क्यारिज्म्याटिक लहर३५ ओटा शिक्षागत सवालहरूभाग ३ — प्रश्न ७-१६जर्ज जेलर "पवित्र शास्त्रले के भन्दछ" (रोमी ४:४) |
हामी सर्वप्रथम आजकल हुने गरेको अन्य भाषाहरूको अभ्यासलाई विचार गरौं। त्यहाँ वास्तवमा के बोलिन्छन्? साँच्चीकै भाषा कि अर्थहीन बकबक?
"क्यारिज्म्याटिक व्यक्तिहरूले आफ्नो अन्य भाषालाई प्रार्थना गर्नका लागि परमेश्वरद्वारा दिइएको, सम्भवत: स्वर्गदूतको भाषाको रूपमा लिन्छन्। तर केवल बुझ्ने भाषामा परमेश्वरलाई सम्बोधन गर्नेहरूका निम्ति र भाषाविदहरू (जोहरू यस विषयमा एकमत छन्) को जानकारी अनुसार अन्य भाषामा भाषाको कत्ति पनि चरित्र नरहेको पाइन्छ" ("क्यारिज्म्याटिक रिनुवल", मार्च ७, १९८० को क्रिश्चियानिटी टुडेको पृष्ठ १६-१७ मा जे आइ प्याकरको लेखबाट)।
"विलियम समारिन, टोरोन्टो युनिभर्सिटीका भाषाविज्ञानका प्राध्यापक लेख्नुहुन्छ:
'पाँच वर्षको अवधि लगाएर मैले इटाली, हल्याण्ड, जमाइका, क्यानडा र संयुक्त राज्य अमेरिकाका सभाहरूमा भाग लिएको छु। मैले पुरानो खाले पेन्टेकोस्टलहरू र नयाँ खाले पेन्टेकोस्टलहरूको अवलोकन गरेको छु। म निजी घरहरूमा हुने साना जमघटहरूमा पुगेको छु साथै बडेमाका सार्वजनिक सभाहरूमा पुगेको छु। मैले [न्यूयोर्कस्थित] ब्रङ्क्सका प्वेर्टो-रिकनहरू, आपलेचियनहरूका सर्प खेलाउनेहरू र लस-एन्जलसका रूसी मलाकन्सहरू जस्ता फरक-फरक संस्कृतिहरूका बीचमा पुगेको छु...मैले अन्य भाषा बोल्नेहरूसित अन्तर्वार्ता लिएको छु र अन्य भाषाको असंख्य नमुनाहरू रेकर्ड गरेको छु र तिनका विश्लेषण गरेको छु। हरेकमै ग्लोसोलेलिया [अन्य भाषा] भाषा विज्ञानको दृष्टिकोणमा अर्थहीन भेटियो। सतहमा मिल्दोजुल्दो रूप भए तापनि ग्लोसोलेलिया वास्तवमा भाषा होइन।'" (द क्यारिज्म्याटिक्स्, पृष्ठ १६२ मा जन म्याकआर्थरद्वारा उद्धृत)।
अर्को शब्दमा भन्ने हो भने, तपाईं क्यारिज्म्याटिक सभामा जानुहोस् जहाँ मानिसहरू अन्य भाषाहरूमा बोलिरहेका छन्, टेप रिकर्डरमा अन्य भाषाका बोलिहरूलाई रिकर्ड गर्नुहोस् र टेप रिकर्डरलाई सर्वोत्कृष्ट भाषाविदहरूकहाँ लगेर उनीहरूलाई अन्य भाषाका ती उच्चारणहरू अध्ययन गर्न दिनुहोस्। तब उनीहरूको निष्कर्ष के हुनेछ? उनीहरूको निष्कर्ष यो हुनेछ, यी उच्चारणहरू अर्थहीन छन्, यी कुनै भाषा होइनन्।
यी कथित "अन्य भाषाहरू" त बाइबलका पन्नाहरूमा वर्णित अन्य भाषाहरू भन्दा ज्यादै फरक छन्। यस बारेमा चाबी खण्डचाहिँ प्रेरित अध्याय २ मा पाइन्छ जहाँ अन्य भाषाहरूको वरदानको पहिलो ऐतिहासिक प्रयोगको बयान छ। पेन्टेकोस्टको त्यस दिनमा के बोलिएका थिए त? यो निर्विवाद छ, त्यस दिन वास्तविक भाषाहरू नै बोलिएका थिए:
"तर जब त्यो आवाज भयो, तब एउटा भीड भेला भयो, र ती छक्कै परे; किनकि हरेक मानिसले उसको आफ्नै भाषामा तिनीहरूलाई बोलिरहेका सुन्यो...अनि कसरी हामीमध्ये हरेकले जुन भाषामा हामी जन्म्यौं, त्यसैमा बोलेको सुन्दैछौं ता?" (प्रेरित २:६,८)।
यस खण्डबाट हामी बाइबलीय अन्य भाषाको वरदानको परिभाषा नियमपूर्वक स्थापित गर्न सक्दछौं। अन्य भाषाको वरदान भनेको आफूले कहिल्यै नसिकेको भाषालाई बोल्न सक्ने अलौकिक क्षमता हो। यो अलौकिक थियो किनभने "आत्माले तिनीहरूलाई बोली दिनुभएअनुसार" (पद ४) थियो यो र उहाँबेगर यो हुन नै सक्दैनथ्यो। यो वास्तविक भाषा थियो "किनकि हरेक मानिसले उसको आफ्नै भाषामा तिनीहरूलाई बोलिरहेका सुन्यो" (पद ६)। ती वक्ताहरू आफूले कहिल्यै नसिकेका भाषाहरूमा बोल्दैथिए:
"अनि तिनीहरू सबै छक्कै परेर आपसमा यसो भन्दै अचम्म माने: "हेर, के यी बोल्नेहरू सबै गालीली होइनन् र?" (पद ७)।
अर्को चाबी खण्ड हो १ कोरिन्थी १४। अन्य भाषाहरू वास्तविक भाषाहरू थिए भन्ने तथ्यलाई समर्थन गर्ने दुइटा मजबुत तर्कहरू यस अध्यायमा भेटिन्छन्:
तर्क #१ – अन्य भाषाहरूलाई अनुवाद गर्न सकिन्थ्यो भन्ने तथ्य
१ कोरिन्थी १४:५,१३,२७,२८ मा हेर्नुहोस्। कुनै पनि विदेशी बोलीको अर्थ यदि बुझिने हो भने त्यसलाई अनुवाद गरिनुपर्दछ। त्यसैले त संयुक्त राष्ट्र संघका अधिवेशनहरूमा दोभाषेहरू (interpreters) प्रयोग गरिन्छन्। यी निपुण अनुवादकहरूले भाषाको रूपान्तर गरिदिएर विभिन्न राष्ट्रका प्रतिनिधिहरूलाई निजहरूले नबुझ्ने भाषामा बोलिएका कुरा बुझ्नलाई सेवा पुर्याउँछन्। मत्ती १:२३ मा "अर्थ" (interpretation) को माने "अनुवाद" हो भनेर देख्न सकिन्छ (हिब्रूमा "इम्मानुएल" लाई नेपालीमा "परमेश्वर हामीसित" भनेर अनुवाद गरिन्छ)।
हाम्रो तर्क यत्ति हो: वास्तविक भाषाको मात्र अर्थ हुन्छ अर्थात् त्यसलाई अनुवाद गर्न सकिन्छ। उत्तेजित उच्चारणहरू वा अर्थहीन ध्वनीहरू वा अर्थ नभएका बकबकलाई अनुवाद गर्न सकिन्न। उदाहरणको लागि "अमेजिङ्ग ग्रेस" शीर्षक भएको आत्मिक गीत नेपालीमा अनुवाद गरिन सकियो किनकि उक्त गीत एउटा वास्तविक भाषा (अङ्ग्रेजि) मा रचना गरिएको थियो। तर "फा ला ला ला ला ला ला ला ला" भनेर गाइने एउटा ख्रीष्टमस गीत भने अनुवाद गर्न सकिन्न किनकि यी स्वरहरू अर्थहीन छन्, सायद यीचाहिँ एक रमाइलो मानिरहेको व्यक्तिको भावुक अभिव्यक्ति भने होलान्।
निष्कर्ष: वास्तविक भाषाहरूको मात्र अर्थ बताउन सकिन्छ वा अनुवाद गर्न सकिन्छ। १ कोरिन्थी १४ अध्यायका अन्य भाषाहरू अनुवाद गर्न सकिन्थे। तसर्थ १ कोरिन्थी १४ अध्यायका अन्य भाषाहरू वास्तविक भाषाहरू थिए।
तर्क #२ – अन्य भाषाहरूमा शब्दहरू थिए भन्ने तथ्य
१ कोरिन्थी १४:१९ मा पढ्नुहोस् — "तरै पनि मण्डलीमा अन्य भाषामा दस हजार शब्द बोल्नुभन्दा ता बरु अरूलाई पनि सिकाउन सकूँ भनेर आफ्नो समझले पाँचओटा शब्द बोल्नु नै म चाहन्छु।" यस पदले ज्यादै स्पष्ट देखाउँछ कि अन्य भाषाहरूको वरदानमा "शब्द" हुन्थे। शब्द के हुन् त? अर्थ बोकेका स्वर हुन् ती। ती अर्थ बोक्ने माध्यम हुन् जसद्वारा हामी एक-अर्कासँग संवाद गर्दछौं। बाइबलमा अन्य भाषाहरू कुनै उत्तेजित उच्चारणहरू थिएनन्, ती त शब्दहरू थिए। अर्थहीन आवाज थिएनन् ती, ती त शब्दहरू थिए। अर्थ नभएक बकबक थिएनन् ती, ती त शब्दहरू थिए। उत्तेजित उच्चारणहरू थिएनन् ती, ती त अर्थपूर्ण उच्चारणहरू थिए।
अन्य भाषाहरूको वरदान विश्वमा बोलिने वास्तविक भाषाहरू थिए भन्ने कुरालाई समर्थन गर्ने थप तर्कहरूका लागि अङ्ग्रेजी पाठकले बाइबलीय अन्य भाषाहरू वास्तविक भाषाहरू थिए – १२ ओटा कारणहरू (Twelve Reasons Why Biblical Tongues Were Real Languages) भन्ने लेखलाई अध्ययन गर्न सक्नुहुन्छ।
के अन्य भाषाहरूको वरदान हरेक विश्वासीलाई दिइन्थ्यो? के अन्य भाषाहरू हरेक विश्वासीले बोल्नुपर्छ भनेर अपेक्षा गरिन्थ्यो?
१ कोरिन्थी १२:४-११ बाट हामी यो सिक्छौं हरेक विश्वासी जनसित एक न एक आत्मिक वरदान हुन्छ तर हरेक विश्वासीको वरदान एउटै हुँदैन। केही विश्वासीहरूसित अन्य भाषाहरूको दान थियो (पद १०) तर सबैसित होइन। १ कोरिन्थी १२:३० मा प्रश्न गरिएको छ, "के सबैले विभिन्न भाषाहरू बोल्छन्?" यो यस्तो खाले प्रश्न हो जसले नकारात्मक जवाफको माग गर्दछ। यसलाई नेपालीमा यसरी अनुवाद गर्न सकिन्छ, "के सबैले विभिन्न भाषाहरू बोल्छन् र?" यसको जवाफ हुन्छ, "बोल्दैनन्!" सबैले नै अन्य भाषाहरूमा बोल्दैनन्। यो दान कतिसित थियो तर सबैसित थिएन। यसर्थ नयाँ नियमको समयमा अन्य भाषाहरूको वरदान कतिपयलाई दिइन्थ्यो तर सबैलाई होइन।
त्यसो भए क्यारिज्म्याटिक समूहहरूमा किन सबैलाई नै अन्य भाषाहरूमा बोल्न अर्ती दिइन्छ र कर लगाइन्छ? यो सबैलाई दिइने वरदान होइन भने किन सबैलाई यसै गर्नुपर्छ भन्ने सल्लाह दिइन्छ?
त्यस्तो आज्ञा कतै छ त? "पवित्र आत्माले भरपूर होओ" (एफेसी ५:१८) भन्ने आज्ञा त छ। "आत्मामा हिँड" (गलाती ५:१६) भन्ने आज्ञा त छ। तर अन्य भाषाहरूमा बोल्नका लागि भने कतै आज्ञा दिइएको पाइँदैन। त्यस्तो आज्ञा कतै भेटिएला भन्ने आशा गर्न पनि मिल्दैन। किनभने जुन काम गर्न सकोस् भनेर परमेश्वरले कसै-कसैलाई मात्र क्षमता दिनुभयो, त्यही काम गरोस् भनेर उहाँले सबै विश्वासीहरूलाई कसरी आज्ञा गर्नुहुन्थ्यो र?
हाम्रा क्यारिज्म्याटिक मित्रहरूलाई एउटा चुनौती दिन चाहन्छौं: "यदि तपाईंहरूले मैले अन्य भाषामा बोल्नुपर्छ भन्ने एउटै मात्र आज्ञा परमेश्वरको वचनबाट प्रस्तुत गर्न सक्नुहुन्छ भने म खुसीसित अन्य भाषामा बोल्नलाई इच्छुक बन्नेछु।"
अन्य भाषाहरूमा बोल्न सिक्न मदत गर्ने प्रयासमा क्यारिज्म्याटिक अगुवाहरूले मानिसहरूलाई के-कस्ता निर्देशन दिने गर्छन्? एउटा उदाहरण यस प्रकार छ:
"[आफ्नो मातृभाषा] को एक शब्द पनि नबोल्ने अठोट गर्नुहोस् (किनभने एकैचोटि दुइटा भाषामा बोल्न सकिन्न)। आफ्नो स्वरको आवाज उठाउनुहोस् अनि पवित्र आत्माले तपाईंलाई नयाँ भाषाको उच्चारण अलौकिक तवरले दिनुहुनेछ। 'के भन्ने होला' भनेर फिक्री नगर्नुहोस् किनकि यो भाषा अलौकिक तवरले बोलिन्छ र यो भाषा मन वा मस्तिष्कबाट आउने कुरो होइन तर पवित्र आत्माद्वारा चलाइएर तपाईंको आत्माबाट आउने कुरो हो। विश्वासमा बोली-संयन्त्र (स्वर यन्त्र, जिभ्रो, ओठहरू) लाई क्रियाशील बनाउनुहोस् जसरी कुनै भाषामा बोल्दा ती क्रियाशील गरिन्छन् अनि पवित्र आत्माले, तपाईंभित्र अब रहनुभई, तपाईंलाई बोली दिनुहुनेछ।" [From a tract published by Dr. Hobart Freeman, Faith Ministries and Publications (Warsaw, Indiana)]
प्राचीन मण्डली इतिहासको पन्नामा पाइने अर्को उदाहरण यस प्रकार छ:
मार्कस: "'आफ्नो मुख खोल्नू, तिमीलाई जे आउँछ त्यही बोल्नू।' यस वचनको कारण घमण्डले फुलेर, आफूले नै अगमवाणी बोल्ने भएँ भन्ने प्रतिक्षाले प्राणमा अति उत्तेजित भएर, भावनाले उत्प्रेरित हुन गएको मुटुको जोडदार धड्कनका साथ-साथै दु:साहसको शिखरमा पुग्न सकेपछि उनले आफूलाई आएको कुनै एउटा अर्थहीन कुरा बिनालाज त्यस्तो बोलीमा बोल्दछिन् जुनचाहिँ एउटा रित्तो आत्माद्वारा चङ्गाइ पाएको व्यक्तिबाट अपेक्षा गर्न सकिन्छ।" [Irenaeus Against Heresies]
आफूले बोल्नुपर्ने के हो, त्यसको विचारै नगर्नू अरे? आफ्नो मन-मस्तिष्क प्रयोग नगर्नु अरे? के यस्तो सल्लाह पनि बुद्धिमानी हुन सक्छ?
"म मेरा परमेश्वरलाई धन्यवाद चढाउँछु — तिमीहरू सबैभन्दा बढी म भाषाहरू बोल्दछु; तरै पनि मण्डलीमा अन्य भाषामा दस हजार शब्द बोल्नुभन्दा ता बरु अरूलाई पनि सिकाउन सकूँ भनेर आफ्नो समझले पाँचओटा शब्द बोल्न नै म चाहन्छु" (१ कोरिन्थी १४:१८-१९)।
गजबको तुलना गरिएको छ यहाँ! बुझ्न सकिने पाँचओटा शब्द नै अन्य भाषामा बोलिने दस हजार शब्द भन्दा उत्तम हुन्छन्! प्रवचनलाई पाँच शब्दमा सीमित गर्न भनी कुनै प्रचारकलाई अनुरोध गर्नु कस्तो होला! (१) एकदम (२) थोरै (३) मात्र (४) भन्न (५) सकिन्छ! तर ती पाँच शब्द नै अन्य भाषामा बोलिने दस हजार शब्द भन्दा बढी लाभदायक हुन्छन्।
दस हजार शब्द बोल्न करिब डेढ घण्टा समय लाग्छ। पाँच शब्द बोल्न दुई सेकेन्ड मात्र लाग्छ। दुई घण्टा लगाएर नबुझिने शब्दमा बोल्नु भन्दा दुई सेकेन्डमा "ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो" (१ कोरिन्थी १५:३) भनेर बताउन नै पावल रोज्दछन्। जब त्यो बुझ्न सकिँदैनथ्यो त्यस बेला अन्य भाषाको कुनै महत्त्व रहँदैनथ्यो। यसैकारण अन्य भाषाको अनुवाद अनिवार्य गरिनुपर्थ्यो।
१ कोरिन्थी १४ मा पावलले अन्य भाषाको वरदान भन्दा भविष्यवाणीको वरदान बढी मूल्यवान रहेको बताउँछन् (१-५ पदहरू पढ्नुहोस्)। पावलले १ कोरिन्थी १२:२८ मा केही वरदानहरूलाई तिनका तुलनात्मक महत्त्वको आधारमा सूचीत गरेको देखिन्छ: "अनि परमरेश्वरले मण्डलीमा कतिलाई नियुक्त गर्नुभएको छ: पहिलो प्रेरितहरू, दोस्रो भविष्यवक्ताहरू, तेश्रो शिक्षकहरू; त्यसपछि सामर्थ्यका कामहरू, तब निको पार्ने वरदानहरू, सहायताहरू, अगुवाइ गर्ने कामहरू र किसिम-किसिमका भाषाहरू।" अन्य भाषा सबभन्दा पुछारमा उल्लेख गरिएको छ।
के त्यस्ता कुनै वरदानहरू थिए जसलाई परमेश्वरले आज दिने गर्नुहुन्न? निम्न उल्लेखित दुइटा वरदानहरू अस्थायी वरदानका उदाहरण हुन्:
१) प्रेरितको वरदान
आज मण्डलीमा कोही पनि प्रेरित छैनन्। यस तथ्यलाई प्रायः सबैले स्वीकार्छन्, धेरै पेन्टेकोस्टल अध्येताहरूले समेत। मर्मनहरू (Mormons) ले र साथै अन्य केही समूहहरूले आज पनि प्रेरितहरू छन् भनेर विश्वास गरे तापनि अधिकांशले भने प्रेरितहरू पहिलो शताब्दीका चुनिएका र दानयुक्त व्यक्तिहरूको एक विशिष्ट र ज्यादै भिन्न समूह थियो भनी स्वीकार्छन्। १ कोरिन्थी ९:१ मा एउटा साँचो प्रेरित भनेको बौरिउठ्नुभएको ख्रीष्टलाई आफ्नै आँखाले देख्ने व्यक्ति हुनुपर्छ भन्ने संकेत दिइएको पाइन्छ। आजका विश्वासीहरूको सवालमा यो साँचो हुने कुरै भएन (यूहन्ना १६:१०; १ पत्रुस १:८)।
२) भविष्यवाणीको वरदान
आज मण्डलीमा परमेश्वरद्वारा दानयुक्त भविष्यवक्ता (अगमवक्ता) हरू छैनन् यद्यपि त्यहाँ थुप्रै झूटा भविष्यवक्ताहरू भने छन्। प्रायः सबै क्यारिज्म्याटिक व्यक्तिहरू भविष्यवाणीको वरदान आजको लागि पनि हो भनेर विश्वास गर्दछन्। यस विषयमा #१३ मा चर्चा गरिनेछ। [धेरै वरदानहरूका अस्थायी चरित्रको बारेमा जर्ज जेलरद्वारा लिखित God's Gift of Tongues, pages 113-116 हेर्नुहोस्]
भविष्यवक्ताको
वरदानका गलत परिभाषाहरू:
"परमेश्वरको वचनलाई बुझ्ने र व्याख्या गर्ने क्षमता" [बिल्ली ग्राहाम, पवित्र आत्मा, पृष्ठ १३९]
"भविष्यवक्ताको वरदान वास्तवमा परमेश्वरको वचनलाई घोषणा गर्ने क्षमता थियो…त्यसैले यो वरदानचाहिँ मानिसहरूका सामु बोल्ने, परमेश्वरको वचन घोषणा गर्ने क्षमता थियो जसमा कहिलेकाहीँ भविष्यको कुरा बताउन सक्ने तत्त्व समेत समावेश हुन्थ्यो।" [जन म्याकार्थर जुनियर, द क्यारिज्म्याटिक्स, पृष्ठ १६४। जन म्याकार्थरको शिक्षाअनुसार परमेश्वरले आज अगमवाणीको वरदान दिनुहुन्छ तर अगमवक्ताहरू भने आज छैनन्। उनको शिक्षाअनुसार अगमवक्ताको वरदान (एफेसी ४:११) आज मण्डलीमा पाइँदैन तरैपनि अगमवाणीको वरदान भने पाइन्छ। १ कोरिन्थीको उनको टिप्पणी, पृष्ठ ३२२-३२४ मा हेर्नुहोस् र एफेसीको टिप्पणी पृष्ठ १४१-१४२ मा। यसअनुसार एउटा व्यक्तिसित अगवाणीको वरदान हुन सक्छ र उसले अगमवाणी कहन सक्छ तर ऊ अगमवक्ता होइन। यसको तात्पर्य चाहिँ एउटा व्यक्तिसित शिक्षाको वरदान भएर पनि ऊ शिक्षक नहुन सक्छ वा पास्टरको काम गर्ने वरदान भएर पनि पास्टर नहुन सक्छ।]
यी परिभाषाहरू त्रुटिपूर्ण छन्। यी परिभाषाहरू अनुसार कुनै पनि दानयुक्त बाइबल शिक्षक र कुनै पनि दानयुक्त पास्टरसित भविष्यवाणीको वरदान हुने देखिन्छ। हरेक पास्टरसित परमेश्वरको वचनलाई घोषणा गर्ने र त्यसको व्याख्या गर्ने क्षमता हुनुपर्छ तर त्यसो हुँदैमा पास्टर भविष्यवक्ता बन्दैन।
यी परिभाषाहरूले भविष्यवाणीको वरदान र शिक्षकको वरदानका बीच सठीक भिन्नता राख्दैन। १ कोरिन्थी १२:२८-२९ मा हेर्नुहोस् जहाँ शिक्षकको वरदान भएकाहरू र भविष्यवक्ताको वरदान भएकाहरूका बीच प्रस्ट भिन्नता राखिएको पाइन्छ।
भविष्यवाणीको
वरदानको बाइबलीय परिभाषा:
"त्यसैसँग कुरा गर् र त्यसले भन्नुपर्ने कुरा तैंले बता, र म तिमीहरू दुवैसँग हुनेछु र तिमीहरूले के गर्नुपर्ने हो सो बताउनेछु। त्योचाहिँ तेरो निम्ति मानिसहरूसित बोल्नेछ, र तेरो मुखझैं हुनेछ, र तँचाहिँ त्यसको निम्ति ईश्वरतुल्य हुनेछस्" (प्रस्थान ४:१५-१६)।
यसलाई अङ्ग्रेजि किङ्ग जेम्सबाट यसरी अनुवाद गर्न सकिन्छ:
"तिमीले त्यससँग बात गर्नेछौ र त्यसको मुखमा वचनहरू राखिदिनेछौ, र म तिम्रो मुखसित र त्यसको मुखसित हुनेछु, र तिमीले के गर्नपर्ने हो म तिमीलाई सिकाउनेछु। त्योचाहिँ सबै मानिसहरू तर्फ तिम्रो प्रवक्ता हुनेछ, र त्यो, अँ त्योचाहिँ तिमीलाई तिम्रो मुखको सट्टामा हुनेछ, र तिमीचाहिँ त्यसको निम्ति परमेश्वरको सट्टामा हुनेछौ।"
"तब परमप्रभुले मोशालाई भन्नुभयो, "हेर्, मैले तँलाई फारोको निम्ति ईश्वरतुल्य बनाएको छु, र तेरो दाज्यू हारून तेरो प्रवक्ता [हिब्रूमा नावी अर्थात् अगमवक्ता] हुनेछ। म जे तँलाई हुकुम गर्नेछु तैंले त्यही बता, र तेरो दाज्यू हारूनले इस्राएलीहरूलाई त्यसको देशबाट जान दिओस् भनी फारोलाई भन्नेछ" (प्रस्थान ७:१-२)।
हारून मोशाका निम्ति प्रवक्ता तुल्याइए। अगमवक्ता र परमेश्वरको जस्तो सम्बन्ध हुन्छ त्यस्तै हारून र मोशाको सम्बन्ध तुल्याइयो। यसको मतलब? हारूनले मोशाका वचनहरू बोल्थे जसरी अगमवक्ताले परमेश्वरका वचनहरू बोल्थे। हारून मोशाको मुख तुल्याइए जसरी अगमवक्ता परमेश्वरको मुख तुल्याइएका हुन्थे्। हारून मोशका प्रवक्ता थिए जसरी अगमवक्ता परमेश्वरका प्रवक्ता हुन्थे, परमेश्वरको मुखको रूपमा काम गर्थे, परमेश्वरकै सन्देश घोषणा गर्ने काम गर्थे ("परमप्रभु यसो भन्नुहुन्छ!")। अगमवक्ताको ईश्वरीय परिभाषा यही हो। तसर्थ अगमवाणीचाहिँ परमेश्वरबाटको दान हो जसद्वारा एक व्यक्तिले परमेश्वरको सन्देश घोषणा गर्न सक्दछ र परमेश्वरकै वचन बोल्न सक्दछ। प्रत्येक अगमवाणीले यो छाप बोकेको हुन्छ — "किनकि परमप्रभुको मुखले बताएको छ!"
नयाँ नियमका निम्न खण्डहरूबाट अगमवाणीको दान बुझ्न हामीलाई मदत मिल्छ: "किनकि कुनै पनि समयमा भविष्यवाणी मानिसको इच्छाद्वारा आएन, तर परमेश्वरका पवित्र जनहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले" (२ पत्रुस १:२१)। पवित्र आत्माद्वारा चलाइएर नै अगमवक्ता (भविष्यवक्ता) हरूले ठीक त्यही कुरा बोले (र लेखे) फलस्वरूप उनीहरूले जुन परमेश्वरले चाहनुभएको थियो। त्यो परमेश्वरकै सन्देश थियो, परमेश्वरकै वचन थियो। "अब भविष्यवक्ताद्वारा प्रभुले भन्नुभएको कुरा पूरा होओस् भनेर यो सब भएको थियो" (मत्ती १:२२)। बोल्नेचाहिँ परमेश्वर हुनुहुन्थ्यो, तर उहाँले कसरी बोल्नुभयो? उहाँले अगमवक्ताको मुख प्रयोग गर्नुभयो (यस उदाहरणमा यशैयाको मुखलाई)। त्यो परमेश्वरकै सन्देश र वचन थियो तर एउटा मान्छेको मुखद्वारा घोषणा गरियो।
अगमवक्ता सयमा सय प्रतिशत अचूक हुनुपर्थ्यो (हेर्नुहोस् व्यवस्था १८:२१-२२)। किन? किनकि परमेश्वर सयमा सय प्रतिशत अचूक हुनुभएकोले र साँचो अगमवक्ता परमेश्वरकै मुख भएकोले। यदि परमेश्वरको सन्देश अगमवक्ताको मुखद्वारा घोषणा गरिन्छ भने त्यो सयमा सय प्रतिशत अचूक हुन्छ। अगमवक्ताले अगमवक्ताको हैसियतमा बोल्दाखेरि उसले परमेश्वरको वचन बोल्दछ ("परमप्रभु यसो भन्नुहुन्छ!") , र त्यो सन्देश त्रुटिरहित हुन्छ र सयमा सय प्रतिशत अचूक हुन्छ। एउटा शिक्षक (वा पास्टर-शिक्षक) ले परमेश्वरबाट दिइसकिएको परमेश्वरको वचनको व्याख्या गर्दछ। सबैभन्दा अस बाइबल शिक्षक पनि त्रुटिरहित हुँदैन, ऊ चुक्न सक्दछ।
अगमवाणी (भविष्यवाणी) के हो? अगमवाणी भनेको प्रेरणायुक्त बोली हो। यो बोली वा लिखतमा परमेश्वरकै वचन हो। मीकायाको परिभाषाअनुसार अगमवाणी के हो, २ इतिहास १८:१३ मा हेर्नुहोस्।
अगमवक्ता (भविष्यवक्ता) के हो? अगमवक्ता भनेको परमेश्वरको मुख हो जसद्वारा परमेश्वर बोल्नुभयो र उहाँले आफ्नो सिद्ध र अचूक प्रकाश दिनुभयो।
अगमवाणीको दान आज पनि दिइँदैछ भन्ने धेरैजनाको दाबी छ। यदि यो साँचो हो भने यसको तात्पर्य के हुनेथ्यो विचार गरौं त। यसको मतलब परमेश्वरले आज पनि आफ्नो वचन दिँदैहुनुहुन्छ र त्यसैले पवित्रशास्त्र अपूरो छ भन्ने हुन्थ्यो। यदि आज पनि वर्तमान अगमवक्ताहरूद्वारा परमेश्वरले थप प्रकाश दिँदैहुनुहुन्थ्यो भने बाइबलका ६६ पुस्तकहरू पर्याप्त छैनन् भन्ने बुझिन्थ्यो। यी आधुनिक अगमवक्ताहरूले आपूर्ति गरिदिने अत्यावशक सत्यताहरू र तथ्यहरूबिना बाइबल अपूरो छ भन्ने बुझिन्थ्यो। बाइबल पर्याप्त छैन भन्ने बुझिन्थ्यो! हामीलाई बाइबलबाहेक यी नयाँ अगमवाणीहरू चाहिन्थ्यो!
यस प्रकारको शिक्षा, हाम्रो विश्वास र अभ्यासको लागि बाइबल नै यथेष्ट छ भन्ने सत्यतामाथि एउटा गम्भीर प्रहार हो। हामी परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनले बाँच्नुपर्छ (मत्ती ४:४), र यी वचनहरू बाइबलका ६६ पुस्तकहरूमा पाइन्छन्।
"होइन, मण्डलीलाई आज स्वर्गबाट नयाँ प्रकाश चाहिएको होइन! हामीसँग पूरो बाइबल छँदै छ, र यसको अर्थ खुलाउन र यसलाई व्यावहारिक बनाउन हामीसँग पवित्र आत्मा हुनुहुन्छ। मण्डलीलाई चाहिएको को हो? मण्डलीलाई चहिएको यो हो — आफ्नो परमेश्वरलाई साँच्ची नै चिन्ने र उहाँको एकमात्र लिखित प्रकाशलाई आदर गर्ने व्यक्तिहरूद्वारा अधिकार र प्रेमले पवित्र आत्माको सामर्थ्यमा घोषणा गरिएको परमेश्वरको सारा मनसायको एउटा नयाँ चुनौती। तब मात्र हाम्रा सबैभन्दा गहिरा खाँचोहरू पूरा हुने र यस पुस्तामा उहाँको मण्डलीको लागि परमेश्वरको उद्देश्य पूरा हुने आशा गर्न सक्छौं।" [डाक्टर जन सी. व्हिटकम्ब, डज गड वान्ट क्रिश्चियनस् टु परफोर्म मिराकल्स टुडे? (BMH Books, 1973), pages 12-13]
अगमवाणीको वरदान शुरूको मण्डलीलाई आवश्यक रहेको तर बाइबल पूरा भएपछि आवश्यक नरहेको एउटा अस्थायी वरदान थियो भन्ने स्पष्ट संकेतहरू नयाँ नियममा पाइन्छन्। [पाठकले अङ्ग्रेजीमा उपलब्ध First Corinthians 14 and Temporary Gifts भन्ने लेखलाई अध्ययनलाई गर्न सक्नुहुन्छ।]
भविष्यवाणीहरू बितेर जानेछन् तर विश्वास, आशा र प्रेम रहिरहनेछन् भनेर १ कोरिन्थी १३:८ र १३ ले बताएको छ। यो भविष्यवाणी पहिलो शताब्दीको अन्ततिर पूरा भयो।
प्रेरितहरू र नयाँ नियमका अगमवक्ताहरू जगका मानिसहरू थिए भन्ने कुरा एफेसी २:२० ले सिकाएको छ: "अनि तिमीहरू प्रेरितहरू र भविष्यवक्ताहरूको जगमाथि बनाइएका छौ, जसको कुनाढुङ्गाचाहिँ येशू ख्रीष्ट आफै हुनुहुन्छ।" जग भनेको निर्माणको पहिलो चरणमा एकैपटक मात्र बसालिने कुरा हो। जगलाई फेरि-फेरि बसालिने काम गरिँदैन। यी मानिसहरू जगमा मानिस थिए किनकि उनीहरूद्वारा नै हामीले नयाँ नियमका लेखोटहरू प्राप्त गरेका हौं। जगलाई फेरि बसाल्न आवश्यक छैन तर जगमाथि चाहिँ बसाल्न खाँचो छ। सम्भवत: आज परमेश्वरको निर्माण कार्य मानौं "धुरी-चरण" मा पुगिसकेको हुन सक्छ, र चाँडै नै आखिरी "जिउँदो पत्थर" (१ पत्रुस २:५) लाई त्यसको ठाउँमा राखिन सक्छ अनि तब ख्रीष्ट आफ्नो मण्डलीलाई आफूकहाँ लिनलाई आउनुहुनेछ (यूहन्ना १४:१-३; १ थेस्सलोनिकी ४:१३-१८)।
अगमवाणीको वास्तविक वरदान बितेर जानेछ भन्ने संकेत २ पत्रुस २:१ ले दिएको देखिन्छ। "तर जसरी मानिसहरूका बीचमा झूटा भविष्यवक्ताहरू हुन्थे, उसरी नै तिमीहरूका बीचमा पनि झूटा शिक्षकहरू हुनेछन्, जसले तिनीहरूलाई किन्नुहुने प्रभुलाई समेत इन्कार गर्दै गुप्त तवरले नाश पार्ने झूटा शिक्षाहरू भित्र हुल्नेछन्, र आफूमाथि चाँडै आउने विनाश ल्याउँछन्।"
यहाँ ध्यानपूर्वक पढ्नुहोस्:
"झूटा भविष्यवक्ताहरू हुन्थे"
"झूटा शिक्षकहरू हुनेछन्"
शैतानले साँचो कुराको नक्कल गर्ने गर्छ। पत्रुसले यी वचन लेख्दाहुँदी त्यहाँ साँचो अगमवक्ताहरू थिए र शैतानले झूटा अगमवक्ताहरू खडा गरी तिनीहरूको सामना गरे। अगमवक्ताको वरदान बितेर गएपछि नक्कलद्वारा सामना गर्नलाई त्यहाँ साँचो अगमवक्ताहरू थिएनन्। तर त्यहाँ साँचो शिक्षकहरू थिए त्यसैले शैतानले अब झूटा शिक्षकहरू खडा गरी तिनीहरूको सामना गरे।
क्यारिज्म्याटिक जवाफ:
१) "अन्य भाषाहरूको वरदान बन्द भएकै छैन। परमेश्वरले नयाँ नियमको समयमा जस्तै गरी आज पनि अन्य भाषाको वरदान दिँदैहुनुहुन्छ।"
वा,
२) "अन्य भाषाको वरदान मण्डली इतिहासको शुरूतिर अन्त भयो, सम्भवत: पहिलो शताब्दीको अन्ततिर। तरैपनि आजका आखिरी दिनहरूमा अन्य भाषाहरूको वरदान फेरि प्रकट भएको छ र परमेश्वरले फेरि पनि यस वरदानलाई दिँदैहुनुहुन्छ।"
इभान्जेलिकलहरूको
सम्झौतापूर्ण (compromising)
जवाफहरू:
डा बिल्ली ग्राहाम, आफ्नो पुस्तक पवित्र आत्मा (The Holy Spirit, Word, १९७८) मा भन्छन्,
"अन्य भाषाको वरदान नयाँ नियमका समयहरूका लागि मात्र सीमित थियो भन्ने कुराको बाइबलीय आधार त म आफैले कतै पाउन सक्दिनँ" (पृष्ठ १७२)।
अन्य भाषाहरूको वरदानको चर्चा गरिएको उनको "चिन्हरूपी वरदानहरू" (Sign Gifts) भन्ने अध्यायमा अन्य भाषाहरू बन्द हुनेछन् भन्ने पावलको भविष्यवाणी भएको १ कोरिन्थी १३:८ को उल्लेख समेत नहुनु उल्लेखनीय मान्नुपर्छ।
आज पनि परमेश्वरबाटको अन्य भाषाको सकली वरदान छ भनी चर्चित लेखक हाल लिन्ड्जी सिकाउँछन्। शैतान जगतमा जिँउदो र सक्रिय छन् (Satan is Alive and Well On Planet Earth) नाम गरेको उनको अधिक मात्रमा बिक्री भएको पुस्तकको पृष्ठ १४७ मा उनले लेख्छन्,
"परमेश्वरले आज अन्य भाषाको सकली वरदान दिँदैहुनुहुन्छ भन्ने कुरामा म विश्वास गर्छु।" अन्य भाषाहरू वास्तवमै बन्द भएका थिए भन्ने उनको मान्यता रहेको छ (जसरी इतिहासमा प्रमाणित छ) तर यी आखिरी दिनहरूमा अन्य भाषाहरूको वरदान फेरि देखा परेको छ भनी उनी सिकाउँछन् (पृष्ठ १४०-१४१)।
"च्यापल अफ दि एअर" का चर्चित रेडियो प्रचारक जोन डी जेसले "अन्य भाषाहरूको वरदान मण्डलीलाई प्राप्य नभएको" भन्ने कुरालाई "अन्य भाषाहरूको वरदानलाई इन्कार गर्ने हास्यास्पद अतिवादी अडान" भनेर बताउँछन् (डिभाइड एण्ड कन्कर, पृष्ठ ४०)।
आधारभूतवादी बाइबल विश्वासीहरू
(Fundamental Bible Believers) को जवाफ:
"नयाँ नियम पवित्र शास्त्रहरू लेखिने र तिनको आधिकारिक मान्यता स्थापित हुने क्रममा अन्य भाषा बोल्ने र चिन्हरूपी आश्चर्यकर्महरू गर्ने कामहरू बिस्तारै बन्द भए" (न्यू इङ्गल्याण्ड बाइबल कन्फरेन्सको विश्वासको विवरण)।
बाइबलीय जवाफ:
"प्रेम कहिल्यै टल्दैन। तर चाहे भविष्यवाणीहरू होऊन्, ती बितेर जानेछन्; चाहे भाषाहरू होऊन्, ती बन्द हुनेछन्; चाहे ज्ञान होस्, त्यो बितेर जानेछ" (१ कोरिन्थी १३:८)।
अन्य भाषाहरूको वरदान बन्द हुनेछन् भनी पावलले भविष्यवाणी गरे। यसको मतलव परमेश्वरले अन्य भाषाहरूको वरदान दिने कामलाई रोक्नुहुनेछ। समस्या के छ भने पावलले यस पदमा अन्य भाषाहरू कहिले बन्द हुनेछन् भनेर बताएनन्। उनले "अन्य भाषाहरू ७० एडीमा बन्द हुनेछन्" भनेनन्। उनले "अन्य भाषाहरू १००० वर्ष पछाडि बन्द हुनेछन्" भनेनन् वा उनले "अन्य भाषाहरू प्रभुको दोस्रो आगमनमा बन्द हुनेछन्" भनेनन्।
अन्य भाषाहरू वास्तवमा कहिले बन्द भए त भनी निर्धारण गर्नलाई तीनओटा आधारहरू छन्। हामी अब प्रत्येकलाई विचार गर्नेछौं।
१) इतिहासलाई हेर्दा (Historical Approach)
अन्य भाषाहरूको वरदान मण्डली इतिहासको शुरूतिरै बन्द भए भन्ने कुराको अत्यधिक ऐतिहासिक प्रमाण पाइन्छ। क्यारिज्म्याटिक अभियानकै मित्र रिचार्ड कबीडोले यस तथ्यलाई स्वीकार गरेका छन्:
दोस्रो शताब्दीको आखिरीदेखि अठाह्रौं वा उन्नाइसौं शताब्दीसम्म नै अन्य भाषाहरू देखा परेको गवाही दुर्लभ र अस्पष्ट छ … तेस्रो शताब्दीका ओरिगेन, र चौथो शताब्दीका क्रिसोस्टोम, दुवैले अन्य भाषाका उल्लेखहरूलाई तिरस्कार गरेका छन्, र त्यसको निरन्तरताको समर्थनलाई इन्कार गरेका छन्। पाँचौं शताब्दीको शुरूतिरका अगस्टिनले अन्य भाषा केवल बाइबलीय समयहरूमा प्रकट भएको युगानुकूल चिन्ह थियो भनेर ठोकुवा दिएका छन्। [Richard Quebedeax, The New Charismatics, pp. 20-21]
महान् प्रचारक क्रिसोस्टोमको टिप्पणी उल्लेखनीय छ:
"यो पूरै खण्ड ज्यादै अस्पष्ट छ [१ कोरिन्थीमा उल्लेखित अन्य भाषाहरूको पदहरूको बारेमा टिप्पणी गर्दै] तर यो अस्पष्टताको कारण हाम्रो अज्ञानता हो। उल्लेखित तथ्यहरूका बारेमा हामी अनजान भएका हुनाले र ती कुराहरू अब बन्द भइसकेका हुनाले ती कुराहरू हामीलाई अस्पष्ट लागेका हुन् किनकि ती कुराहरू उहिलेको समयमा हुने गर्थे तर ती अब बन्द भइसकेका छन्।" [Homilies, XXIX, 1.]
अर्को शब्दमा भन्नुपर्दा, चौथो शताब्दीका लेखक क्रिसोस्टोमले पावलद्वारा वर्णित अन्य भाषाहरूको वरदानचाहिँ पावलको समयमा सक्रिय रहेको तर क्रिसोस्टोमको समयमा आएर निष्क्रिय भइसकेको भनी बयान गरेका छन्। उनले उक्त वरदान "बन्द" भइसकेको भनी टिप्पणी गर्दछन्।
क्लीओन रजर्सले यसरी लेखेका छन्:
"उल्लेखनीय कुरा के छ भने अन्य भाषाहरूको वरदानलाई प्रेरित-पश्चातका अग्रजहरू (Post Apostolic Fathers) का कुनै पनि लेखमा उल्लेख गरिएको छैन, कतै त्यसको अलिकति छनक समेत पाइँदैन।" [John MacArthur, Jr., The Charismatics, p. 169.]
अन्य भाषाहरूको वरदान, पावलका अघिल्ला पत्रहरूमध्येमा गनिने १ कोरिन्थीमा मात्र उल्लेख हुनु तर पावलका पछिल्ला पत्रहरूमा त्यसको कतै उल्लेख नहुनु एउटा महत्त्वपूर्ण कुरा हो। यसले अन्य भाषाहरूको वरदान, बाइबलका लेखोटहरू पूर्ण हुनु अगावै बन्द भइसकेको हुन सक्छ भन्ने कुराको सङ्केत दिन्छ।
२) सन्दर्भलाई हेर्दा (Contextual Approach)
अन्य भाषाहरू कहिले बन्द भए भनेर निर्धारण गर्न यस प्रमाणिकरणमा १ कोरिन्थी १३:८ ("भाषाहरू … बन्द हुनेछन्") को सन्दर्भलाई अध्ययन गरिनेछ। उक्त अध्यायको मूल सन्देशलाई सारांशमा निम्न बुँदाहरूमार्फत बताउन सकिन्छ:
१) टलेर जाने कुरा तीनओटा छन् (पद ८)
२) रहिरहने कुरा तीनओटा छन् (१३)
३) कहिल्यै नटल्ने कुरा एउटा छ (८); योचाहिँ सदासर्वदा रहिरनेछ (पद १३)।
यहाँ तीनओटा समयावधिहरूलाई जनाइएको छ:
१) अगमवाणीको, अन्य भाषाहरूको र ज्ञानको वरदान सक्रिय रहने समय – यी दानहरू मण्डलीको प्रारम्भिक चरणमा परमेश्वरबाट दिइएका विशिष्ट प्रकाशकीय दानहरू (revelatory gifts) हुन्।
२) अगमवाणीको, अन्य भाषाहरूको र ज्ञानको वरदान अन्त भइसकेको, बन्द भइसकेको, बितेर गइसकेको (पद ८) समय, तर विश्वास, आशा र प्रेम भनिने सद्गुणहरू रहिरहने समय — यो समय वर्तमान युगको समय हो।
३) प्रेम मात्र रहिरहने तर विश्वास र आशा नरहने समय — यो अनन्तताको अवस्थिति (eternal state) हो जब विश्वासको सट्टा दृष्टि हुनेछ (२ कोरिन्थी ५:७; हिब्रू ११:१) र आशाको सट्टा अनुभूति हुनेछ (रोमी ८:२४-२५)।
तसर्थ, अनन्ताको अवस्थिति शुरू हुनु अगाडि एउटा समयावधि त्यहाँ हुनैपर्छ जुन बेला अन्य भाषाहरूको र अगमवाणीको दानहरू निष्क्रिय बन्छन् तर विश्वास र आशा सक्रिय रहिरहन्छन् भन्ने कुरा १ कोरिन्थी १३ अध्यायले स्पष्टै सिकाएको छ। परमेश्वरले अन्य भाषाहरूको वरदानलाई यस वर्तमान युगभरि दिइरहनुभएको छ भन्ने शिक्षालाई यसले खण्डन गर्दछ।
१ कोरिन्थी १३ को अझ विस्तृत अध्ययनको लागि अङ्ग्रेजि पाठकले १ कोरिन्थी र अस्थायी वरदानहरू (1 Corinthians and Temporary Gifts) भन्ने लेखलाई पढ्न सक्नुहुन्छ।
३) उद्देश्यलाई हेर्दा (Purposive Approach)
अन्य भाषाहरूको वरदानको उद्देश्य के थियो? अन्य भाषाहरूको उद्देश्य जान्न सकियो भने अन्य भाषाहरू कहिले बन्द भए भनेर निर्धारण गर्न सम्भव हुन्छ। यस उद्देश्यसम्बद्ध तर्कलाई यसरी व्यक्त गर्न सकिन्छ: जुन उद्देश्यका लागि भनेर यस वरदान दिइयो उक्त उद्देश्यको निम्ति यसको कुनै काम नरहेपछि अन्य भाषाहरूको वरदान बन्द भयो।
नयाँ नियममा एउटै मात्र खण्ड पाइन्छ जसमा अन्य भाषाहरूको उद्देश्य बताइएको छ। त्यहाँ पावल यसो भन्छन्:
"यसकारण भाषाहरूचाहिँ चिन्हका निम्ति हुन्…" (१ कोरिन्थी १४:२२)।
"निम्ति" भनेर रूपान्तर गरिएको निपात शब्द (ग्रीकमा ऐस्, εις) ले उद्देश्यलाई जनाउँदछ। यस पद (२२) मा अन्य भाषाहरूको उद्देश्य बताउँदा पावलले वास्तवमा अघिल्लो पद (२१) को कुरालाई आधार बनाएर निर्क्योल गरेको कुरा त प्रस्टै देखिन्छ। पद २१ चाहिँ निम्न महत्त्वपूर्ण शब्दहरूबाट शुरू हुन्छ,
"व्यवस्थामा लेखिएको छ…" (१ कोरिन्थी १४:२१)
यस पदमा पावलले पुरानो नियमको एउटा खण्ड, यशैया २८:११-१२ लाई उद्दरण गर्दछन्। अन्य भाषाको बाइबलीय उद्देश्य खुलाउने चाबीचाहिँ "व्यवस्थामा" अर्थात् पुरानो नियममा छ भनी पावल जान्दथे। पुरानो नियमले अन्य भाषाको बारेमा के सिकाउँदछ त? पुरानो नियमका समयमा अन्य भाषाहरूको सार्थता (significance) र उद्देश्य के थियो? जबजब विदेशी भाषाहरू सुनिन्थे, तब त्यसको मतलब के हुने गर्थ्यो?
विदेशी भाषाहरूको सार्थता देखाउने पुरानो नियमको खण्ड यशैया २८ मात्र होइन। यस्ता अन्य खण्डहरू पनि छन् जसले समग्रमा एउटा एकदम गम्भीर बाइबलीय सिद्धान्तलाई प्रस्तुत गरेको पाइन्छ — यस्तो सिद्धान्त जुन इतिहासमा पटक-पटक प्रकट हुन गएको छ। पुरानो नियममा विदेशी भाषाहरूको उल्लेखहरूलाई विचार गर्दा, एउटा ज्यादै गम्भीर र दुःखलाग्दो श्रृङ्खला सहजै प्रकट हुन्छ:
उत्पत्ति ११
मानिसलाई परमेश्वरको एउटा सन्देश थियो (उत्पत्ति ९:१,७)।
ती मानिसहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (उत्पत्ति ११:४)।
परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (उत्पत्ति ११:७)।
ती मानिसहरू तितरबितर पारिन्छन् (उत्पत्ति ११:८)।
व्यवस्था २८
आफ्नो जातिलाई परमेश्वरको एउटा सन्देश थियो (व्यवस्था २८:१)।
उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (व्यवस्था २८:१५)।
परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (व्यवस्था २८:४९)।
ती मानिसहरू तितरबितर पारिन्छन् (व्यवस्था २८:६४-६५)।
यर्मिया ५
आफ्नो जातिलाई परमेश्वरको एउटा सन्देश थियो (यर्मिया ४:१)।
उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (यर्मिया ५:३)।
परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (यर्मिया ५:१५)।
ती मानिसहरू तितरबितर पारिन्छन् (यर्मिया ५:१९)।
यशैया २८
आफ्नो जातिलाई परमेश्वरको एउटा सन्देश थियो (यशैया २८:१२क)।
उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (यशैया २८:१२ख)।
परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (यशैया २८:११)।
ती मानिसहरू तितरबितर पारिन्छन् (यशैया २८:१३)।
तुलना गर्नुहोस् — यशैया ३३ को ठीक विपरित परिस्थिति
सन्दर्भचाहिँ हजार वर्षको राज्य (मलेनियम) को हो। इस्राएलले परमेश्वरको आशिषको अनुभूति गर्नेछ भन्ने कुराको सङ्केतस्वरूप परमेश्वरले त्यहाँ भाषाहरू सुनिन दिनुहुन्न (पद १९)। उनीहरू अबदेखि उसो कहिल्यै तितरबितर पारिनेछैनन्!
नयाँ नियममा उक्त श्रृङखला फेरि दोहोरिएको
मानिसहरूलाई परमेश्वरको एउटा सन्देश थियो (मत्ती ११:२८; यर्मिया ४:१ र यशैया २८:१२ सित तुलना गर्नुहोस्)।
उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (मत्ती २३:३७)।
परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (प्रेरित २,१०,१९ आदि)।
ती मानिसहरू तितरबितर पारिन्छन् (मत्ती २३:३८; २४:२)।
* * * * * * *
अन्य भाषाहरूको वरदानले अविश्वासी इस्राएलको विरूद्धमा उनीहरूमाथि आउन लागेको इन्साफको चिन्हको रूपमा काम गरेको थियो। इन्साफ पूरा भइसकेपछि इन्साफको चिन्हको त कुनै आवश्यकता रहँदैन। ७० एडीमा जनरल तीतसको मातहतमा आएको रोमी सेनाको तरवारले मसीहलाई अस्वीकार गर्ने इस्राएल राष्ट्रको पतन गरिदियो। ७० एडीदेखि यता राष्ट्रको हकमा इस्राएल परमेश्वरको इन्साफमुनि परेको छ भन्ने कुराको कुनै शंका छैन। तसर्थ, चिन्हरूपी वरदानको रूपमा ७० एडीदेखि यता अन्य भाषाहरूको कुनै आवश्यकता रहेन भन्ने निष्कर्षमा हामी आइपुग्दछौं। इतिहासमा अन्तिम पटक अन्य भाषाहरूको वरदानको उल्लेख १ कोरिन्थी मा पाइन्छ जुनचाहिँ लगभग ५५ एडीमा लेखियो। ७० एडीपछि अन्य भाषाहरूको सकली वरदान फेरि प्रकट भएको ऐतिहासिक प्रमाण कतै पाइँदैन। अन्य भाषाले आफ्नो उद्देश्य पूरा गर्यो, र अन्य भाषा बन्द भयो, ठीक जसरी परमेश्वरले प्रेरित पावलद्वारा पूर्वउल्लेख गर्नुभएको थियो (१ कोरिन्थी १३:८)।
उपर्युक्त बुँदाहरूको अझ विस्तृत प्रस्तुतिको खोजी गर्नुहुनेहरूले जर्ज जेलरद्वारा अङ्ग्रेजिमा रचित गड्स गिफ्ट अफ टङ्गस् नामक पुस्तकलाई यस लिङ्कमार्फत प्राप्त गर्न सक्नुहुनेछ:
अन्य भाषाहरूको बाइबलीय वरदान भनेको एउटा यस्तो अलौकिक क्षमता थियो जसमा एउटा व्यक्तिले आफूले कहिल्यै नसिकेको विदेशी भाषामा बोल्न सक्थ्यो। मुक्ति नपाएको व्यक्तिसँग यस किसिमको ईश्वर-प्रदत्त क्षमता हुने कुरै भएन। आत्मिक वरदानहरू त विश्वासीहरूलाई उनीहरूले मुक्ति पाएकै घडीमा दिइन्छन्, अविश्वासीहरूलाई होइन।
उत्तेजनात्मक उच्चारणहरू बोलिने ("ग्लोसोलेलिय", glossolalia) हिजोआजको घटना भनेको एउटा बेग्लै कुरो हो। मुक्ति नपाएकाहरूले यस्ता अन्य भाषाहरूमा बोलेका असङ्ख्य उदाहरणहरू छन्। यसमध्ये केहीलाई यहाँ प्रस्तुत गरिन्छ:
१) दोस्रो शताब्दीमा मन्टानिस्टहरू (Montanists) ले अन्य भाषाहरूमा बोले। यो एउटा झूटा-शिक्षा (heretical) समूह थियो। उक्त समूह विशेष गरी पवित्र आत्मा सम्बन्धीका त्यसका झूटा शिक्षाहरूका खातिर परिचित थियो। मन्टानस (Montanus) र उनका अनुयायीहरूको निम्न बयान युसीबियसको मण्डली इतिहास (Eusebius' History of the Church) मा उल्लेख भएको छ:
मन्टानसले, आफू शिखरमा पुग्ने अनियन्त्रित महत्त्वाकाङ्क्षामा, आफैमाथि शत्रुलाई खुल्ला मौका दिए, र आत्मिक उत्तेजनाले भरिएर एक्कासी उसलाई एक किसिमको झुम्म तान्द्रा र अप्राकृतिक हर्षोन्मादले छोप्यो। उनी बर्बराए, र बित्थामा कराउन र अर्थहीन कुरा बोल्न थाले, र शुरूदेखि पुस्ता-पुस्तामा हस्तान्तरण हुँदै आएको मण्डलीको अभ्याससित बाझ्ने तरिकाले अगमवाणी गर्न थाले। उसका स्वाङपूर्ण उच्चारणहरूलाई त्यस बखत सुन्नेहरूमध्येमा कतिजना चिढिए, र तिनीहरूले उनी दुष्टात्मा लागेको, भ्रमको आत्माको पकडमा परेको, र शान्ति भंग गर्ने व्यक्ति रहेछन् भनी बुझे। प्रभुले कायम गर्नुभएको स्पष्ट भिन्नतालाई र झूटा अगमवक्ताहरूको बारेमा उहाँको चेताउनीहरूलाई सम्झना गर्दै तिनीहरूले उनलाई हप्काए र उसको बकबकलाई रोक्ने प्रयास गरे…। तब उनले गोप्य तवरले साँचो विश्वासप्रति अन्धा भएकाहरूको मनहरूलाई उत्तेजित गराई तातो बनाए, र यस मार्गमा दुईजना अरूलाई खडा गराए — अर्थात् स्त्रीहरूलाई जसलाई उनले त्यस स्वाङ पार्ने आत्माले भरिदिए, र फलस्वरूप उनीहरू मन्टानस जस्तै उन्मत्त भएर बित्थामा, अनुचित र अशिष्ट प्रकारले कराए।
युसीबियसका अनुसार अन्य भाषा बोल्ने यस अभ्यास मण्डलीको अभ्यास भन्दा बिलकुलै विपरित थियो। हुन पनि हो — मन्टानस र उनका अनुयायीहरूलाई मण्डलीबाट बहिष्कृत (excommunicated) गरियो।
२) दोस्रो शताब्दीका झूटा शिक्षक मार्कसका बारेमा इरेनेअस (Irenaeus) ले यसरी टिप्पणी गरेका छन्:
मार्कसले एउटी स्त्रीलाई [भन्छन्], "मबाट र मद्वारा कारिस (Charis) को दान प्राप्त गर…"
स्त्री: "मैले कहिल्यै अगमवाणी कहेको छैन, न ता म अगमवाणी कहन नै जान्दछु।"
मार्कस: "आफ्नो मुख खोल्नू, तिमीलाई जे आउँछ त्यही बोल्नू।"
यस वचनको कारण घमण्डले फुलेर, आफूले नै अगमवाणी बोल्ने भएँ भन्ने प्रतिक्षाले प्राणमा अति उत्तेजित भएर, भावनाले उत्प्रेरित हुन गएको मुटुको जोडदार धड्कनका साथ-साथै दुःसाहसको शिखरमा पुग्न सकेपछि उनले आफूलाई आएको कुनै एउटा अर्थहीन कुरा बिनालाज त्यस्तो बोलीमा बोल्दछिन् जुनचाहिँ एउटा रित्तो आत्माद्वारा चङ्गाइ पाएको व्यक्तिबाट अपेक्षा गर्न सकिन्छ। [Irenaeus Against Heresies]
शुरूका मण्डलीका बाइबलीय (orthodox, शास्त्रसम्मत) अगुवाहरूले अन्य भाषामा बोलिएका यस्ता भावनामय विस्फोटहरू परमेश्वरबाटका होइनन् भनी जानेका थिए। यसलाई प्रोत्साहन दिनेहरू त झूटा शिक्षकहरू थिए।
३) फ्रान्समा सत्रौं शताब्दीका सेभेनोल पादरीहरू (Cevenol priests) ले पनि अन्य भाषाहरूमा बोल्थे। तिनीहरू झूटा शिक्षकहरू (heretics) हुन् भनी चिनिएका थिए किनभने तिनीहरूका भविष्यवाणी पूरा भएनन्। [John MacArthur Jr., The Charismatics, p. 169.]
४) "शेकरहरू" (Shakers) भनिने समूह ई सं १७४७ मा एउटा स्त्रीद्वारा शुरू भएको हो। शिक्षामा उनी गञ्जागोल थिइन्, र उनले विशेष गरी ख्रीष्टको बारेमा झूटा धारणाहरू अपनाएकी थिइन्।
"भनिन्छ, शरीरलाई वशमा ल्याउनलाई, उनले अन्य भाषाहरूमा बोल्दै गरेका पुरूष र स्त्रीहरू नाङ्गै नचाउने अभ्यासको शुरूआत गरिन्।" [Charles Smith, Tongues in Biblical Perspective, pages 17-18.]
५) मर्मन (Mormon) चर्च नामक एउटा झूटा मण्डली (cult) भित्र अन्य भाषाहरूमा बोलिएका उदाहरणहरू भेटिन्छन्:
"जोसेफ स्मिथ (Joseph Smith) देखि लिएर, अर्थात् उनीहरूको शुरूआतदेखि नै मर्मनहरूले अन्य भाषा वर्तमान समयमा पनि दिइने वरदान हो भन्ने मान्दै आएका छन्। साल्ट लेक सीटी (Salt Lake City) मा उनीहरूको भवन (टेम्पल) समर्पण गरिँदा, सयौं एल्डरहरूले अन्य भाषाहरूमा बोले।" [Charles Smith, Tongues in Biblical Perspective, page 18.]
६) उन्नाइसौं शताब्दीमा एडवर्ड इर्भिङग (Edward Irving) का अनुयायीहरूले अन्य भाषामा बोले। यिनीहरूले पवित्र शास्त्रलाई खण्डन गर्ने प्रकाशहरूलाई, विफल भएका भविष्यवाणीहरूलाई र विविध गलत शिक्षाहरूलाई अँगालेका थिए। [See John MacArthur Jr., The Charismatics, p. 170 and see also Arnold Dallimore's excellent biography, Forerunner of the Charismatic Movement--The Life of Edward Irving (Moody Press, 1983).]
७) आज, आफू ख्रीष्टियन हुँ भनी स्वीकार समेत नगर्नेहरूले अन्य भाषाहरूमा बोल्छन् भन्ने कुरा सर्वविदितै छ:
आज हैटी, ग्रीनल्याण्ड, माइक्रोनेसिया, एशिया, र उत्तर तथा दक्षिण अमेरिकाका झाँक्रीहरू अन्य भाषामा बोल्छन्। कतिपय समूहहरूले आफूहरूमा उन्मत्त अवस्था र उच्चारणहरू उत्पन्न गराउन लागू पद्धार्थको मदत लिन्छन्। भूडू अभ्यास गर्नेहरूले अन्य भाषामा बोल्छन्। बौद्धमार्गी र शिन्तो पूजाहारीहरूले अन्य भाषामा बोलेका सुनिएको छ। मुसलमानहरूले अन्य भाषामा बोलेका छन्, र एउटा प्राचीन हस्तान्तरित भनाइअनुसार महम्मद समेतले अन्य भाषामा बोले। [Charles Smith, Tongues in Biblical Perspective, pages 20-21. For further documentation of unsaved people speaking in tongues, look up the article on "glossolalia" in The Encyclopedia Britannica.]
८) खेदको कुरा, आज क्यारिज्म्याटिक लहरको लैलैमा लागेका थुप्रै व्यक्तिहरूले अन्य भाषाहरूमा बोलेका छन् यद्यपि उनीहरूसित मुक्ति वा अनुग्रहको सुसमाचार वा नया जन्मको बारेमा कुनै सुस्पष्ट ज्ञान छैन। उनीहरूले कुनै एउटा अनुभव त पाए तर अनन्त जीवन भने पाएका छैनन् (१ यूहन्ना ५:११-१२)। [क्यारिज्म्याटिक अभियानमा हुनेहरूमा आफ्नो मुक्तिका लागि केवल ख्रीष्टलाई मात्र उहाँमाथि भरोसा राखेका हुनाले साँच्ची नै ख्रीष्टलाई मुक्तिदाता भनेर चिनेका व्यक्तिहरू हुन्छन् भन्ने कुरा हामी स्वीकार गर्दछौं। साँच्चै मुक्ति पाएको भएर पनि शिक्षामा अलमल हुनु सम्भव छ।]
१) क्यारिज्म्याटिक समूहहरूमा अन्य भाषा भनेको सबैले चाह गर्नुपर्ने कुरा हो भन्ने मान्यता रहेको पाइन्छ, तर नयाँ नियममा भने अन्य भाषा प्रत्येक विश्वासीलाई दिइने आत्मिक वरदान थिएन (१ कोरिन्थी १२:८-११,३०)। १ कोरिन्थी १२:२८ मा वरदानहरूको सूचीको पुछारमा उल्लेख गरिएको अन्य भाषा तुलनात्मक हिसाबले कम महत्त्वको वरदान थियो, यद्यपि यसको सही प्रयोग र सही अनुवादले उन्नती गराउँथ्यो।
२) अन्य भाषाहरूको बाइबलीय वरदान भनेको एउटा यस्तो अलौकिक क्षमता थियो जसमा एउटा व्यक्तिले आफूले कहिल्यै नसिकेको विदेशी भाषामा बोल्न सक्थ्यो। आजको अन्य भाषाको कथित वरदानको अभ्यासलाई भने अनुवाद गर्न सकिन्न, त्यसमा कुनै वास्तविक भाषा-तत्त्व नै छैन, त्यो एउटा अर्थहीन बकबक बोलिने उन्मत्त, भावनात्मक अनुभव मात्र हो।
३) सम्पूर्ण बाइबलभरि हेर्दा विश्वासीलाई अन्य भाषामा बोल्न आज्ञा दिइएको कतै पाइन्न, र नयाँ नियमको २७ ओटामा २४ ओटा पुस्तकहरूमा अन्य भाषाको वरदान सम्बन्धी एउटै पनि उल्लेख छैन।
४) इतिहासका सत्य-तथ्यले अन्य भाषाको सकली वरदान मण्डली इतिहासको प्रारम्भतिर नै बन्द भएको देखाउँछ। साथै यो वरदान आखिरी दिनहरूमा फेरी प्रकट हुनेछ भन्ने सङ्केत दिने कुनै त्यस्तो पद बाइबलमा छैन।
५) अन्य भाषाको वरदान एउटा अस्थायी, चिन्हरूपी वरदान (sign gift) थियो जसले आफ्नो उद्देश्य पूरा गर्यो र त्यसपश्चात् त्यसको आवश्यकता नै रहेन, र त्यसैले त्यो दिइन बन्द भयो। अविश्वासी इस्राएललाई त्यो इन्साफको चिन्ह थियो, परमेश्वरले इस्राएल राष्ट्रलाई पन्छाएर उहाँको मण्डली भनिने नयाँ योजनाको शुरुआत गर्दै हुनुहुन्छ भन्ने कुराको सङ्केत थियो त्यो। ए डी ७० पछि, अर्थात् रोमीहरूले यरूशलेमलाई ध्वस्त गरेदेखि यता, सकली अन्य भाषाको कतै उल्लेख पाइन्न, न ता बाइबलमा न ता बाह्य इतिहासको पन्नाहरूमा।
६) आज बोलिने कथित अन्य भाषा भने संसारलाई थाह भएकै विषय हो — यो एउटा यस्तो मानसिक अनुभव (psychological phenomenon) हो जसलाई शताब्दियौंदेखि झूटा-शिक्षाका समूहहरूले, मूर्तिपूजकहरूले, कल्टहरूले र अख्रीष्टियन समूहहरूले अभ्यास गर्दै आएका छन्।
७) अन्य भाषाहरू बोलिने आजको अधिकांश अभ्यास १ कोरिन्थी १४ अध्यायमा प्रतिपादित नियमहरूको विपरित भइरहेको पाइन्छ। तसर्थ आजको अन्य भाषा परमेश्वरबाटको हुन सक्दैन भन्ने यो अर्को लक्षण हो। प्रेरित पावलले दिएका केही नियमहरू यस प्रकार छन्:
कुनै एउटा सभामा तीन भन्दा बढी व्यक्तिहरूले अन्य भाषाहरूमा बोल्न नहुने (१ कोरिन्थी १४:२७)।
अन्य भाषामा बोल्नेहरूले एक्कैचोटि नभएर पालो-पालो गरी बोल्नुपर्ने (१ कोरिन्थी १४:२७)।
जब-जब अन्य भाषा बोलिन्थ्यो, तब-तब त्यसको अनुवाद पनि गरिनुपर्ने (१ कोरिन्थी १४:२८)।
स्त्रीहरूले सभामा अन्य भाषामा बोल्न नहुने (१ कोरिन्थी १४:३४-३५)।
तपाईं प्रायः जुनसुकै क्यारिज्म्याटिक सभामा जानुहोस्, त्यहाँ तपाईंले यी नियमहरूलाई उल्लङ्घन भइरहेको पाउनुहुनेछ।
|
पालुङ चर्च |