के म एक साँचो विश्वासी हुँ?

यस संक्षिप्‍त अध्ययनमा हाम्रो हृदयलाई तलाश गर्ने एउटा अति महत्वपूर्ण प्रश्‍नलाई विचार गर्न चाहन्छौं: के म एक साँचो विश्वासी हुँ? यस प्रश्‍नको उत्तर दिनलाई निम्नलिखित प्रश्‍नहरूलाई विचार गर्नुहोस्। प्रत्येक प्रश्‍नलाई इमानदारपूर्वक, व्यक्तिगतरूपमा विचार गर्नुहोस्। प्रत्येक प्रश्‍नसित दिइएको बाइबल पदलाई बाइबल पल्टाएर हेर्नलाई समय लिनुहोस्। आफूलाई सोध्‍नुहोस्:  अनन्त मुक्तिको निम्ति म वास्तवमा कसमाथि भरोसा गर्दैछु?

के मैले आफूलाई पवित्र र धर्मी परमेश्वरका सामु एक दोषी, हराएको पापीको रूपमा देख्दछु (रोमी ३:१०-१९,२३)? मेरो हृदय छली र दुष्ट छ र यसलाई निको नहुने रोग लागेको छ भनी के मैले महसुस गरेको छु (यर्मिया १७:९; मर्कूस ७:२१-२३)? के मैले आफूलाई मृत्यु र नरकको योग्य देखेको छु (रोमी ६:२३)? परमेश्वरले मलाई मेरै योग्यताअनुसार व्यवहार गर्नुभएको खण्डमा र मैले जिएको जीवनअनुसार मलाई प्रतिफल दिनुभएको खण्डमा म पूरै नष्ट हुनुपर्छ भनेर के मैले जानेको छु (भजनसंग्रह १३०:३; तुलना गर्नुहोस् भजनसंग्रह १०३:१०)? आफूलाई बचाउन मैले गर्न सक्ने एउटै कुरा छैन भनेर के मैले महसुस गरेको छु (तीतस ३:५)? असल-असल कामहरू गर्ने मैले जस्तोसुकै प्रयास गरे तापनि त्यसले मलाई स्वर्ग पस्ने अधिकार दिन सक्दैन भनेर के मैले बुझेको छु (एफेसी २:८-९)? मेरो चर्च वा धर्मले मेरो प्राणको उद्धार गर्न सक्दैन भनेर के मैले महसुस गरेको छु (यर्मिया १७:५)? मेरो आफ्नै धार्मिकता र मेरो आफ्नै असल चरित्र परमेश्वरले माग गर्नुभएको धार्मिकताको तुलनामा नगण्य छ भनेर के म पक्का भएको छु (रोमी ३:१०-१२; १ कोरिन्थी ६:९-१०)? के मसित परमेश्वरका सामु ग्रहणयोग्य ठहरिने मेरो आफ्नै व्यक्तिगत योग्यता छ (यशैया ६४:६)?

मेरो पाप-समस्याको एउटै मात्र ईश्वरीय उपाय येशू ख्रीष्ट नै हुनुहुन्छ भनेर के म विश्वास गर्दछु (प्रेरित ४:१२)? उहाँ नै परमेश्वरकहाँ जाने एउटै मात्र बाटो (यूहन्ना १४:६), मुक्तिको एउटै मात्र ढोका (यूहन्ना १०:९), पापीहरूको एउटै मात्र मुक्तिदाता (मत्ती १:२१) र मलाई अनन्त जीवन दिन सक्ने एउटै मात्र व्यक्ति (यूहन्ना १०:२८; १७:३) हुनुहुन्छ भनेर के मैल महसुस गरेको छु? येशू ख्रीष्ट अनन्त परमेश्वर हुनु भएर पनि (यूहन्ना १:१-३) मलाई बचाउनलाई यस संसारमा मानिस बनेर आउनुभएको हो भनेर के मैले बुझेको छु (यूहन्ना १:१४; १ तिमोथी १:१५; यूहन्ना ३:१७)? म एक ठूलो पापी हुँदा-हुँदै उहाँले मलाई प्रेम गर्नुभयो (रोमी ५:८; यूहन्ना ३:१६) र मेरो प्राण बचाउन उहाँ मर्नुभयो र बौरेर उठ्नुभयो (रोमी ४:२५) भनेर के म विश्वस्त छु? प्रभु येशू मेरा पापहरूका निम्ति मर्नुभयो, उहाँ मेरो सट्टामा सिद्ध बलिदानस्वरूप मेरै पापहरूको पूरा दण्ड तिर्दै क्रूसमा मर्नुभयो भनेर के म पक्का भएको छु (यशैया ५३:६; १ पत्रुस ३:१८; २ कोरिन्थी ५:२१)? बचाइनका लागि के म उहाँमा, केवल उहाँमा, भर परेको छु (प्रेरित १६:३१)? के म एउटा सानो नानीको जस्तो विश्वास लिएर उहाँकहाँ आएको छु (यूहन्ना ६:३५,३७; मत्ती ११:२८)? के मैले विश्वासद्वारा प्रभु येशू ख्रीष्टलाई व्यक्तिगतरूपमा आफ्नो मुक्तिदाताको रूपमा लिएको वा ग्रहण गरेको छु (यूहन्ना १:१२)? उहाँ जो हुनुहुन्छ (यूहन्ना ८:२४), उहाँले जे गरिदिनुभयो (१ कोरिन्थी १५:३-४) र उहाँले जे भन्नुभएको छ (यूहन्ना ६:४७) -- के म आफ्नो पूर्ण व्यक्तित्वको सम्पूर्ण वजनले उहाँमै भर परिरहेको छु?

उहाँद्वारा परमेश्वरकहाँ आउने सबै लगायत मलाई समेत उहाँले पूर्ण रूपमा बचाउन सक्नुहुन्छ (हिब्रू ७:२५) भनेर के म विश्वास गर्दछु? ख्रीष्टले यूहन्ना ५:२४ मा भन्नुभएको कुरालाई म विश्वास गर्दछु? के यूहन्ना ३:१६ मेरो लागि साँचो छ भनी मान्दछु? येशू ख्रीष्ट मेरो मुक्तिदाता हुनुहुन्छ भनी के मैले अरू कसैलाई बताएको छु (रोमी १०:९-१०; मत्ती १०:३२)? के म हृदयदेखि भन्न सक्छु:

आशा राख्छु म येशूमा
उनको रगत र धार्मिकतामा
भर छैन मीठो भावनामा
पूरै भर पर्छु ख्रीष्टको नाममा।
ख्रीष्ट मेरो चट्टानमा खडा छु --
दलदले हिलो हुन् सब अरू
दलदले हिलो हुन् सब अरू!
 [एडवर्ड मोट]

आफूलाई सोध्न सकिने अर्को अर्थपूर्ण प्रश्‍न यो हो: यदि म आजै मरेर परमेश्वरको सामु उभिँदा उहाँले मलाई "मेरो पवित्र स्वर्गमा तिमीलाई किन पस्न दिऊँ" भनेर सोध्नुभयो भने, म कस्तो जवाफ दिऊँला त?" यदि मेरो जवाफले कुनै पनि हिसाबमा म आफैलाई (मेरो योग्यता, मेरा आफ्नै कामहरू, मेरो धार्मिक कामहरू आदिलाई) अंकित गर्दछ भने त्यसले म सनातनको चट्टानमा उभिरहेको छैन भन्ने देखाउँछ। मानिसहरूले आफैमा भरोसा कसरी गरिरहेका हुन्छन्, केही उदाहरणहरू प्रस्तुत गरौं:

यस्ता सबै जवाफले आफूलाई अंकित गर्छन्, तर मुक्ति त आफूबाटको होइन; मुक्ति परमप्रभुबाटको हो!

म परमेश्वरको पवित्र स्वर्गमा पस्न सक्ने एउटै मात्र कारण छ। सही जवाफ यो हो: "म परमेश्वरको पवित्र स्वर्गमा पस्ने सक्ने एउटा कारण मात्र छ, केवल एउटा। त्यो यो हो, मेरो मुक्तिदाता येशू ख्रीष्टको कारण। उहाँले क्रूसमा सम्पन्न गर्नुभएको कार्य बिना मैले मुक्ति पाउन असम्भव थियो। उहाँले मलाई सित्तैंको वरदानस्वरूप दिनुभएको उहाँको जीवन बिना म उहाँको पवित्र स्वर्गमा पस्न असम्भव हुनेथ्यो। उहाँ नै मेरो एउटै आशा हुनुहुन्छ। मसित भएको धार्मिकता उहाँ नै हो अनि मलाई आवश्यक पूर्ण धार्मिकता उहाँ नै हुनुहुन्छ। धन्यवाद मेरा प्रभु, तपाईंले मेरो प्राण बचाउनुभयो।" हेर्नुहोस्, यस जवाफले आफूबाट परै अंकित गर्दछ, अर्थात् मुक्तिदातालाई, केवल उहाँलाई अंकित गर्दछ!

प्रभु येशूलाई चिन्नलाई हामी तपाईंलाई मदत गर्न चाहन्छौं। यसको लागि हामीलाई सम्पर्क गर्न तपाईंलाई हार्दिक स्वागत छ!