के येशू ॐ हुन् त?

भ्रमात्मक भिडियो सीडी

यू.जे. गुरुङ

'रेन्बो फिल्मस्' को प्रस्तुतिमा पास्टर सी.पी. शर्माद्वारा वर्णित "ॐ को अर्थ के हो?" भिडियो सीडीमा ॐ को अर्थ "म हुँ" भएको र त्यो "म हुँ" येशू रहेको भनी प्रस्तुत भएको छ। ॐ भनेकै येशू हुन् भनी निष्कर्ष निकालिएको उक्त सीडीमा भनिएको छ कि वेदद्वारा वर्णित सृष्टिको विवरणमा उल्लेख भएको 'विशाल समुद्र' सम्बन्धमा बाइबलको उत्पत्ति १:२ मा उल्लेख गरिएको छ। भगवान् विष्णु विशाल समुद्रबाट निस्केको सुनको अण्डाबाट उत्पत्ति भएको र त्यो अण्डा समुद्रले ढाकिएको बाइबल-वर्णित पृथ्वी रहेको उल्लेख गरिएको छ उक्त सीडीमा। यसरी यस सीडीमा पास्टर सी.पी. शर्माद्वारा बाइबलको गलत व्याख्या गरी 'वेदको वर्णन' लाई आधिकारिता दिने कार्य भएको छ। यस कार्यबाट वेदलाई परमेश्वरको एक प्रकाशको रूपमा प्रस्तुत गरिएको छ। सीडीमा वर्णन भएअनुसार ब्रम्हदेवबाट निस्केको ज्योतिको कारण बन्न गएको विष्णुको छायाँमा सर्वप्रथम ॐ प्रकट भएका हुन्।

ॐ को अर्थ खोज्ने क्रममा श्री सी.पी. शर्माले १२ वर्ष बिताएको थियो। उक्त सीडीमा नीजले कुनै पनि हिन्दू शास्त्रमा ॐ को अर्थ नपाएको तर बाइबलको प्रस्थान ३:१४ मा भेट्टिएको कुरा उल्लेख भएको छ। यहोवा परमेश्वर स्वयं विष्णु भगवान् भएको वा विष्णुबाट यहोवा परमेश्वरको उत्पत्ति भएको भ्रामक सन्देश यस सीडीबाट गएको छ। काहिँ कतै बाइबलका परमेश्वर भगवान् विष्णुभन्दा फरक रहेको उल्लेख गरिएको छैन। तर यसमा वेद पनि बाइबलकै परमेश्वरको एक प्रकाशको रूपमा प्रस्तुत गरिएको छ। बाइबल बाहेक परमेश्वरको अर्को प्रकाश छैन। त्यसैले परमेश्वरले बाइबलको अन्तिम पुस्तक 'प्रकाश' दिइसक्नुभएपछि यो चेतावनी दिनुभयो, "किनकि यस पुस्तकको भविष्यवाणीका वचनहरू सुन्ने हरेक मानिसलाई म गवाही दिन्छु, कुनै मानिसले यी कुराहरूमा थप्यो भने परमेश्वरले यस पुस्तकमा लेखिएका महामारीहरू त्यसमाथि थप्नुहुनेछ," (प्रकाश २२:१८)। बाइबल परमेश्वरको पूर्ण प्रकाश हो। यस बाहेक परमेश्वले कहिँ कतै लिखित प्रकाश दिनुभएन।

देव-देवीहरू पृथ्वीमा धेरै छन्। तीमध्ये विष्णु एक हुन सक्छन् तर परमेश्वर एक मात्र हुनुहुन्छ, अनि एक मात्र प्रभु हुनुहुन्छ जो येशू ख्रीष्ट हुनुहुन्छ जसद्वारा सबै कुराहरू भएका हुन्, अनि हामी उहाँद्वारा नै हौं। पवित्र शास्त्र बाइबलमा लेखिएको छ, "मूर्ति संसारमा केही पनि होइन, र एकबाहेक अर्को कुनै परमेश्वर हुनुहुन्न। किनकि चाहे आकाशमा होस् चाहे पृथ्वीमा ईश्वर भनिनेहरू ता छन् नै, जसरी धेरै ईश्वरहरू र धेरै प्रभुहरू छन्; तर हाम्रो निम्ति चाहिँ एक मात्र परमेश्वर हुनुहुन्छ अर्थात् पिता, जसबाट सबै कुराहरू भएका छन्, अनि हामी उहाँमा छौं; अनि एक मात्र प्रभु हुनुहुन्छ अर्थात् येशू ख्रीष्ट, जसद्वारा सबै कुराहरू भएका हुन्, अनि हामी उहाँद्वारा नै हौं" (१ कोरिन्थी ८:४-६)। परमेश्वर एक मात्र हुनुहुन्छ, उहाँ अद्वितीय र अतुलनीय हुनुहुन्छ। यहोवा परमेश्वरलाई विष्णु वा कुनै देव-देवीसँग दाँज्नु परमेश्वरविरुद्धको कार्य ठहरिन्छ।

लेखक एबेनेजर चर्च, कोटेश्वर, काठमाडौंका पास्टर हुनुहुन्छ