज्ञा येशू ख्रीष्टकै हो। मृत्युबाट बौरिउठ्नुभएपछि स्वर्गारोहण हुनुअघि येशूले आफ्ना चेलाहरूलाई यो आज्ञा दिनुभयो: "यसकारण तिमीहरू जाओ, र सबै जातिहरूलाई चेला बनाओ, तिनीहरूलाई पिताको र पुत्रको र पवित्र आत्माको नाममा _____________ देओ" (मत्ती २८:१९)। यो आज्ञा येशूको हो। तसर्थ, यसलाई मण्डलीले पालन गर्नैपर्छ!
छिट्काउद्वारा बप्तिस्मा दिने मण्डलीहरूले बच्चा वा वयस्कको टाउकोमा केही थोपा पानीको छिट्का दिएर बप्तिस्मा दिन्छन्। खन्याएर बप्तिस्मा दिने मण्डलीहरूले नीजको टाउकोमा पानी खन्याएर बप्तिस्मा दिन्छन्। चोपलेर बप्तिस्मा दिने मण्डलीहरूले नीजलाई पानीमुनि पूरै डुबाइकन माथि उठाएर बप्तिस्मा दिन्छन्। कुन तरिका ठीक हो? बाइबलमा कुन तरिका सिकाइएको छ?
सर्वप्रथम "बप्तिस्मा" भन्ने शब्दको अर्थ बुझ्न आवश्यक छ। यसको अर्थ "छिट्काउ दिनु" वा "खन्याउनु" भन्ने होइन। "बप्तिस्मा"(βαπτίζω) एउटा ग्रीक शब्द हो जसको अर्थ हो, "चोपल्नु, डुबाउनु, कुनै एउटा चीजलाई अर्को चीजभित्र पूरै ढाकिने गरीकन हुल्नु"। तरल पद्धार्थको कुरा गर्दा यसको अर्थ हुन्छ, कुनै चीज वा व्यक्तिलाई तरलले पूरै डुब्ने गरी तरलभित्र राख्नु (पूरै डुबाउनु)।
प्रेरित ८:३६-३९ पढ्नुहोस्। पद ३८ र ३९ लाई विशेष ध्यान दिनुहोस्। फिलिपले नपुंसकलाई कसरी बप्तिस्मा दिए? ठीक उत्तरमा चिन्ह लगाउनुहोस्:
(क) पानीको छिट्काउ दिएर
(ख) पानी खन्याएर
(ग) पानीमा चोपलेर
मत्ती ३:१६ अनुसार प्रभु येशूको बप्तिस्मा कुन तरिकाले गरियो? ____________________।
यूहन्ना ३:२३ अनुसार यूहन्नाले एनोनमै किन बप्तिस्मा दिए? "किनभने त्यहाँ _______ _______ थियो"। कुन तरिकाले बप्तिस्मा दिँदा "धेरै पानी" चाहिन्छ? _______________________।
मुक्ति पाउनलाई पानीको बप्तिस्मा अनिर्वार्य छ भनेर सिकाउने मानिसहरू धेरै छन्। येशू ख्रीष्टमा विश्वास गरेको व्यक्तिले पानीको बप्तिस्मा नलिएसम्म मुक्ति पाएको हुँदैन भनेर उनीहरू सिकाउँछन्। उनीहरू भन्छन्: "मुक्ति पाउनलाई ख्रीष्टमा विश्वास गर्नुपर्छ र बप्तिस्मा लिनुपर्छ। विश्वास गरेको घडीमा होइन तर बप्तिस्मा लिएको घडीमा मुक्ति पाइन्छ।" के बाइबलले यस्तै सिकाउँछ त?
निम्न पदहरूलाई होसियारसित पढ्नुहोस् र गल्ती भएमा सच्याउनुहोस् (बाइबलमा नभएका शब्दहरूलाई धर्सोले केर्नुहोस्):
यूहन्ना ३:१६ – किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो उहाँमाथि विश्वास गर्ने र बप्तिस्मा लिने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्।
यूहन्ना ६:४७ – साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्दछ र बप्तिस्मा लिँदछ, ऊसँग अनन्त जीवन छ।
प्रेरित १०:४३ – उहाँमाथि विश्वास गर्ने र बप्तिस्मा लिने हरेकले उहाँको नामद्वारा पापहरूको क्षमा पाउनेछ।
प्रेरित १६:३१ – प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र बप्तिस्मा लिनुहोस्, र तपाईंले मुक्ति पाउनुहुनेछ।
१ कोरिन्थी १:२१ – विश्वास गर्ने र बप्तिस्मा लिनेहरूलाई मुक्ति दिनु परमेश्वरलाई असल लाग्यो।
माथिका सबै पदहरू अनुसार मुक्ति पाउन र अनन्त जीवन पाउनलाई एउटा व्यक्तिले गर्नुपर्ने एउटै कुरा के हो? ___________________। मुक्ति पाउनलाई केवल विश्वास आवश्यक पर्छ। ख्रीष्टमा विश्वास गरेको तर बप्तिस्मा लिन बाँकि रहेको (वा बप्तिस्मा लिन नपाइकनै मृत्यु भएको) व्यक्तिलाई विचार गर्नुहोस्। के उक्त व्यक्तिले मुक्ति पाउँछ (प्रेरित १६:३१)? ____________। "मुक्ति नपाएको विश्वासी" भन्ने कोही हुँदैन! हुन त, पानीको बप्तिस्मा ज्यादै महत्वपूर्ण कुरा हो। यो आज्ञापालनको महत्वपूर्ण कार्य हो अनि यसले ज्यादै महत्वपूर्ण सत्यताहरूलाई चित्रण गर्छ (जसको अध्ययन हामी तल गर्नेछौं)। तर यो प्रस्ट होस्, पानीको बप्तिस्माले मुक्ति पाइन्न।
मान्छेले कुनचाहिँ कुरा नगरोस् भनी शैतान चाहन्छ (लूका ८:१२ पढ्नहोस्)?
(क) विश्वास नगरोस्
(ख) बप्तिस्मा नलेओस्
(ग) मण्डली सभामा नजाओस्
(घ) भजन नगाओस्
प्रेरित २:४१, प्रेरित १०:४३-४८ र प्रेरित १६:३०-३४ पढ्नुहोस्। यी पदहरू पढ्नुभई विचार गर्नुभए पछि तलको सूचीलाई ठीक क्रमसंख्या दिनुहोस् (१,२,३,४):
________ उनीहरूले बप्तिस्मा लिए
________ उनीहरूले मुक्ति पाए
________ उनीहरूले परमेश्वरको वचन सुने (सुसमाचार सुने)
________ उनीहरूले ख्रीष्टमाथि विश्वास गरे
बप्तिस्मा मुक्ति पाउनलाई लिइने होइन; बप्तिस्मा मुक्ति पाइसकेको व्यक्तिले गर्ने काम हो।
निम्न भनाइहरू ठीक छन् की बेठीक, संकेत दिनुहोस् (ठीक, बेठीक):
________ "मुक्ति पाउनलाई म पानीको बप्तिस्मा लिन चाहन्छु।"
________ "मुक्ति पाइसकेको हुनाले म पानीको बप्तिस्मा लिन चाहन्छु।"
________ "पानीमा बप्तिस्मा लिँदा मेरा सबै पापहरू पखालिनेछन्।"
________ "मैले ख्रीष्टमा विश्वास गरेकै घडी मेरा सबै पापहरू पखालिए र क्षमा भए।" प्रेरित १०:४३ पढ्नुहोस्।
________ "बप्तिस्मा मुक्ति नपाएकाहरूले लिने कुरा होइन; बप्तिस्मा मुक्ति पाएकाहरूले लिने कुरा हो।"
पानीको बप्तिस्मा प्रभु येशू ख्रीष्टसित ठीक सम्बन्ध गाँसेकाहरू अर्थात् मुक्ति पाएकाहरूले मात्र लिने कुरा हो। यदि कसैका पापहरू क्षमा भएका छैनन् वा धोइएका छैनन् भने उसले बप्तिस्मा लिनु हुँदैन। पानीको बप्तिस्मा लिनु अगाडी मुक्ति पाएको हुनुपर्छ।
बप्तिस्मा येशू ख्रीष्टले अह्राउनुभएको कुरा हो भनेर हामीले शुरूमै हेर्यौं (मत्ती २८:१९-२०)। प्रेरित १० मा प्रेरित पत्रुसले अन्यजातिहरूको एउटा समूहलाई सुसमाचार प्रचार गरे। यी अन्यजातिहरूले पत्रुसले प्रचार गरेका सुसमाचारलाई विश्वास गरे। प्रेरित १०:४८ मा हामी पढ्छौं कि "उनले तिनीहरूलाई प्रभुको नाममा ___________ लिनू भनी _________ दिए।" पत्रुसले यसो भनेनन्, "तपाईंहरूलाई इच्छा लाग्छ भने बप्तिस्मा लिनुहोस्, तर तपाईंहरूले बप्तिस्मा लिनैपर्छ भन्ने छैन।" होइन, पत्रुसले ती विश्वासी जनहरूलाई बप्तिस्मा लिनलाई आज्ञा गरे। बप्तिस्मा प्रत्येक विश्वासी जनले प्रभुको आज्ञा पालन गर्नलाई गर्नु पर्ने कुरा हो!
बप्तिस्मा आज्ञा हो भन्ने अर्को उदाहरण प्रेरित २:३८ मा पाइन्छ। पत्रुसले यहूदीहरूका भीडलाई सम्बोधन गर्दै यो आज्ञा दिए (प्रेरित २:३८): "तपाईंहरू हरेकले येशू ख्रीष्टको नाममा ___________ ___________।" कुनै पनि आज्ञा पालन गरिओस् भनेर दिइन्छ। मुक्ति नपाएको व्यक्तिलाई परमेश्वरले कुन आज्ञा दिनुहुन्छ (१ यूहन्ना ३:२३ को पहिलो भागमा)? ___________________________________________ _____________। ख्रीष्टमा विश्वास गरेपछि एक व्यक्तिले मुक्ति पाउँछ र त्यसपछि उसलाई परमेश्वरको अर्को महत्वपूर्ण आज्ञा छ: बप्तिस्मा लिनू! प्रेरित २:३८ र प्ररित २:४१ पढ्नुहोस्। के ती नयाँ विश्वासी जनहरूले बप्तिस्मा लिनू भन्ने आज्ञालाई पालन गरे? __________।
पानीको बप्तिस्मा मैले मुक्ति पाउँदा मलाई हुन गएको कुराको सुन्दर चित्र हो। मैले मुक्ति पाएकै घडी म "येशू ख्रीष्टभित्र बप्तिस्मा" भएँ (रोमी ६:३-४, गलाती ३:२७)। यसलाई तल चित्रमा उतारिएको छ:

हरेक व्यक्ति या त मुक्ति पाएको हुन्छ ("ख्रीष्टमा") या त मुक्ति नपाएको हुन्छ ("ख्रीष्ट बाहिर")। बाइबलले २ कोरिन्थी ५:१७ मा बताएको छ, "कोही ___________ छ भने ऊ एउटा नयाँ सृष्टि हो।" जब एक व्यक्तिले ख्रीष्टमा विश्वास गर्छ परमेश्वरले एउटा अचम्मको कार्य गर्नुहुन्छ। परमेश्वरले उसलाई येशू ख्रीष्टभित्र बप्तिस्मा गराउनुहुन्छ (अवस्थित गराउनुहुन्छ)। यसको मतलब विश्वासी जन येशू ख्रीष्टसित पूर्णरूपमा ‘सम्मिलिकरण’ गरिन्छ। विश्वासी जन येशू ख्रीष्टको मृत्यु, उहाँको गडाइ र उहाँको बौरिउठाइमा पूर्णरूपमले सम्मिलिकरण गरिन्छ (रोमी ६:३-५)। विश्वासी जन "ख्रीष्टमा" भएको हुनाले ऊ आफ्नो मुक्तिदातासित अचम्मसित सम्मिलित (एकबध्य) भएको कुराको चित्रस्वरूप पानीको बप्तिस्माले दिन्छ।
लेबल नभएको शीशीभित्र के छ भनेर हामीलाई जान्न गाह्रो पर्छ। तर लेबल लगाएपछि भने सजिलै जान्न सकिन्छ। लेबलले शीशीभित्र के छ भन्ने संकेत दिन्छ। लेबलले बताउँछ, "म खोकीको औषधीको शीशी हुँ। सबैलाई थाहा होस्, मभित्र खोकीको औषधी छ!"
पावल, एक विश्वासी जन भएको हुनाले उसले यसरी भन्न सके: "म (मेरो पुरानो मान्छे अर्थात् पहिलेको पापपूर्ण जीवन) __________सित __________ _______________ ______, तरैपनि म जिउँछु; त्यसो भए पनि म (मेरो पुरानो मान्छे अर्थात् पहिलेको पापपूर्ण जीवन) ता होइन, तर ख्रीष्ट मभित्र _______________; अनि जुन जीवनल अहिले शरीरमा जिउँछु त्यो म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो" (गलाती २:२०)। तपाईं एक विश्वासी हुनुहुन्छ भने, तपाईंभित्र को जिउनुहुन्छ (गलाती २:२०)? _________________। पानीको बप्तिस्मा "शीशीमा लेबल लगाउने" सुन्दर अवसर हो जसद्वारा तपाईंले आफूभित्र को जिउनुहुन्छ र राज्य गर्नुहुन्छ भनेर अरूहरूले जान्न सक्नेछन्। सबै थोकमाथि राज्य गर्नुहुने प्रभु येशू ख्रीष्टको इच्छा यो हो, विश्वासी, उहाँमा भएको जीवनमै पूर्णरूपले खुशी हुनु, आफ्नो हृदयमा उहाँलाई परमेश्वर, प्रभु र मुक्तिदाता भनी राज्य गर्न दिनु। के तपाईं उहाँको जिउँदो उपस्थिति र उहाँको राज्यको सामर्थ्य आफ्नो जीवनमा अनुभव गर्दै हुनुहुन्छ? छ भने तपाईंभित्र को जिउनुहुन्छ भनेर अरूहरूलाई थाहा दिन तपाईंले चाहनुपर्छ। बप्तिस्मा लिनुहुँदा तपाईंले आफ्नो गवाही सुनाउन सक्नुहुन्छ र ख्रीष्टले तपाईंको जीवनमा के गर्नुभएको छ भनेर बताउन सक्नुहुनेछ। बप्तिस्मा लिनुहुँदा तपाईंले आफ्नो मुक्तिको घडीमा सम्पन्न हुनगएको कुराको सुन्दर चित्र प्रस्तुत गर्न सक्नुहुनेछ (पृष्ठ ३ को चित्रलाई हेर्नुहोस्)। यसरी "शीशीमा लेबल लगाउने" काम गरेजस्तै आफूभित्र को हुनुहुन्छ भनेर बताउन सक्नुहुनेछ।
बप्तिस्मा एउटा गम्भिर कुरा हो। बप्तिस्माको बारेमा हामीले राम्ररी विचार गर्नुपर्छ। आज धेरै मण्डलीहरूमा बप्तिस्मा एउटा ‘अर्थ-न-व्यर्थको’ धार्मिक रीतिमात्र हुनगएको छ। हामी त्यसो नगरौं। बप्तिस्माको अति महत्वपूर्ण अर्थ छ जसलाई हामीले कहिल्यै भुल्नुहुँदैन।
पानीको बप्तिस्मा, म दाम तिरेर किनिएको हुँ त्यसैले म पूर्णरूपमा प्रभुको भएको छु भनेर आफूलाई र अरूलाई सम्झना गराउने कुरा हो (हेर्नुहोस्, १ पत्रुस १:१८-१९, १ कोरिन्थी ६:१९-२०)। साथै म यो बुझ्दछु, यस संसारमा म उहाँको साक्षी हुनका लागि उहाँको जीवन मद्वारा प्रकट गर्नु परमेश्वरको योजना रहेछ (प्रेरित १:८)।
पानीको बप्तिस्मा येशू ख्रीष्टलाई पछ्याउनेहरूले लिने कुरा हो (हेर्नुहोस्, लूका ९:२२-२६)। लूका ९:२३ मा येशूले भन्नुभयो, "जसले मेरो पछि आउने इच्छा गर्दछ, उसले आफैलाई ___________ गरोस्, दिनहुँ आफ्नो क्रूस उठाऔस् र मेरो __________ ____________।" ख्रीष्टलाई पछ्याउनु भनेको दुईटा कुरा हो: १) इच्छा ("मेरो पछि आउने इच्छा गर्दछ") २) निर्णय – दिनहुँ आफूलाई "हुँदैन" भन्नु र प्रभुलाई "हस्" भन्नु (आफूलाई इन्कार गर्नु)। शुरूका ख्रीष्टियनहरूले बप्तिस्मा लिँदा आफूहरू ख्रीष्टका चेलाहरू भएको गवाही दिइरहेका हुन्थे। फलस्वरूप प्राय: उनीहरू संसारको घृणाको पात्र बन्न पुग्थे, दुर्व्यवहार, गिल्ला र खेदोको भागीदार बन्न पुग्थे। कहिले त आफ्नै परिवारबाट बहिष्कार गरिन्थे। तर उनीहरू जुनसुकै मूल्य तिर्नु परे पनि येशूलाई पछ्याउन इच्छुक थिए र उहाँलाई पछ्याउने निर्णय गरेकोमा उनीहरू खुशी थिए।
अन्धो भएर पनि तपाईंले दृष्टि पाउनु भयो भने तपाईं अवश्य खुशी हुनुहुनेछ। तर अरू अन्धाहरूले दृष्टि पाएका छैनन् र उनीहरूले तपाईंलाई बुझिदिएनन् भनेर के तपाईं फेरी अन्धा नै हुन रोज्नुहुनेछ र? ________________। तपाईं देख्न सक्नुहुन्छ भन्ने कुरा तपाईंका अन्धा मित्रहरूले नरुचाउलान् तर यसो भन्दैमा तपाईं अन्धा बन्नु राम्रो होला? _____________। त्यस्तै, परमेश्वरले विश्वासी जनलाई आत्मिक दृष्टि दिनुभएको छ, उसलाई अनन्त जीवन दिनुभएको छ। मुक्ति नपाएकाले यो नबुझ्लान्, मन नपराउलान् पनि, तर त्यसो भन्दैमा हामी अन्धकार र मृत्युमा फर्कनु अर्थहीन कुरा हो।
आज पनि येशूलाई पछ्याएर मूल्य चुकाउनु परेका व्यक्तिहरू छन्। संसारमा त्यस्ता राष्ट्रहरू छन् जहाँ ख्रीष्टियन बन्न सजिलो छैन। पानीमा बप्तिस्मा लिनेहरूको गवाही यस्तो हुनुपर्छ: "मैले येशूलाई पछ्याउने निर्णय गरें, म अन्धकार र मृत्यमा फर्कनेछैनँ! मेरो इच्छा, मेरो निर्णय यस्तो छ कि म येशूलाई पछ्याउनेछु, बाँकी जीवन प्रभुकै निम्ति जिउनेछु, उहाँकै सेवा गर्नेछु। परमेश्वरको मद्दतले म एक ख्रीष्टियनलाई सुहाउने जीवन जिउनेछु। जतिसुकै कठीन होस्, म येशूलाई नै पछ्याउने निर्णय गरेको छु। बेठीक संसार (समाज) को बीचमा म ठीक नै गर्ने, ठीक बोल्ने निर्णय गरेको छु। ख्रीष्टको कारण मैले मेरा मित्र (भनिने) हरू गुमाऊँला, दुर्व्यवहार र गिल्लाको पात्र बनूँला, मलाई अरूले नबुझिदिएला र मैले कष्ट भोग्नुपर्ला, तर त्यस्ता कुराहरू आइपरे पनि म सहन तयार छु, यो कुरा स्मरण गर्दै कि म शत्रुको इलाकाभित्र छु र एक समय मेरो समझ पनि उनीहरूको जस्तै अन्धा थियो। क्रूसमा मेरो मुक्तिदाताले भोग्नुभएको कष्टको तुलनामा मैले चुकाउनु पर्ने मूल्यलाई केही ठान्दिनँ।" के शुरूका ख्रीष्टियनहरू आफ्ना मुक्तिदाताका निम्ति दु:ख भोग्न तयार थिए (प्रेरित ५:४०-४१)? _______________। उनीहरूले खुशीसाथ दु:ख भोगे कि बेखुशी भएर? ________________।
के तपाईंले मुक्ति पाउनुभयो? के तपाईं येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ? मुक्ति पाउनुहुँदा के तपाईं येशू ख्रीष्टभित्र बप्तिस्मा हुनुभयो? के तपाईं पानीको बप्तिस्मा लिनुभयो? किन लिनुभयो? वा, किन लिनुभएको छैन? के तपाईं येशूलाई पछ्याउन चाहनुहुन्छ? "चेलापनको मार्ग" असजिलो मार्ग हुन सक्ने भए तापनि के तपाईं सो मार्गमै हिँड्न चाहनुहुन्छ, यो जानेर कि प्रभु येशू ख्रीष्ट तपाईंसितै सो मार्गमा हिँड्नुहुनेछ (मत्ती २८:२०; हिब्रू १३:५)? मुक्तिदातालाई पछ्याउँदा मूल्य चुकाउनु पर्ला, कठीनाइ आउलान् तर यो पूरै सार्थक छ!
बप्तिस्मा लिने बेलामा प्राय: नीजलाई आफ्नो छोटो गवाही बाँड्ने मौका दिइन्छ। आफ्नो मुक्तिको बारेमा र पानीको बप्तिस्माको अर्थको विचार गर्ने क्रममा, तपाईंको बप्तिस्माको समयमा गवाही दिँदै हुनुहुन्थ्यो भने तपाईंले के-के कुराहरू बाँड्नु राम्रो होला?
(पानीको बप्तिस्मा लिने बेलामा तपाईं के भन्न चाहनुहुन्छ, तल लेख्न सक्नुहुन्छ)
|
"म आज बप्तिस्मा लिँदैछु किनभने..."
नाम: ____________________ मिति: ________________________________ |
|
पालुङ चर्च |