विश्वमा र नेपालमा पनि केही मात्रामा फैलिन थालेको यो एउटा झूटा शिक्षा सिकाउने समूह अर्थात् "कल्ट" हो। येशू ख्रीष्टको सिद्ध बलिदान र बौरिउठाइमा केवल विश्वास गरेर मुक्ति नपाइने बरु मुक्ति पाउन "निस्तार चाड" मान्नै पर्ने उनीहरूको दाबी छ। तर एफेसी २:८-९ अनुसार "विश्वासद्वारा अनुग्रहले" मुक्ति पाइन्छ, निस्तार चाड मानेर होइन। चाड मानेर वा अन्य कुनै कामद्वारा मुक्ति पाइन्छ भन्नु सरासर साँचो सुसमाचारको बिपरित छ।
"किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ" (एफेसी २:८-९)।
नयाँ नियममा मानिसलाई मुक्ति पाउनलाई एउटै आज्ञा दिनुभएको छ --
"प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्, र तपाईंले मुक्ति पाउनुहुनेछ" (प्रेरित १६:३१)।
मुक्ति विश्वासले पाइन्छ, व्यवस्थाको आज्ञापालन गर्ने प्रयासले होइन। तर यस समूहले वर्षको एक पटक "निस्तार चाड" पालन नगरी मुक्ति पाइँदैन भनेर सिकाउँछन्।
अर्को कुरा, यस शिक्षा गलत छ किनकि यसले सत्यको वचनलाई ठीक-ठीकसँग छुट्ट्याउँदैन (२ तिमोथी २:१५)। बाइबलमा भएका महत्त्वपूर्ण भिन्नताहरूलाई यसले बेवास्ता गर्दछ। यहूदी जातिलाई दिइएका आज्ञाहरूलाई कुनै पनि रूपमा ख्रीष्टियनमाथि लागू गर्न खोज्नु भनेको प्रेरितहरूको समयमा यहूदीकरणवादी (Judaiser) हरूले गरेको भूललाई दोहोर्याउनु हो जसले विश्वासमा आएका गैरयहूदी ख्रीष्टियनहरू भएको ठाउँमा गएर यसरी शिक्षा दिए: "मोशाको रीतिअनुसार तिमीहरूको खतना नहोउन्जेल तिमीहरूले मुक्ति पाउन सक्दैनौ" (प्रेरित १५:१)। यस्तो दाबी गर्ने समूहलाई यरूशलेममा बसेको प्रेरितहरूको सभाले गलत ठहर्याएर ती अलमल्लमा पारिएका विश्वासीहरूलाई पत्रमा यसरी लेखे --
"कतिजनाले हामीकहाँबाट गएर 'तपाईंहरूको खतना हुनैपर्छ र तपाईंहरूले व्यवस्था पालन गर्नैपर्छ भनेर -- हुन ता त्यस्तो आज्ञा हामीले उनीहरूलाई दिएका थिएनौं -- तपाईंको मन उथलपुथल पारिदिएर तपाईंहरूलाई कुराहरूले कष्ट दिएका रहेछन्" (प्रेरित १५:२४)।
चर्च जानेहरूलाई खोजी-खोजी "तपाईंको चर्च झूटा हो किनकि तपाईंहरूको चर्चले निस्तार चाड मान्दैन" भन्दै कतिलाई बहकाउने उनीहरूको नियत छ। तर वास्तवमा उनीहरू आफै बहकाउमा परेका छन् (२ तिमोथी ३:१३) किनकि वचनले प्रस्टै यस्ता झूटा शिक्षाहरूको पहिल्यै खण्डन गरिसकेको छ --
"यसकारण खानेकुरा वा पिउने कुरा वा चाडको विषयमा वा औंसी वा विश्रामदिनहरूका विषयमा कसैले तिमीहरूको न्याय नगरोस्; यीचाहिँ आउनेवाला कुराहरूको छाया हुन् तर शरीर ता ख्रीष्टको हो (कलस्सी २:१६-१७)।
तसर्थ, ख्रीष्ट येशूमा विश्वास गरेको व्यक्तिकहाँ आएर निजलाई चाडको विषयमा दोषी ठहराउनु गलत हो भनेर बाइबलले यहाँ बताएको छ।
प्रेरितहरूको शिक्षालाई अस्वीकार गर्ने कुनै पनि शिक्षा झूटा आत्माद्वारा प्रेरित भएको हुन्छ भनेर बाइबलले सिकाउँदछ। पवित्र आत्माको प्रेरणाद्वारा प्रेरित यूहन्नाले यसरी लेखेका छन् --
"प्रियहरूहो, हरेक आत्मालाई विश्वास नगर, तर आत्माहरूचाहिँ परमेश्वरबाटका हुन् कि होइनन् भनी तिनीहरूलाई जाँचेर हेर; किनकि अनेकौं झूटा भविष्यवक्ताहरू संसारमा निस्किआएका छन्...हामी [यूहन्ना लगायत प्रेरितहरू] परमेश्वरका हौं। जसले परमेश्वरलाई चिन्छ, उसले हाम्रो [प्रेरितहरूको] कुरा सुन्छ; जो परमेश्वरको होइन, त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यका आत्मा र भ्रमको आत्मा चिन्छौं" (१ यूहन्ना ४:१,६)।
तसर्थ, चर्च अफ गड (वर्ल्ड मिसन सोसाइटी) झूटा शिक्षा हो किनभने यसले मुक्ति कसरी पाइन्छ भन्ने सवालमा प्रेरितहरूको स्पष्ट शिक्षालाई खण्डन गर्दछ। प्रेरितहरूका शिक्षाअनुसार मुक्ति विश्वासद्वारा अनुग्रहले पाइन्छ, तर वर्ल्ड मिसन सोसाइटी भन्छ, चाड नमाने मुक्ति पाइन्न।
दक्षिण कोरियाली आनसानहोङ्ग (सन् १९१८-१९८५) द्वारा सन् १९६४ मा वर्ल्ड मिसन सोसाइटी चर्च अफ गडको शुरुआत भएको हो। उनी पहिला सेभेन्थ डे एडभेन्टिस्ट नामक अर्को झूटा शिक्षा समूहसित आवद्ध थिए।
आनसानहोङ्ग झूटा भविष्यवक्ता हुन् किनभने उनले ख्रीष्टको दोस्रो आगमन सन् १९६७ र १९८८ मा हुने भनी दुई पटक झूटा भविष्यवाणी गरे। सो झूटा ठहरिए पछि उक्त आगमन "गोप्य" रूपमा भएको दाबी गरेर झूटलाई ढाकछोप गरे उनले र उनका अनुयायीहरूले। यहोवाका साक्षी नामक अर्को कल्टले आफ्नो मुखपत्र प्रहरी धरहराद्वारा १९१७, १९१८ र १९२५ मा ख्रीष्टको दोस्रो आगमन हुने भनी घोषणा गरेका झूटा साबित भविष्यवाणीहरूलाई पनि त्यस्तै गरी ढाकछोप गरिएको थियो।
मस्तिष्कमा रगत जम्न पुगी आनसानहोङ्गको मृत्यु भएपछि यस झूटा चर्चको नेतृत्व चङ्ग गिल् चाले गर्दै आएकी छिन् जो अनुयायीहरूका बीच "स्वर्गीय माता" भनी चिनिन्छिन्। आनसानहोङ्ग आफैले आफ्नो जीवनकाल भरी आफू ख्रीष्ट भएको दाबी कहिल्यै गरेनन् तर उनको मृत्युपश्चात् यिनै चङ्ग गिल् चाले उनलाई ख्रीष्टको दोस्रो आगमन भनेर घोषणा गरेकी हुन्। "पवित्र यरूशलेम माता" कहिलिएका वृद्ध चङ्ग गोल् चा आफूलाई पनि परमेश्वर ठान्दछन्।
किम जू-चिऊल यसका "जनरल पास्टर" मानिन्छन्।
प्रभु येशू ख्रीष्ट दोस्रो पटक आउनुहुँदा अर्कै व्यक्ति (आनसानहोङ्ग) भएर आउने कुरा झूटा हो। साथै उहाँ फेरि मानिसको जन्म लिएर आउने कुरा पनि झूटा हो। यस कुरालाई पुष्टि गर्न बाइबलमा थुप्रै आधारहरू भए तापनि एउटै पदलाई यहाँ प्रस्तुत गरे पर्याप्त हुन्छ। येशू ख्रीष्टको स्वर्गारोहणको घडीमा दुईजना स्वर्गदूतहरूले ख्रीष्टका चेलाहरूलाई यस्तो घोषणा गरे, "हे गालीलका मानिसहरूहो, तिमीहरू किन आकाशतिर हेर्दै उभिँदछौ? तिमीहरूको बीचबाट स्वर्गमा उठाइनुहुने यही येशू नै यही प्रकारले आउनुहुनेछ, जसरी उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको तिमीहरूले देख्यौ" (प्रेरित १:११)। त्यसैले, (१) दोस्रो आगमनमा येशू ख्रीष्ट बेग्लै शरीरमा आउनुहुन्न। (२) दोस्रो आगमनमा येशू ख्रीष्ट स्वर्गबाट स-शरीर ओर्लनुभई संसारमा प्रवेश गर्नुहुनेछ, कुनै जन्म लिएर होइन।
साँचो ख्रीष्टले आफू बौरनुभएको केही समय पछि यसरी भन्नुभयो, "नडराऊ, प्रथम र अन्तिम म नै हुँ। अनि जीवित म नै हुँ, म मरेको थिएँ; अनि हेर, म सदासर्वदाका निम्ति जीवित छु" (प्रकाश १:१७-१८)। तर आनसानहोङ्गको त मस्तिष्कमा रगत जम्न गएर मृत्यु भयो।
साँचो ख्रीष्ट पापरहित हुनुहुन्थ्यो जसरी लेखिएको छ, "उहाँले कुनै पाप गर्नुभएन, न ता कुनै छलकपट नै उहाँको मुखमा पाइयो" (१ पत्रुस २:२२)। तर आनसानहोङ्गको सवालमा उनका भविष्यवाणीहरू झूटा ठहरिएका बाहेक आफू विवाहित हुँदै उनले प्रेमिकाहरू राखेका थिए।
तसर्थ वर्ल्ड मिसन सोसाइटी चर्च अफ गडले एक झूटा ख्रीष्टलाई र झूटा परमेश्वरलाई मान्दैछन्।
यस लेखमा निम्न स्रोतहरूलाई आधार बनाइएका छन्:
१) http://ahnsahnghong.tripod.com -- वर्ल्ड मिसन सोसाइटी चर्च अफ गडबाट निस्केर गएका तिनका भूतपूर्व सदस्य तथा पास्टरहरूद्वारा सञ्चालित वेबसाइट
२) http://en.wikipedia.org/wiki/World_Mission_Society_Church_of_God
|
पालुङ चर्च |